मेक्सिको सिटी- मेक्सिको विश्वकप फुटबल प्रतियोगिता २०१८ का लागि छनोट भएको छ।
उत्तर अमेरिका, मध्य अमेरिका र क्यारेबियन छनोटअन्तर्गत शनिबार भएको खेलमा पानामालाई १–० ले पराजित गरेको मेक्सिकोले तीन खेल बाँकी छँदै विश्वकपको टिकट काटेको हो।
मेक्सिको विश्वकपमा छनोट भएको लगातार सातौं पटक हो। मेक्सिकोले समग्रमा १६औं पटक विश्वकप खेल्न लागेको हो। २०१८ को विश्वकपमा छनोट हुने मेक्सिको पाँचौ टोली हो। यसअघि एसियाबाट जापान र इरान तथा दक्षिण अमेरिकाबाट ब्राजिल छनोट भएका थिए। आयोजक रसिया सिधै छनोट भइसकेको छ।
सातौं चरणको खेलमा पानामालाई हराउन मेक्सिकोका लाजानोले ५३औं मिनेटमा निर्णायक गोल गरे। जितसँगै मेक्सिकोले ७ खेलबाट १७ अंक जोडेको छ। दोस्रो स्थानको कोस्टारिकाको १४ अंक छ। तेस्रो स्थानको अमेरिका र चौथो स्थानको होन्डुरस समान ८–८ अंकमा छन्। यो क्षेत्रबाट तीन टोली हुनेछन्। अमेरिका र होन्डुरससँग स्पष्ट ९ अंकको अग्रता लिएसँगै मेक्सिको विश्वकपमा छनोट भएको हो।
छनोटका अन्य खेलमा कोस्टारिकाले अमेरिकालाई २–० र होन्डुरसले ट्रिनिडाड एन्ड टोबागोलाई २–० ले पराजित गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।