रसुवा– नेपाल–चीनबीचको उत्तरीनाका रसुवागढी क्षेत्रमा पूर्वाधारको थप व्यवस्था गर्न गृहकार्य अगाडि बढेको छ। रसुवागढी प्रवेशद्वारको भागलाई फराकिलो बनाई सामान ढुवानी गर्ने ट्रक तथा कन्टेनर पार्किङस्थलको बनाउन लागिएको हो।
साँघुरो भू–भागलाई अधिकतम सदुपयोग गर्दै रसुवागढी क्षेत्रलाई थप व्यवस्थित पार्न स्थानीय प्रशासनले सरोकारवाला निकायसँग समन्वय गर्ने कार्य सम्पन्न गरेको छ। कोभिड संक्रमण सुरु भएदेखि नै मितेरी पुलबाट नेपाली सवारी साधन केरुङ जान रोकिएपछि चिनियाँ कन्टेनरले रसुवागढी ल्याएका सामग्री पल्टी गर्ने स्थानको असहजतालाई दृष्टिगत गरी पार्किङ क्षेत्र फराकिलो पार्न लागिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए।
विसं २०७२ को विनाशकारी भूकम्पसँगै माथिबाट झरेको पहिराले पुरेको स्थानलाई सम्याउँदा कम्तीमा २० ट्रक तथा कन्टेनर पार्किङ हुने अनुमान रहेको उनले बताए।
यस्तै सीमावर्ती क्षेत्रको समस्या पहिचान र समाधानका लागि पहलकदमी चाल्न स्थलगत निरीक्षणका लागि रसुवागढी पुगेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायण रेग्मीले गढी क्षेत्रको पार्किङ व्यवस्थापन एवं स्याफ्रुबेँसी–मैलुङ खण्डको राजमार्ग छिटो सुधार गर्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन्।
कोभिडको असरले घटेको सामान आयातको परिमाण वृद्वि गराउन परराष्ट्र मन्त्रालयमार्फत चीनसँग कूटनीतिक पहलकदमीका लागि आफूले सुझाव पेश गर्नेसमेत उनले बताए।
हालै मन्त्रालयका सहसचिव रेग्मी, प्रजिअ जैसी, भन्सार प्रमुख, सुरक्षा निकायका प्रमुख सहितको संयुक्त टोलीले रसुवागढी क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।