• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, असार १६, २०८२ Mon, Jun 30, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष
प्रदीप नेपालको बकपत्र : शत्रुता, धोका र स्वार्थको अर्को नाम राजनीति हो, म साहित्यकार हुँ
64x64
प्रकाश गुरागाईं शनिबार, कात्तिक ६, २०७८  ०७:०५
1140x725

‘मन्त्रीमा के छ? म पनि भएँ, गाडी गुडेन भनेर लात्तीले गाडीलाई हान्ने करिमा बेगम पनि भइन्। तर, म साहित्यकार भए जसरी करिमा बेगम साहित्यकार हुन सक्दिनन्।’ (स्वनिर्मित नेता)

प्रदीप नेपाललाई साहित्यकार हुनुमा गर्व छ। आफूलाई साहित्यकार भनेर चिनाउने हुटहुटी छ। तर, दुनियाँ उनलाई ‘नेता’ मानिदिन्छ।

उनले १४ वटा त उपन्यास लेखिसकेका छन्। नौ वटा कथाका किताब छन्। सात वटा नियात्रा र संस्मरण पनि प्रकाशित छन्। उनी चर्चित उपन्यास ‘पूर्वतिर’ र ‘देउमाईको किनार’ का लेखक हुन्। चर्चित संस्मरण ‘मुक्त आकाशको खोजी’ लेखेका छन्। तर, साहित्यकारभन्दा बढी नेताकै रुपमा चिनिन्छन्।

संभवतः उनले हुन चाहेको बीपी कोइराला, राजेश्वर देवकोटा वा लोकेन्द्रबहादुर चन्द जस्तो हुनुपर्छ। वैचारिक धार फरक भएका यी नेता राजनीति र साहित्यमा उत्तिकै चिनिए। प्रदीप नेपालको कहानी बेग्लै भइदियो। उनी जब ‘सञ्जय थापा’बाट प्रदीप नेपाल भए, साहित्यिक व्यक्तित्व डङ्ग्रङ्गै पछारियो।

केही महिनाअघि उनको निबन्ध संग्रह ‘एक मानु हो चाहिने’ बजारमा आएको छ। यसको खासै चर्चा भएन। मिडियामा चर्चा हुनु वा नहुनु फरक पाटो हो, तर यो संग्रहका निबन्ध पढिरहँदा उनी साहित्यकारभन्दा राजनीतिकर्मी नै बढी हुन् भन्ने स्पष्ट हुन्छ।

प्रदीप नेपालले लेखेका पुस्तकहरु।

उनले आफ्नो राजनीतिको प्रवेशलाई दुर्घटना मानेका छन्। ‘स्वनिर्मित नेता’ शीर्षकको निबन्धमा लेख्छन्– ‘मलाई लाग्छ– राजनीतिमा प्रवेश, मेरो जीवनको अर्को दुर्घटना हो। म त शिक्षक हुन चाहन्थेँ। हाइस्कुलको शिक्षक। भित्र मनले भन्थ्यो– हाइस्कुलको हेड सर हुन पाए!’

उनी शिक्षक भएनन्। बरु शिक्षकहरुको तालुकवाला मन्त्री भए। तर, कुनै कार्यक्रममा राष्ट्रकवि माधव घिमिरेले भनिदिएछन्– ‘हाम्रो प्रदीपजी, पूर्वमन्त्री तर सदाबहार साहित्यकार।’ प्रदीप नेपाल मक्ख परेर एउटा निबन्धमा त्यसलाई पनि उल्लेख गरेका छन्। तर, घिमिरेको यो टिप्पणी ‘राजनीतिक व्यंग्य’ हुन सक्दैन र?

प्रदीप नेपाल आफूले हिँडेको राजनीतिक बाटोसँग त सन्तुष्ट होलान्, तर राजनीतिक इतिहाससँग सन्तुष्ट छैनन्। आफूले संगत गरेका नेताबारे उनले यी निबन्धमा खुलेर लेखेका छन्। आफ्नो राजनीतिक यात्राबारे लेखेका छन्। विगतमा भएका विवादबारे लेखेका छन्। अधिकांश निबन्धको विषय नै राजनीति छ। यी निबन्ध पढिसक्दा पनि उनलाई साहित्यकारभन्दा बढी ‘नेता’ मान्नुपर्ने हुन्छ।

मदन भण्डारीको हत्या माओवादीले!
प्रदीप नेपाल आफूलाई जनताको बहुदलीय जनवाद (जबज) र त्यसका प्रणेता मदन भण्डारीका अनुयायी मान्छन्। जबज लेखनको बेला आफूले पनि भण्डारीलाई सहयोग गरेको उल्लेख गरेका छन्।

माधवकुमार नेपालको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) गठन भएपछि उनले ‘जनताको बहुदलीय जनवाद’ जता हुन्छ आफू उतै रहने भन्दै फेसबुकमा स्टेटस लेखे। उनलाई समेत समावेश गरेर एकीकृत समाजवादी पार्टी दर्ता गरिएको थियो, तर आफू त्यहाँ नरहेको बताए। फेरि उनले स्टेटस लेखे, ‘म माधव नेपालको मान्छे हुँ। अहिले मेरो कुनै कमिटी छैन, ६ वर्षदेखि म कमिटीविहीन अवस्थामा छु।’

अहिले उनलाई ‘नेता’ पद दिएर वरीयताको चौँथो नम्बरमा राखेको पार्टी एकीकृत समाजवादीले नै जबजमा टेक्दै ‘समाजवादी सिद्धान्त’ लिने घोषणा गरेको छ। उबेला पनि माधव नेपाललाई ‘खुर्मुर्‍याएर’ जबजमा ल्याएको उनैले लेखेका छन्।

एमालेको पाँचौँ महाधिवेशनमा छलफल गरिएका कार्यपत्रमध्ये भण्डारीको जबज र सीपी मैनालीको ‘परिमार्जित नौलो जनवाद’ चर्चामा थियो। माधव नेपालले दुवै नेतालाई मिलाउन ‘बहुदलीय नौलो जनवाद’ वकालत गर्दै थिए। त्यही कारण माधव नेपाललाई उनले ‘ढुलमुले’ भएको उल्लेख गरेका छन्। (पार्टीभित्रको उथलपुथल)

मदन भण्डारीको हत्याका विषयमा पनि प्रदीप नेपालले निकै विवादास्पद बयान दिएका छन्। उनको बयान तथ्यमा भन्दा पनि भावना र तर्कमा बगेको छ। जस्तो कि उनी मदन भण्डारीको हत्यामा सीआईए, रअदेखि माओवादीसम्मको हात देख्छन्। (घुम्ने मेचमाथि टेकिँदा)

उनले दक्षिण अफ्रिकी कम्युनिष्ट पार्टीका महासचिव क्रिश हानी र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी ‘एउटै तीरका शिकार’ भएको रहस्य खुल्दै गइरहेको दाबी गरेका छन्। तर, यो रहस्य कहाँ र कसरी खुल्दै गएको उल्लेख गरेका छैनन्।

त्यति बेला क्रिश हानी दक्षिण अफ्रिकामा चर्चित हुँदै थिए। उनको अन्तराष्ट्रिय चर्चा बढिरहेको थियो। यता मदन भण्डारी पनि चर्चाको शिखर उक्लिरहेका थिए। तर, मदन भण्डारीको ‘हत्या’ हुनु तीन महिनाअघि सन् १९९३ अप्रिल १० मा क्रिश हानीको गोली हानी हत्या गरियो। दुवै हत्याको सुत्रधार एउटै भएको आफ्नो विश्वास अहिले पनि कायम भएको नेपालले लेखेका छन्।

तर, उनैले माथिको तर्कको ठीकविपरीत मदन भण्डारी ‘हत्या’मा माओवादीको हात हुनसक्ने आशंका पनि गरेका छन्। यो आशंका चाहिँ कुनै अमुक व्यक्तिले अमुक मिडियामा लेखेको लेखका आधारमा गरिएको छ। अनि, यसलाई पनि ‘छानबिनको घेरामा समेटिएको’ लेखेका छन्। तर, कसले छानबिनको घेरामा राखेको उल्लेख गरेका छैनन्।

उनले लेखेका छन्– ‘पछिल्ला दिनमा केही मानिसहरुले माओवादीतिर पनि आँखा लगाएका छन्। मैले पछिल्लो पटक पढेको एउटा जानकारी यस्तो थियो, ‘प्रचण्ड र मदन भण्डारीबीच टेलिफोन वार्ता भएको थियो, प्रत्यक्ष भेटघाटका लागि। मदन भण्डारीले काठमाडौँ–पोखरा–चितवन–काठमाडौँ यात्रा विवरण प्रचण्डलाई दिनुभएको थियो। माओवादीले अमर लामालाई प्रयोग गरेर मदन भण्डारीको हत्या गर्‍यो। अमर लामा बाँचिरहे हत्याको वास्तविकता खुल्छ भनेर माओवादीले अमर लामालाई पनि मारिदियो।’ (घुम्ने मेचमाथि टेकिँदा)

उनले अमरेशकुमार सिंहलाई प्रचण्ड र दिल्लीको सम्बन्ध जोडिदिने पात्रका रुपमा संकेत गरेका छन्। यसबारे बताउन उनले आफू शिक्षामन्त्री हुँदाको एउटा घटना उल्लेख गरेका छन्। शिक्षामन्त्रीको क्वाटरमा पुगेका अमरेशले साँझ प्रचण्डलाई हिसिला यमी (पर्यटन मन्त्री) को क्वाटरमा बोलाउँछन्। प्रचण्ड आइपुग्छन्। यसको साक्षी प्रदीप नेपाल आफैँ छन्।

एमालेका चारै नेता योग्यता र इमान नभएका
‘गुटबन्दीलाई म घृणा गर्छु, तिरस्कार गर्छु। गुटबन्दीले दास जन्माउँछ।’ (स्वनिर्मित नेता)

वास्तवमै प्रदीप नेपालले गुट बनाएनन्। तर, राजनीतिको उत्तरार्द्धमा उनी आफैँ गुटमा लागे। नवौँ महाधिवेशनमा ‘ओली गुट’बाट उपाध्यक्षको उम्मेदवार बने र पराजित भए। त्यति बेला आफू ‘माथिका नेता’मा आश्रित हुन पुगेको उनले पनि स्वीकारेका छन्।

कुनै गुटमा नलागी आठौँ महाधिवेशनमा महासचिवको उम्मेदवार बन्दा पनि उनी पराजित नै भएका थिए। माधव नेपाल, झलनाथ खनाल र केपी ओली तीनै जनाले ईश्वर पोखरेललाई समर्थन गरेको कारण पराजित हुनु परेको उनको दाबी छ। त्यो आवेगमा उनले केही कार्यकर्तालाई ‘गोठाला’ भनेका छन्। उनी लेख्छन्– ‘केपी ओली गुटकाले पनि ईश्वरसँग भएका केही गोठालाको लोभमा परेर मलाई मत नदिने टुङ्गो गरिहालेछन्।’ (बिदाइका क्षणहरू) 

उनले एमालेमा गुट बनाउने र चलाउने क्षमता भएका नेता केपी ओली र वामदेव गौतम भएको बताएका छन्। गुट चलाउन यी दुईमा को १ नम्बरमा पर्छ भन्ने आफूलाई खुट्याउन गाह्रो भएको पनि उल्लेख गरेका छन्। 

धेरै निबन्धका धेरै ठाउँमा उनले माधव नेपालको राजनीतिक भूमिकामाथि प्रश्न उठाएका छन्। जस्तो, पाँचौँ महाधिवेशनमा केन्द्रीय समितिमा आफ्नो नाम मदन भण्डारीले प्रस्ताव गरे पनि माधव नेपालले त्यसलाई काटेको उल्लेख गरेका छन्। केन्द्रीय समितिमा नपरेपछि उनले त्यही दिन एमालेका सबै तहबाट राजीनामा दिएको घोषणासमेत गरेका थिए। पछि उनलाई पुनः केन्द्रीय कमिटीमा ल्याइएको थियो।

दोस्रो संविधानसभा निर्वाचनमा झलनाथ खनाल, माधव नेपाल, केपी ओली र वामदेव गौतमले समानुपातिक सभाषद्मा आफ्नो नाम काटेको उनले उल्लेख गरेका छन्। जबकि, उनी केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक थिए। विद्या भण्डारीबाहेक सबै नेता आफ्नो नाम काट्न सहमत भएको विष्णु रिमाल र वामदेव गौतमले आफूलाई बताएको उल्लेख गरेका छन्।

‘झलनाथ, माधव, केपी र वामदेव चार जनालाई मैले त्यही बेला योग्यता, क्षमता र इमान नभएको नेताको विभूषण दिएको थिएँ।’ उनले लेखेका छन्।

तर, नवौँ महाधिवेशनमा केपी ओली रोगी भएकाले केही लामो समय बचाउन उनलाई अध्यक्षको प्रस्ताव गरेको पनि उल्लेख गरेका छन्। (बिदाइका क्षणहरू)

उनले फेरि लेखेका छन्, ‘अहिले मैले ती चारै जनाको धोकालाई माफ दिएको छु। राजनीति उसै पनि शत्रुता, अविश्वास, धोका र स्वार्थको अर्को नाम हो।’

के राजनीति यस्तै हो त? निबन्धमा उनले चरम निराशा देखाएका छन्।

मनमोहन अधिकारीको मृत्युपछि एमालेमा ‘सर्वमान्य’ नेता नभएको संकेत पनि उनले गरेका छन्। अधिकारीको मृत्युपछि नारायणमान बिजुक्छे ‘रोहित’लाई पार्टी एकीकरण गरेर एमालेको अध्यक्ष हुन प्रस्ताव गर्दा उनी नमानेको नेपालले लेखेका छन्। 

तर, बिजुक्छेले धेरै कम्युनिष्ट पार्टी हुनु नराम्रो नभएको र त्यसले विचारको विविधता हुने भन्दै नेपालको प्रस्ताव अस्वीकार गरेका थिए।

त्यसपछि उनले मोहनविक्रम सिंहसँग पनि एमालेको अध्यक्ष हुने प्रस्ताव राखे। सिंह माओत्सेतुङ विचारधारा मान्थे। एमाले त्यो विचारधाराबाट २०४६ सालअघि नै बाहिरिसकेको थियो।

महाकालीको विरोध, तर पक्षमा मतदान
‘कहिल्यै नबनोस्, महाकाली नदीमा बाँध।’ (पार्टीभित्रको उथलपुथल)

तर, उनी आफैंले पार्टीभित्र मतदान हुँदा महाकाली सन्धिको पक्षमा भोट दिएका थिए। जबकि, पार्टीभित्र सबैभन्दा पहिला यो सन्धिको विरोध गर्नेमध्ये उनी पनि थिए।

पार्टीभित्र सुरुमा झलनाथ खनाल, सीपी मैलानी, वामदेव गौतमसहितका नेता सन्धिको पक्षमा थिए। कमल चौँलागाई र प्रदीप नेपालले मात्र विरोध गरेका थिए। केशवलाल श्रेष्ठको मत स्पष्ट थिएन।

पछि वामदेव गौतमलगायत नेता विपक्षमा देखिए। प्रदीप नेपालले त विपक्षमा धाराबाहिक रुपमा लेखहरु नै लेखेका थिए। उक्त क्षेत्र भूकम्पीय जोखिममा रहेकाले त्यहाँ ठूला बाँध बनाउन नहुने उनको तर्क थियो।

सन्धिको पक्षमा भाषण गर्नेहरुको तर्क थियो– अब नेपाल समृद्ध र झलमल्ल हुने भयो। यसबाट ‘यति खर्ब उति अर्ब’ आम्दानी हुने भयो। खर्ब र अर्बको हिसाब सुनाउने नेता केपी ओली थिए। माधव नेपाल चाहिँ महाकालीको बिजुली 'स्याटेलाइटबाट बेचेर पैसा कमाउने' भाषण गर्थे।

तर, माधव नेपालसँगको भेटपछि आफूले उनको महासचिव पद जोगाइदिन सन्धिको पक्षमा भोट हालेको प्रदीप नेपालको भनाइ छ। 

भारतले नचाहेसम्म महाकाली बाँध नबन्ने उनलाई ‘तत्वज्ञान’ भने छ। ‘महाकाली बाँध (बिजुली र सिँचाइ) नेपालको इच्छा र चाहनाअनुसार होइन, भारतको इच्छा र चाहनाअनुसार मात्रै बन्छ। अहिले पनि महाकाली भारतको प्राथमिकतामा छैन।’ (पार्टीभित्रको उथलपुथल)

मोबाइल बोक्दा विरोध गर्ने को–को थिए?
सूचना–प्रविधिको प्रयोगमा प्रदीप नेपाललाई अगाडि मानिन्छ। उनी सबैभन्दा पहिला घरमा कम्प्युटर राख्ने र मोबाइल बोक्ने एमाले नेता हुन्। तर, प्रविधिसँगको उनको साइनो भने निकै पुरानो देखिन्छ।

कुनै समय उनी पारिजातमार्फत निर्मल लामासँग नजिकिएका थिए। त्यति बेला उनी पनि केन्द्रीय न्युक्लियसमा जोडिए। केन्द्रीय न्युक्लियसको एउटा हिस्सा निर्मल लामाको नेतृत्वमा चौँथो महाधिवेशन गर्ने तयारीमा थियो। निर्मल लामाले दस्तावेज तयार पारिरहेका थिए। प्रदीप नेपाल उबेलै टाइप गर्न सक्थे। २०३८ सालमा मिलन तुलाधरको घरमा उनले कम्प्युटर चलाउन सिकेका थिए। त्यसैले लामाले ती दस्तावेज टाइप गर्न नेपाललाई नै दिएका थिए।

पछि खुला राजनीतिमा आएपछि आफूलाई केही साथीले म्याक ल्यापटप उपहार दिए पनि चलाउन अप्ठ्यारो भएपछि बेचेर डेस्कटप किनेको उल्लेख गरेका छन्। उनले ल्यापटप चलाएको विषयको त्यति बेला एमालेकै कतिपय नेताले विरोध गरेका थिए।

उनले चलाएको आधुनिक टेलिफोन (एनसरिङ मेसिन) को त तत्कालीन महासचिव माधव नेपालले नै विरोध गरेका थिए। ‘तपाईंले काठमाडौँका मारवाडीले मात्र राख्न सक्ने अनि आफैँले जवाफ दिने अत्यन्तै महङ्गो टेलिफोन चलाउनुहुन्छ भनेर कम्प्लेन आएको छ’, माधव नेपालले भनेका थिए। (फेसबुक)

उनले राखेको टेलिफोनमा कल रिसिभ नहुँदा नम्बर सुरक्षित हुन्थे। त्यसलाई हेरेर उनी ‘कल ब्याक’ गर्थे। राष्ट्रिय सभा सदस्य हुँदा उक्त चाइनिज सेट १७५० रुपैयाँमा किनेको उनले उल्लेख गरेका छन्। ‘तर, एक जना पत्रकारका लागि ‘काठमाडौँका धनी मारवाडीले मात्र राख्न सक्ने’ साधन भएको थियो। ज्ञानहीन मानिसहरु पनि पत्रकार हुँदा रहेछन् भन्ने सत्यको उद्घाटन हो, यो’, उनले लेखेका छन्।

उनले मोबाइल सेट बोक्दा पनि पार्टीभित्र र बाहिरबाट विरोध भएको थियो। त्यति बेला उनी ‘नोर्टेल’ नामको सेट बोक्थे। एक जना पत्रकारले भनेछन्– ‘तपाईं त एकदम महङो मोबाइल बोक्नुहुँदो रहेछ।’

यो विषयमा बीबीसीले महासचिव माधव नेपालसँग पनि प्रश्न गरेछ। प्रश्न गर्ने रवीन्द्र मिश्र थिए। माधव नेपालले विद्यालय चलाउने श्रीमतीको मोबाइल बोकेको हुनसक्ने जवाफ दिएछन्।

अनि रवीन्द्र मिश्र प्रदीप नेपाललाई भेट्नै पुगेछन्। उनले ‘कम्युनिष्ट पार्टीको नेताले मोबाइल बोकेको’ भन्दै आश्चर्य मानेर प्रश्न गरेछन्। ‘लण्डन बसेका र बीबीसीजस्तो संस्थामा काम गर्ने रवीन्द्र मिश्र र उपप्रधानमन्त्री भइसकेका माधव नेपालको चेतना एउटै देखिनु उदेकलाग्दो हो’, प्रदीप नेपालले लेखेका छन्। (फेसबुक)

वर्ग शत्रुको रगतले हात नरङ्गिएका ‘झापाली’ 
‘साले माउसेतुङ हुन खोज्छस्?’

२०२६ सालमा त्रि-चन्द्र कलेजबाट पक्राउ परेपछि उनले पुलिसको मुखबाट पहिलो पटक ‘माउसेतुङ’ शब्द सुने। पुलिसको कुटाइ पनि पहिलो पटक बेहोरे। त्यसपछि माओत्सेतुङबारे सोधखोज र अध्ययन सुरु भयो। अनि उनी कम्युनिष्ट हुने बाटोमा लागे।

पछि उनले गोपाल शाक्य र माधव पौडेलसँग मिलेर ‘मुस्लो समूह’ बनाए। त्यति बेला झापाली कम्युनिष्टहरुको ‘विद्रोह’ चरममा थियो। उनीहरुले नौ जना ‘वर्गशत्रु’को हत्या गरिसकेका थिए।

मुस्लो समूहले ‘८६औँ मई दिवस भव्यताका साथ मनायौँ’ भन्ने पर्चा छरे। तर, त्यसबारे प्रशासनले थाहा पाएपछि पक्राउ परे।

उनीहरुसँग सरकारी वकिल सत्यभामा माथेमाले बयान लिइन्। प्रदीप नेपालसँग सत्यभामाको प्रश्नोत्तर यस्तो थियो–

‘झापाली आतंककारीसँग सम्बन्ध छ कि छैन?’

‘छैन’

‘माओत्सेतुङ विचारधारा मान्छौ?’

‘मान्छु।’

‘चारु मजुमदार लाइन मान्छौ?’

‘मान्दिनँ।’ (स्वनिर्मित नेता)

झापालीहरुले ‘चारु मजुमदार लाइन’ मान्थे। उनीहरुलाई सरकारले आतंककारी घोषणा गरेको थियो। अन्य वामपन्थी दलले पनि ‘झापाली क्रान्तिकारी’हरुको आलोचना गरेर धमाधम वक्तव्य निकालेका थिए। ‘चारु मजुमदार लाइन’ भारतीय विस्तारवाद हो भन्ने मत अन्य कम्युनिष्ट पार्टीहरुको थियो। 

तर, उनको बयान प्रशासनले पत्याएन। काठमाडौँमा झापाली समूहका नेता उनीहरु नै भएको ठहर गर्‍यो। 

पर्चाकाण्डमा उनीहरुलाई १० वर्ष कैद र १०–१० हजार जरिवानाको फैसला भयो। तीन जना नै जेल पठाइए। 

जेलमा सीपी मैनालीलगायत ‘खाँटी झापाली’सँग भेट भयो। उनीहरुबीच बहस सुरु भयो। ‘चारु मजुमदार लाइन’ र ‘वर्ग शत्रुको रगतले नरङ्गिएको हात कम्युनिष्टको हात हुँदैन’ भन्ने झापाली समूहको मान्यतामा उनीहरुले असहमति जनाए। असहमति कायमै राखेर कोअर्डिनेशन केन्द्रको संगठनमा प्रवेश गरे। अनि उनीहरु पनि झापाली समूहको सदस्य भए।

उनीहरुलाई सर्वोच्च अदालतबाट मुद्दा जित्ने विश्वास थियो। तर, अदालतको फैसला आउन ढिला भएपछि जेल विद्रोहको योजना बनाए। सुरुङ खनेर १५ जना जेलबाट भागे। तीमध्ये पाँच जना पुनः पक्राउ परे। यसरी निस्किनेमा प्रदीप नेपाल पनि थिए।

यो चर्चित ‘जेलब्रेक’को संस्मरण सञ्जय थापाका नाममा छापियो। चार भागमा प्रकाशित त्यो पुस्तक ‘मुक्त आकाशको खोजी’ निकै चर्चित भयो।

तत्कालीन नेकपा मालेले पार्टी सदस्यका नाममा लेख वा पुस्तक लेख्नुलाई पनि ‘चर्चाको लोभ’ मान्थ्यो। यसलाई ‘पुँजीवादी मोह’ मानिन्थ्यो। त्यहीकारण प्रदीप नेपालले सञ्जय थापाका नाममा उपन्यास, कथा र संस्मरण लेखे। उनको लेखनको सुरुआत कविताबाटै भएको थियो।

पञ्चायतकालमा सञ्जय थापा एउटा क्रान्तिकारी र खरो साहित्य लेख्ने रहस्यमय साहित्यकार थियो। तर, सञ्जय थापाको प्रदीप नेपाल अवतार त्यसको ठीक विपरीत एमाले नेताको रुपमा भयो।

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रकाश गुरागाईं
लेखकबाट थप
नगरपालिकाको पहिलो चुनाव राणाकालमै, पुरुषलाई मात्र थियो मताधिकार
भारतीय कम्युनिष्ट नेताहरुको प्रभावमा खुलेको थियो नेपालको कम्युनिष्ट पार्टी
नेपालका ५० टी२० खेल : तीन कप्तान, तीन शतक र आठ वर्षमा छुटेको सिंगो पुस्ता
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
शिक्षा विधेयक पारित गर्न बसेको समिति बैठक स्थगित सोमबार, असार १६, २०८२
सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्नेविरुद्ध साइबर ब्युरोमा एलिनाको उजुरी सोमबार, असार १६, २०८२
एसइईमा ४ जिपिए ल्याएकी गोमालाई पूर्ण छात्रवृत्ति दिने सांसद थापाको घोषणा सोमबार, असार १६, २०८२
पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा,एक लाख जरिवाना वा पाँच वर्ष कैद सजायको माग सोमबार, असार १६, २०८२
मधेसमा ८६ लाख वृक्षरोपण गरिने सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
भारत जाने विमानमा फेरि सर्प सोमबार, असार १६, २०८२
नेपाली यू–१६ टोलीले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य, प्रसिद्धको शतक आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्