काठमाडौं- वाणिज्य बैंकहरूको निक्षेपमा झिनो सुधार देखिएको छ। गत साउन महिनाको तुलनामा वाणिज्य बैंकहरूको निक्षेप सङ्कलन छ अर्ब रुपैयाँले मात्रै बढेको हो।
नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरूको कूल निक्षेप ४१ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ। वाणिज्य बैंकहरूको साउन मसान्तसम्म कूल ४१ खर्ब २३ अर्ब रुपैयाँ बराबर निक्षेप सङ्कलन गरेका थिए।
भदौ महिनामा वाणिज्य बैंकहरूको कर्जा लगानी ५५ अर्ब रुपैयाँले बढाएका छन्। साउन मसान्तको तुलनामा बैंकहरूको कर्जा लगानी ५५ अर्ब रुपैयाँले बढेको हो। वाणिज्य बैंकहरूले भदौको १८ गतेसम्म ३८ खर्ब १९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गत साउनसम्म बैंकहरूले कूल ३७ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए।
यस्तै, स्वदेशी मुद्रामा वाणिज्य बैंकको निक्षेप ४० खर्ब नौ अर्ब रुपैयाँ रहेको छ भने कर्जा ३६ खर्ब ६९ अर्ब रुपैयाँ रहेको छ। विदेशी मुद्रामा एक खर्ब २० अर्ब रुपैयाँको निक्षेप रहेको छ भने एक खर्ब ५० अर्ब रुपैयाँ बराबरको कर्जा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।