न्युयोर्क- टेनिसकी सुपरस्टार सेरेना विलियम्स आमा बनेकी छिन्। ३५ वर्षीया अमेरिकी खेलाडी सेरेनाले फ्लोरिडाको एक क्लिनिकमा छोरीलाई बुधबार जन्म दिएकी हुन्।
टेनिसको सबैभन्दा ठूलो प्रतियोगिता ग्रान्डस्लामको २३ पटक उपाधि चुमेकी सेरेनालाई छोरी पाएपछि सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ।
जनवरीमा हुने अस्ट्रेलियन ओपन टेनिस प्रतियोगितामा उनी सहभागी हुने तयारीमा छिन्। आमा बनेसँगै उनी टेनिसमा फर्किने विषयमा भने उनका प्रशिक्षक प्याट्रिक मोर्टुग्लोले शंका व्यक्त गरेका छन्। 'सेरेना आमा बनेको सन्देशबाट म असाध्यै हर्षित छु। खुसी म शब्दमा व्याख्या गर्न सक्दिन, अब उनी सायद टेनिसमा फर्किनेछैनन्,' उनले ट्विट गरेका छन्।
सेरनाले आफू गर्भवती भएको तस्बिर स्नापच्याट मार्फत गत अप्रिलमा सार्वजनिक गरेकी थिइन्।
गत जनवरीमा अस्ट्रेलियन ओपनको उपाधि चुमेकी उनको धोको आगामी उपाधि रक्षा गर्ने पनि छ। 'मैले सन्तानलाई जन्म दिएको तीन महिनापछि अस्ट्रेलियन ओपन हुँदैछ, यो महत्वाकांक्षी योजना हुन सक्ला,' बिबिसीसँग उनले भनेकी छिन्, 'म उपाधि रक्षा गर्ने योजनामा छु।'
स्पेनिस टेनिस स्टार राफेल नाडालले समेत सेरेना आमा बनेको खबरले टेनिस जगत खुसी बनेको भन्दै ट्विट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।