काठमाडौं- मेटलाइफ फाउण्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले जीविकोपार्जनमा कोभिड-१९ को लकडाउनबाट प्रभावित नेपालका भावी घरधनीहरूको आवश्यकता सम्बोधन गर्न साझेदारीको घोषणा गरेका छन्। अन्य स्थानीय साझेदार संस्थासँगै ह्याबिट्याट फर ह्युम्यानिटी नेपालका कर्मचारीहरूले खाद्य र आधारभूत सरसफाइका सामग्रीहरू कञ्नपुरका पूर्वहलियाहरू समेत मोरङ र सप्तरीका २५० परिवारलाई बाडिने फाउण्डेसनले जनाएको छ।
मेटलाइफ फाउण्डेसनबाट प्राप्त करिब छ लाख रुपैयाँबाट उक्त परिवारहरूलाई ह्याबिट्याट फर ह्युम्यानिटीले दुई महिनाको लागि चामल, दाल, खाने तेल, नूनलगायत अन्य खाद्य सामग्रीहरू, मास्क, साबुन र अन्य सरसफाइका सामग्रीहरू वितरण गर्ने जनाएको छ।
'कोभिड-१९ को महामारीबीच मेटलाइफले नेपालका परिवारहरूका आकस्मिक आवश्यकता सम्बोधन गर्नका लागि राहतका सामग्रीहरू बितरण गर्ने काम जारी राखेको छ। एउटा कम्पनीको रूपमा हाम्रो उद्देश्य मानिसहरूलाई आत्मबल युक्त भविष्य निर्माण गर्न सहयोग गर्नु हो। ह्याबिट्याट फर ह्युम्यानिटी नेपालसँगको साझेदारीबाट हामीले देशका विपन्न परिवारहरूको पीडा कम गर्न र अझ बलियो समुदाय निर्माण गर्ने सक्नेछौं भन्ने आशा लिएका छौँ,' मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले बताए।
ह्याबिट्याट फर ह्युम्यानिटी नेपालको ‘आश्रयको-लागि-खाना’ कार्यक्रमले कम गुणस्तरको आवाससम्बन्धी दीर्घकालीन विषयहरू समाधान गर्ने राष्ट्रिय रणनीतिलाई सहयोग गर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।