प्रतीकात्मक तस्बिर म्याग्दी– म्याग्दी सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा जोड्ने १० किलोमिटर कृषि सडकको स्तरोन्नतिको काम सुरु भएको छ।
ट्र्याक खुलेको १५ वर्षपछि भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयको ४८ लाख ५० हजार र स्थानीय जनसहभागिताबाट चार लाख ९५ हजार गरी कुल ५३ लाख रुपैयाँको लागतमा सडक स्तरोन्नतिको काम सुरु गरिएको हो। विसं २०६३ मा यो सडकको ट्र्याक खुलेको थियो।
त्यसैगरी हाँडेभिरदेखि बगरफाँटको बुद्ध एकेडेमीसम्म करिब दुई किलोमिटर क्षेत्रमा सडक कालोपत्र गर्नका लागि बाटो विस्तार र स्तरोन्नतिको काम पनि भइरहेको छ। जिसी निर्माण सेवाले निर्माणको जिम्मा लिएको सो सडकको स्तरोन्नति कार्य ढिला भएको भनी स्थानीयवासीले असन्तुष्टि जनाउँदै आएका थिए।
सडक फराकिलो बनाउने, जमिनमा ढलान गर्ने र तीन ठाउँमा नयाँ ट्र्याक खोल्ने काम भएको उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए। सो सडक खण्डअन्तर्गत नयाँ पुलमा सय मिटर, बाहुनडाँडामा ६५० मिटर र थामडाँडामा सय मिटर नयाँ ट्र्याक खोलिएको छ।
सडकको मापदण्डअनुसार नै निर्माण भएको यो सडक पश्चिम म्याग्दीको विकासका लागि कोशेढुङ्गा साबित हुने स्थानीयवासीले बताएका छन्। यो सडक बेनी नगरपालिका–२ बगरफाँट हुँदै पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म विस्तार गर्ने लक्ष्य रहेको अध्यक्ष गुरुङले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।