काठमाडौं- नेकपा (एकीकृत समाजवादी) प्रदेश २ सरकारमा सहभागी भएको छ।
मुख्यमन्त्री लालबाबु राउतले एकीकृत समाजवादीका तर्फबाट दुई मन्त्री थपेका छन्। एकीकृत समाजवादीका शत्रुधन महतो र प्रमोद यादव मन्त्री बनेका हुन्।
महतोलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय तथा यादवलाई कानुन, न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ।
उनीहरूलाई आइतबार बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथ दिलाएका छन्।
नेकपा एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीको प्रदेश २ मा १३ सांसद छन्। यसअघि नै एकीकृत समाजवादीलाई सरकारमा ल्याउने प्रयास भएको थियो। तर, मन्त्रालयको भागबन्डामा कुरा नमिल्दा एकीकृत समाजवादी सरकारमा गएको थिएन।
जसपाले नेतृत्व गरेको प्रदेश सरकारमा यसअघि नै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहभागी भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।