इतिहासमा ‘त्यतिखेर हो, त्यस्तै–त्यस्तै भयो’
यसो भनेर या अनुत्तरदायी जवाफले इतिहासलाई घोकाइने पाठमा सीमित राखेर
अन्याय र शोषण पनि प्राकृतिक कुरा जसरी नै सिकाइरहेर
सजिलै छुट पाइनेवाला छैन
किनकि आज हामी कहाँ छौँ, किन यस्तो भइरहेछौँ
मसिना कुरा होइनन् यी
हाम्रो अधिकारहीन बाध्यात्मक भूमिका—
एक निश्चित भूमिका ‘दिने’ होइन
‘लिने’ मात्र पनि होइन
अब त सम्झौता हुँदैन, जरुर इन्कारिन्छ
युद्ध लड्ने होस्
चाहे होस् दल खोल्ने, व्यवस्था हाँक्ने
चम्चा माझ्ने, लुगाफाटा धुने
या चुलो–चौको सफाइ गर्ने
अब स्थिर हुँदैन, निश्चित हुनु हुँदैन
साँगुरो वृत्तमा, कुनामा, छेउमा
एउटा मात्र खुट्टा टेक्न लगाउने जस्तो पनि हुँदैन
यत्तिका युग खुट्टा लुकाएर हिँड्न लगाइयो
हाम्रो पनि विचार छ, हक छ
इतिहास–वर्तमान–भविष्य छ
संसारको सन्तुलन हामीसँग पनि छ
केही गुनासो हुन सक्छ
हरेक युगमा
तर, अब बाँच्न यहाँ
अनुमति कसैको लिन पर्दैन
सानो सिँढीमा अल्झिने समय छैन
हाम्रो हड्डीको बलमा उभिने र यात्रा गर्ने
ती पुरुष–शासकका काँध नै गन्तव्यको मापदण्ड हुन सक्तैन
नङ कसरी काट्ने
साँझ किन, कहाँ जाने
कपाल कति लामो राख्ने, जुत्ता साह्रो–नरम के लाउने
लालपुर्जा, शासन, परिवार, राज्य
सहनशीला सुशिला, सीता, बुहारी, छोरी, वंश, आमा, घर–लक्ष्मी
यी सबको जरा कहाँ छ ?
अब खोजौँ र उखेलौँ !
एउटा शब्द ‘बराबर’ छ
ओठमा मात्र छ यो अझै
हरेक बाटो र खाल्टोमा
संसदमा, सडकमा, भीरमा, मैदानमा पनि
केही छैन भन्ने आकाशहरूमा पनि ‘बराबर’ हक छ
जहाँसुकै समस्या त अस्थायी छन्
यही ठीक यदि हो भने,
हामीमाथि यी परम्परा र भूमिका मात्र किन निश्चित?
संसार त अगाडि नै जाने हो
हामी पनि पछाडि–पछाडि मातृत्वको निजी वृत्तमा सीमित हुन चाहन्नौं
तिम्रा विवाह प्रथा, चुलो–घेरा, सत्ता–भर्याङ
र, तिम्रा निजी चुनावी लोकतन्त्रको समेत
पूरा अस्वीकार गर्छौं, भत्सर्ना गर्छौं
दुइटा स्तनको दायित्वभित्रै जिन्दगी कैद गर्नु छैन
एउटा पाठेघरभन्दा पर पनि हाम्रो खुला संसार छ
परिवर्तनमै जीवन छ
हाम्रो संसार पनि यहीँ नै!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।