काठमाडौं- असार १ र त्यसपछि निरन्तर रुपमा बाढी आएर भएको विनासको अध्ययन गर्न हेलम्बुको भ्रेमाथाङ पुगेको अध्ययन टोलीले पहिरो तत्काल नरोकिने अवस्थामा रहेको निष्कर्ष निकालेको छ।
४ दिनसम्म भ्रेमाथाङ बसेको टोलीले उक्त क्षेत्रमा १ करोड ५ लाख घनमिटर थ्रेगिनी जम्मा भएको अध्ययनका लागि पुगेका खानी तथा भूगर्भ विभागका सिनियर भूगर्भशास्त्री शिव बाँस्कोटाले बताए।
‘पेम्दाङ र मेलम्ची खोला मिसिने ठाउँमा ठूलो गेग्रान देखिन्छ। खोलाले आफ्नो धार परिर्वतन गरेर अर्को क्षेत्रमा बगिरहेको छ’ उनले भने ‘अहिले तल्लो तटिय क्षेत्रमा पनि धेरै पहिरोहरु विकास भएका छन्। अब मनसुन सक्रिय भएसँगै पहिरो जान्छ।’
साउन १६ गतेको भेल बाढीपछि अध्ययनका लागि खानी तथा भूगर्भ विभागका सिनियर भूगर्भशास्त्री शिव बाँस्कोटासहितको टोली ४ दिन भ्रेमाथाङमा बसेको थियो। पेमदाङ खोलाबाट आएको बाढीले भ्रेमाथाङमा अत्यधिक गेग्रान जम्मा गरेका कारण विनास भएको देखिएको उनले बताए ।
‘मेलम्ची र पेम्दाङ खोला मिलेर बग्ने ठाउँमा आएपछि यसले थुनिएर विनासको रुप लिएको देखिन्छ’, उनले भने ‘नदीको क्षेत्रमा बस्ती विकास गर्न हुँदैन भन्ने यो विपतबाट सिक्नुपर्ने छ। अहिले बाढी गएको समग्र क्षेत्र कुनै समय खोला नै रहेको थियो। पछि विस्तारै बस्ती बढ्दै गएको थियो।’
आठ मिटरसम्म उचाको ग्रेगान थुप्रिएको उनले बताए। ‘भ्रेमाथाङमा १ करोड ५ लाख घनमिटर थ्रेगिनी जम्मा भएको छ’ उनले भने ‘मेलम्चीमा १० मिटरसम्म उचाइ बढेको छ।’
उनले हाल पानीको बहाव ८.८२ क्युसेक रहेको बताए। ‘बाढी जानुअघि ठूलो मात्रामा वर्षा भएको देखिन्छ’ उनले भने, ‘तीनवटै खोलामा एकैपटक भेल बाढी आएको छ। मेलम्ची, याङग्री र लार्केमा एकै पटक बाढी गएको देखिन्छ।’
भूकम्प गएको वा ताल फुटेको कुनै पनि सम्भावना अध्ययनमा नदेखिएको उनले बताए। भारी वर्षा र माथिल्लो क्षेत्रमा पहिरो गएको कारण यो विनास भएको उनले बताए।
मेलम्चीमा फेरि बाढी आउँछ कि आउँदैन?
तल्लो क्षेत्रमा पनि व्यापक पहिरोहरु विकसित भएको उनले बताए। ‘असार १ भन्दा अघि तल्लो तटिय क्षेत्रको भूमिका थिएन। तर, अब यो जोखिम बढेको छ ’ उनले भने ‘कुनै समय पानी परेमा ठूलो भेल बाढी आउँछ। यो मौसमभरी मेलम्ची वा अन्य तल्लो तटिय क्षेत्रमा बस्न मिल्दैन।’
खोला किनाराका बस्ती सार्नुको विकल्प छैन
निमा ग्याल्जेन शेर्पा, अध्यक्ष, हेलम्बु गाउँपालिका
असार १ र त्यसपछि गएको बाढीले धेरै क्षति हेलम्बुमा पुगेको छ। हेलम्बुमा धेरै आर्थिक र भौतिक क्षति भएको छ। यो पहिरोको स्रोत भनेको भ्रेमाथाङ हो भन्ने सबैको अनुसन्धानमा देखिएको छ। मैले पनि उक्त क्षेत्रमा पुगेर हेरेर आएको छु। मेरो अनुभवमा उक्त क्षेत्रलाई फेरि उठाउन सकिन्छ तर सरकारले सहयोग गर्न म आग्रह गर्दछु।
पहिला तल्लो तहमा पहिरो थिएन। अहिले जताततै पहिरो देखिन्छ। भ्रेमाथाङमा पहिला भन्दा झन् पहिरो देखिन्छ। १६ गतेअघि बस्ती बचाउने मात्र कुरा थियो तर अब यो होइन बस्ती सार्ने कुरा आएको छ। पानी माथि सानो छ, तल आउँदा कसरी ठूलो आउँछ भनेर प्रश्न आइरहेको छ। खोला किनाराका बस्ती माथि सार्नुको विकल्प मैले देखेको छैन। अब के गर्न सकिन्छ र के गर्दा त्यो क्षेत्र बचाउन सकिन्छ त्यसमा काम गरिदन म आग्रह गर्दछु। भ्रेमाथाङ चउर भएकाले जाली लगाउने हो भने रोकिन्छ। तर, यो सबै आउने हो भने तल्लो क्षेत्रको उचाई निकै बढ्ने छ। रिस्क कम हुने गरि काम गर्ने कुरामा सरकारको ध्यान जान जरुरी छ।
भ्रेमाथाङ भन्दा मुनिका क्षेत्रमा धेरै जोखिम देखिएको छ। १६ गतेपछि फेरि आउँदैन कि भन्ने अनुमान छ। यो अब एक/दुई वर्षको हैन चार/पाँच वर्षको रिस्क भयो। राजधानीको खानेपानीको मुहान क्षेत्र भएकाले खानेपानी संरक्षणका लागि तलैदेखि गर्ने हो भने समाधान हुने देखिन्छ। तत्काल के गर्न सकिन्छ भने दशैंसम्म सरकार कस्सिएर लाग्ने हो भने फेरि मेलम्ची ल्याउन सकिन्छ। स्थायी रुपमा यो मेलम्ची आयोजना सञ्चालन हुन सक्ने मलाई लाग्दैन। तीन वटा पहिरो आएको छ।
पहिरोको बीचमा खानेपानी आयोजना सञ्चालन हुन सक्दैन। ६ वटा पक्की र ६ वटा झोलुङ्गे पुल बगाएको छ। अहिले हेलिकोप्टर लिएर बिरामी अस्पताल ल्याउनुपर्ने अवस्था छ। संयोगले म भ्रेमाथाङ पुग्न पाएँ। राज्य लाग्ने हो भने रोक्न नसक्ने लागेन। मलाई सहयोग गर्नुस् म यसलाई पुन: उठाउन सक्छु। तलदेखि जाली लगाउँदै गएमा यो समथर चउर भएकाले रोक्न सकिन्छ। सरकारले पहल गरोस्।
मेरो विश्वास छ, यसलाई फेरि उठाउन सकिन्छ। अहिले यसो भन्दा मलाई कुट्ने सम्भावना छ। तर, म सबैलाई आग्रह गर्दछु हामी फेरि उठाउँछौ। यसलाई पर्यटकीय क्षेत्र नै बनाउने छौं।
पानी परे फेरि बगरे आउँछ
रञ्जन दाहाल, पहिरोविज्ञ
भ्रेमाथाङ अब तत्काल पहिरो आउने सम्भावना देखिँदैन। तर, तल्लो क्षेत्रमा जोखिम बढेको छ। भ्रेमाथाङमा पानी थुनिएर ड्याम बनेर फुटेको पुष्टि भएको देखिन्छ।
ड्यामको भूभाग सकिएको छ। चौरको साढे ८ मिटर बाक्लो क्षेत्र दलदल रहेको छ। अबको दिनमा पानी परे फेरि बगेर आउँछ। यसले मुखैमा खोलाई थुन्न सक्छ। यसले पनि आगामी दिन संकट कायमै राख्छ। सानो सानो रुपमा सँधै थुनिने खतरा छ। यो पहिरो रेकी सकिएको छ। अब कसरी जाने भनेर छलफल हुन जरुरी छ। त्यहाँको तापक्रम बढेको देखिएको छ। हिउँ परेको स्थानमा पानी पर्दैन भन्ने कुरा परिर्वतन भएको छ। यो ठूलो अब चुनौती हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।