काठमाडौं– दाङको घोराहीबाट रोल्पाको थवाङ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका १७ जनाको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
घोराहीबाट थवाङ जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस रोल्पाको माडी गाउँपालिका–४ जलजला भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नरेशराज सुवेदीले जानकारी दिए।
डीएसपी सुवेदीका अनुसार ४ जनाको घटनास्थलमै मृत्यु भएको हो। बस सडकबाट ३० मिटरजति तल खसेको सुवेदीले जानकारी दिए।
'बस सडकबाट ३० मिटरजति तल खसेको छ। ४ जनाको शव फेला परेको छ। १७ जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ,' डीएसपी सुवेदीले नेपाल लाइभसँग भने,' अहिले अँध्यारो भएका कारण बसमा कतिजना सवार थिए भन्ने खुलेको छैन। बसमा अझै पनि केही यात्रु च्यापिएको हुनसक्ने आशंकाले अहिले जेसीबी लगाएर बस तान्ने प्रयास भइरहेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।