काठमाडौं- अगष्ट महिनामा अमेरिकी र पश्चिमा मुलुकका सेनाको स्वदेश फिर्ता भएसँगै तालिवानको शासन लागू भएको देश अफगानिस्तानमा राजनीतिक मात्रै होइन खेलकुद क्षेत्रमा पनि उतिकै हस्तक्षेप भएको छ। यसको पछिल्लो उदाहरण हो, किक्रेट।
राष्ट्रपति असरफ घानी देश छाडेर भागेपछि तालिवानले नयाँ सरकार गठन नगर्दै अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) माथि हस्तक्षेप गरेको थियो। उनीहरुले एसीबीका पूर्वअध्यक्ष अजिजुल्लाह फाज्लीलाई नै पुनः निमित्त अध्यक्ष नियुक्त गरेका छन्।
उनी यसअघि सेप्टेम्बर २०१८ देखि जुलाई २०१९ सम्म एसीबको अध्यक्ष थिए। काबुल कब्जा गरेपछि तालिवानले कुनै पनि ‘गभर्निङ बडी’मा गरेको यो पहिलो नियुक्ति थियो।
यसअघि एसीबीको अध्यक्ष फरान युसुफजाई थिए। केही दिनअघि मात्र एसीबीका प्रमुख कार्यकारी अधिकृत हमिद शिनवारीले बोर्डमाथि कुनै हस्तक्षेप नहुने अपेक्षा गरेका थिए। उनले तालिवानकै सहयोगमा क्रिकेट गतिविधिहरु विनाअवरोध अघि बढ्ने संकल्प गरेका थिए।
तर, युसुफजाई बर्खास्तीमा परेपछि अब क्रिकेट गतिविधि पहिला जस्तै अघि बढ्नेमा आशंका जन्मिएको छ। अफगानिस्तानले सन् २०१० मा पहिलो पटक महिला क्रिकेट टिम पनि बनाएको थियो। महिला क्रिकेटको भविष्य अब अनिश्चित छ।
तालिवानले सत्ता हातमा लिएसँगै उनीहरुले महिलालाई खेलमा सहभागिता नगराउने भनेपछि अष्ट्रेलियाले अफगानिस्तानविरुद्धको टेस्ट रद्द गरेको थियो। अन्य बोर्डले पनि अफगानिस्तानसँग क्रिकेट नखेल्ने आशंका उत्पन्न भएको छ।
यसैबीच, क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बोर्डले अफगानिस्तानको क्रिकेटको समीक्षाका लागि 'वर्किङ ग्रुप'को गठन गरेको छ ।
खासगरी तालिवानले सत्ता आफ्नो हातमा लिए पछि उत्पन्न परिस्थितिलाई लिएर एसीबीको समीक्षाका लागि यो ग्रुप गठन गरेको बताइन्छ।
इमरान खवाजा अध्यक्ष रहने यो ग्रुपमा रोस म्याककलम, लाओसन नायडु र रामिज राजा सदस्य रहेका छन्। उनीहरुले आउँदो महिना आईसीसीमा प्रतिवेदन पेस गर्नेछन्।
'आईसीसीले अफगानिस्तानको दुवै पुरुष र महिला क्रिकेटको विकासका लागि सहयोग जारी राख्न प्रतिवद्ध छ,' आईसीसी अध्यक्ष ग्रेग बार्कलीले भने, 'अफगानिस्तान हाम्रो सदस्य हो, उनीहरु अहिले केही परिवर्तनहरुबाट गुज्रिरहेका छन्। हामी क्रिकेटको सुनिश्चितातका लागि हामी समन्वय गरिरहेका छौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।