काठमाडौं- नेपाल डेमोक्रेट युनियनले हालै राष्ट्रपति विद्यादेवी भण्डारीको भैरहवा भ्रमणका क्रममा चिनियाँ झण्डा फहराइएको घटनाप्रति आपत्ति प्रकट गरेको छ।
युनियनका प्रेसिडेन्ट सिद्धार्थ गौतमले एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रवादको झुटो नारा दिएर नेपाली जनतालाई मूर्ख बनाउन कहिल्यै नथाक्ने सत्तारुढ र विपक्षमा रहेका नेपाली कम्युनिष्ट पार्टीहरुको यस घटना प्रतिको मौनता अप्रकट हर्षोल्लास भएको आरोप समेत लगाएका छन्। कम्युनिष्टहरुको बैसाखीमा अडिएको कांग्रेस नेतृत्वको सरकारको लाचारीपूर्ण मौनता अर्को दुर्भाग्य भएको विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, 'नेपाल डेमोक्रेट युनियन क्षुब्ध एवं आक्रोशित बनेको छ। त्यसरी चिनियाँ झण्डा फहराएर गरिएको स्वागतलाई राष्ट्रपति भण्डारीले जसरी सहजतासाथ स्वीकार गर्नु भयो, त्यो देश प्रतिको गद्दारीको सबै भन्दा ठूलो र ज्वलन्त प्रमाण हो भन्ने हाम्रो ठहर छ। आजको मितिसम्म पनि राष्ट्रपति वा उहाँको कार्यालयले उक्त घटनाको बिरोध नगरेकोबाट सो घटना राष्ट्रपतिको निम्ति आपत्तिजनक नभएर स्वीकार्य र स्वागतयोग्य रहेको प्रमाणित भएको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।