काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीका सन्दर्भमा आफूहरु पूर्वाग्रही नहुने र लम्पसार पनि नपर्ने बताएका छन्। शनिबार नेपालगंजमा आयोजित लुम्बिनी प्रदेशको प्रदेश भेला तथा पिपुल्स भोलिन्टर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले असंलग्न परराष्ट्र नीतिबाट दायाँबायाँ नजाने प्रष्ट पारे।
उनले एमसीसीका प्रतिनिधिलाई यो परियोजना कुनै सैन्य गठबन्धन तथा सुरक्षा रणनीतिसँग नजोडिएको लेखेर पठाउन भनेको बताए। 'झलनाथ खनालले पठाएको प्रतिवेदनमा उल्लेख भएका कुराहरुलाई प्रष्ट पारेर, यो परियोजना नेपालको हितमा छ, यो परियोजना नितान्त रुपमा आर्थिक सहयोगको परियोजना हो, सुरक्षासँग यसको कुनै सम्बन्ध छैन, सेनासँग कुनै सम्बन्ध छैन। आर्थिक विकाससँग मात्रै जोडिएको छ भन्ने कुरा सुनिश्चित गर्नुस्', नेपालले भने।
उनले नेपाल राष्ट्रको स्वाभिमानमा आँच पुग्ने काम नगर्ने बताए। उनले आफूहरुले देशलाई कुनै पनि सैन्य गठबन्धनमा, अरुको सुरक्षा घेरामा नराख्ने बताए।
उनले एमसीसी परियोजनामा आफूहरुले बौद्धिक सम्पत्तिमा नेपालको अधिकारलाई स्थापित गर्न चाहेको बताए। 'त्यहाँको पैसाको हिसाबकिताब नेपालको अडिटर जनरलले गर्न पाउनुपर्छ भन्ने कुरालाई सुनिश्चित गर्न चाहन्छौं। नेपाली नागरिकले त्यो परियोजनामा काम गर्ने, रोजगारी पाउने कुरालाई सुनिश्चित गर्न चाहन्छौं। र त्यो परियोजनामा प्रयोग गरिने जग्गाको स्वामित्व नेपालकै रहन्छ भन्ने कुरालाई सुनिश्चित गर्न चाहन्छौं', उनले भने।
उल्लेखित विषयमा जवाफ आएपछि त्यसमाथि आफूहरुले छलफल गर्ने उनको भनाइ छ। उनले पार्टीभित्र र पाँच दलको बीचमा छलफल गर्ने र जवाफ चित्त बुझ्दो छ कि छैन भन्ने आधारमा अगाडि बढ्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।