काठमाडौं- कप्तान रुविना क्षेत्रीको सानदार प्रदर्शनमा नेपाली महिला क्रिकेट टोलीले कतारसँगको तीन टी२० आई सिरिजमा ऐतिहासिक सफलता हात पारेको छ।
दोस्रो खेलमा कतारलाई ६१ रनले हराउँदै नेपालले एक खेल अगावै सिरिज २–० ले जितेको हो। नेपाली टोलीले पहिलो पटक सिरिज जित्न सफल भएको छ।
पहिलो खेलमा नेपालसँग २७ रनमा अलआउट भएको कतारले दोस्रो खेलमा भने सुधारिएको ब्याटिङ गरेको थियो।
नेपालले दिएको १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको कतार १९।३ ओभरमा ६८ रनमा अलआउट भयो।
कतारकी कप्तान आयशाले सर्वाधिक २४ रन बनाइन्। केरी पाउनसेटले १५ रन जोडिन्। पाँचौं विकेटका लागि आयशा र केरीले ३४ रनको साझेदारी गरेका थिए।
नेपालकी मध्यगतिकी बलर सरस्वती कुमारी चौधरीले सर्वाधिक ४ विकेट लिइन्। रुविनाले २ विकेट लिइन्। सबनम राई, संगिता राई र कविता जोशीले १–१ विकेट लिए।
त्यसअघि वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियम दोहामा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय २९ रन बनायो। नेपालकी रुवीना सर्वाधिक ५० रनमा आउट भइन्।
रुविना नेपालबाट महिला टी२० आईमा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी हुन्। कतारसँग पहिलो खेलमा इन्दु बर्माले ५५ रनको इनिङ्स खेल्दै पहिलो खेलाडीको कीर्तिमान राखेकी थिइन्।
युवा अलराउन्डर कविता कुँवर ३१ रनमा आउट भइन्। अप्सरी बेगम २३ रनमा अविजित रहिन्।
कतारकी एन्जेलिन मारेले २ विकेट लिइन्। एलिना खान, साची धडवाल र सबिजा पणायनाले १–१ विकेट लिए। पहिलो खेलमा नेपालले कतारलाई १ सय १९ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। नेपालले अन्तिम खेल बिहीबार खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।