काठमाडौं– छठ पर्वको अवसरमा आज (बिहीबार) उदाउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइएको छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो।
कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ। दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाइ ब्रतालुले प्रसादस्वरुप खाने र नुन नखाइ एक छाक फलाहार गरिन्छ।
यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने विधि विधान रहेको छ।
षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ दिएपछि यो पर्व समापन हुन्छ। कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ।
२०४६ अघि तराईंको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप लिएको छ। २०४६ देखि नै सरकारले यो पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिने गरेको थियो। विगतका केही वर्ष छठको सार्वजनिक बिदा काटिएकोमा यस वर्षदेखि फेरि बिदा दिइएको छ।
तराईंसँगै अहिले काठमाडौं उपत्यकामा पनि धुमधामसँग छठ पर्व मनाइन्छ। छठको पूजाका लागि सोमबारदेखि नै काठमाडौंका नदी, घाट तथा पोखरीहरु सजाइएका थिए।
काठमाडौंका बागमती किनार (विभिन्न घाट)सँगै तराईका विभिन्न पोखरीमा श्रद्धालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिउ भने अहिले उदाउँदो सूर्यलाई अर्घ दिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।