काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर ल्याएको बताएका छन्।
‘कोभिडको दोस्रो वर्षको असहज अवस्थामा मौद्रिक नीति आएको छ, गत वर्षको लकडाउनभन्दा यो वर्ष सहज अवस्था छ। राष्ट्र बैंकले बैंकहरूको तथ्यांक र बैंकहरूले ग्राहकको विवरण हेर्ने हो,’ नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शुक्रबार आयोजना गरेको ‘भर्चुअल’ अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘गत वर्षसँग यो वर्षको अवस्था तुलना गर्न नै मिल्दैन। अहिले अवस्था धेरै सहज छ। यद्यपि, केही क्षेत्र भने समस्यामा छन्।’
उनले सबैलाई उकै ठाउँमा राखेरभन्दा पनि खास असर परेको उद्योगलाई कस्तोे प्रोडक्ट प्रयोग गर्दा हुन्छ भनेर छुट्याएर ल्याएको बताए। बैंकलाई आफ्नो ग्राहकको बारेमा राष्ट्र बैंकको भन्दा बढी जानकारी हुने भएकाले कोभिड प्रभावित व्यवसायी चिनेर सहुलियत दिने जिम्मा बैंकहरूलाई दिइएको उनले बताए। ‘ग्राहक डुब्यो भने बैंक पनि समस्यामा पर्ने हो, त्यसैले ग्राहकलाई चिनेर सहुलियत दिन बैंकलाई छोडेको हो,’ उनले भने, ‘ग्राहकको अवस्था र व्यवसायीको बारेमा मुख्य मुल्यांकनकर्ता बैंक नै हो।’
उनले चालु आवको मौद्रिक नीतिले एक करोड रूपैयाँभन्दा सानो ऋणमा दुई प्रतिशत प्रिमियम तोक्ने राष्ट्र बैंकको नीतिलाई ‘नोबेल पोलिसी’को संज्ञा दिए। पहुँच नभएका र साना ऋणीका लागि उक्त प्रिमियम तोकेको उनले बताए। ‘साना ऋणीका लागि ल्याएको ऐतिहासिक नीति हो, अहिले १६ लाख ८२ हजार ऋणीमध्ये ४७ हजार ऋण एक करोड रूपैयाँभन्दा माथि कर्जा लिने छन्। धेरै ऋण लिनेको त बार्गेन गर्ने क्षमता नै बढी हुन्छ,’ गभर्नर अधिकारीले भने।
अधिकारीले सेयर धितोको रिलाइकल गरेर सीमित व्यक्तिले वित्तीय स्रोत प्रयोग गरेकाले त्यसलाई रोक्न मार्जिन प्रकृतिको सेयर धितो कर्जामा सीमा तोकेको प्रस्ट पारे। ‘चार करोड रूपैयाँको सेयर बैंकमा राखेर दुई करोड ८० लाख रूपैयाँ लोन लिने, पुनः दुई करोड ७० लाख रूपैयाँको सेयर बैंकमा राखेर त्यसको ७० प्रतिशत कर्जा लिने र उक्त कर्जाको सेयरबाट पनि पुनः कर्जा लिने ‘रिसाइकलको प्रवृत्ति’ ठीक छैन भनेर लिमिट राखेका हौं,’ उनले भने।
बैंक तथा वित्तीय संस्थाले तरलता अभाव भयो भन्दै प्रचार गरेकोप्रति टिप्पणी गर्दै उनले ब्याजदरको जोखिम उठाउन बैंकहरू तयार नभएको आरोप लगाए।
कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले गत आर्थिक वर्षकोभन्दा चालु आवको मौद्रिक नीति धेरै सूचकका आधारमा सहज अवस्थामा आएको बताए। उनले भने, ‘हामीले राष्ट्र बैंकले तोकेको सीमाभन्दा पनि धेरै कम ब्याजदरमा कर्जा दिएका छौं।’
दाहालका अनुसार २०७६ चैतमा ५.०३ रहेको स्प्रेड दर ३.६ प्रतिशत ओर्लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।