काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले घरजग्गा किनबेच गर्ने व्यवसायी संघ सङ्गठनले कारोबार गरेको तथ्याङ्क सही राख्नुपर्ने बताएका छन्।
नेपाल राष्ट्र बैंकले घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्न शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले घरजग्गा कारोबारलाई व्यवस्थित र तथ्याङ्क सर्वेक्षण गर्न सहज हुने भन्दै सही तथ्याङ्क राख्न व्यवसायीलाई आग्रह गरे। गभर्नर अधिकारीले बैंक, मालपोत र घरजग्गा व्यवसायी संघहरुले गरेको कारोबारको सही तथ्याङ्क राख्दा घरजग्गा कारोबारमा अहिले भइरहेको असमान मूल्यमा समानता ल्याउन सहयोग पुग्ने बताए। उनले घरजग्गा व्यवसायी, बैंक र मालपोतबाट हुने मूल्य सूचाकाङ्क एक भएमा घरजग्गा सर्वेक्षण प्रतिवेदनमा बजारमा भइरहेको कारोबारअनुसार सत्यतथ्य सूचाकाङ्क आउनसक्ने बताए।
‘नेपालमा पहिलोपटक घरजग्गा मूल्याङ्कन मापन सूचाकाङ्क भएकाले नेपालभरको सबै तथ्याङ्क समेट्न सकिएको छैन, तर प्रतिवेदन धेरै मेहनतका साथ सार्वजनिक भएको छ,' उनले भने, 'यसमा केही सीमाहरु पनि छन्,अब आगामी दिनमा सार्वजनिक हुने सूचाकाङ्क थप सत्यता, घरजग्गासँग कारोबार हुने तथ्याङ्क समावेश गरिनेछ।
करिब दुई वर्षको मिहेनतपछि पहिलोपटक घरजग्गाको मूल्य मापन गर्ने सूचकाङ्क तयार भएको उनले बताए। अहिले केही तथ्यपरक नभए पनि आगामी तीन/तीन महिनामा सार्वजनिक हुने तथ्याङ्कमा सुधार गर्दै लैजाने उनले बताए। घरजग्गा कारोबार गर्दा मूल्यमा आउने उतार-चढाव मापन गर्ने उद्देश्यले नेपालमा पहिलोपटक घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी घरजग्गा मुद्रास्फीति (मूल्यवृद्धि) मापन गर्न सूचकाङ्क निर्माण गरिएको गभर्नर अधिकारीले बताए।
राष्ट्र बैंकले घरजग्गा मूल्य सूचकाङ्क तयार पार्नका लागि देशव्यापी सर्वेक्षण गरेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बताए। निर्देशक डा.श्रेष्ठले घरजग्गा मूल्य सूचकाङ्क तयार गर्दा प्रत्येक प्रदेशको नमूनामा परेका २० वटा जिल्लाका २० स्थानलाई तथ्याङ्क स्रोत केन्द्रको रूपमा छनोट गरी तथ्याङ्क स्रोत केन्द्रबाट तथ्याङ्क सङ्कलन गरेर प्रतिवेदन तयार पारिएको बताए।
अब राष्ट्र बैंकले त्रैमासिकरुपमा घरजग्गाको मूल्य सूचकाङ्क सार्वजनिक गर्नेसमेत उनले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।