काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकारले जनताप्रति उत्तरदायी रहेको बताएका छन्। सरकाले जनताको चासो र सरोकारका विषयलाई प्राथमिकतामा राखेको उनले बताए।
एकीकृत समाजवादी तनुहुँ–काठमाडौं सम्पर्क मञ्चद्वारा शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारले जनताको हित हुने गरी काम गरिरहेको चर्चा गरे।
पाँच दलको एकता बलियो रहेको बताउँदै अध्यक्ष नेपालले गठबन्धनलाई कसैले भत्काउन नसक्ने ठोकुवासमेत गरे। राष्ट्रियसभा तथा उपनिर्वाचनमा साझा उम्मेदवार उठाएर गठबन्धनले सबै स्थानमा विजय हासिल गर्ने उनको भनाय थियो।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताए। वैदेशिक रोजगार क्षेत्रलाई पनि बेथिति मुक्त बनाउने प्रतिबद्धता जनाउँदै उनले वैदेशिक रोजगारीलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन भएका कानुनलाई कडाइका साथ कार्यान्वयन गरिनेमा जोड दिए।
कार्यक्रममा नेकपा (एमाले)लगायत पार्टी परित्याग गरी एकीकृत समाजवादी प्रवेश गरेका ५३ जनालाई अध्यक्ष नेपालले पार्टीमा स्वागतसमेत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।