काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गठबन्धन सरकारको प्रधानमन्त्री बनेपछि ठ्याक्कै त्यही अवस्था निम्तिएको छ जस्तो अवस्था पूर्ववर्ती केपी शर्मा ओली सरकारका पालामा तत्कालीन नेकपा र पछि एमालेभित्र निम्तिएको थियो। देउवा नेतृत्वको सरकारले गर्ने निर्णय वा सरकारबाट हुने काममा पार्टीसँगको समन्वय टुटेको देखिन थालेको छ। यही अवस्थाले तत्कालीन प्रधानमन्त्री ओलीको तीब्र आलोचना भएको थियो। त्यहीकारण उनको सत्ताबाट बहिर्गमन मात्र भएन, पार्टी नै छिन्नभिन्न बन्ने स्थिति आयो। देउवा सरकार भर्खर सुरुआती चरणमै भएकाले कांग्रेसमा त्यो अवस्था त देखिएको छैन तर संकेत त्यतैतर्फ उन्मुख छन्।
गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएदेखि गरेका निर्णयमा देउवा आलोचित बनिरहेका छन्। आलोचना विपक्षी वा पार्टी बाहिरबाट मात्र होइन, आफ्नै पार्टीभित्र भइरहेको छ। आफ्नै पार्टीभित्र पनि आफ्नै समूहबाट आलोचना भइरहेको छ। विपक्षी दलले सरकार र प्रधानमन्त्रीका निर्णयको विरोध गर्नु सामान्य हो। कांग्रेसको हकमा आफ्नै दलभित्रका अन्य समूहले विरोध गर्नु पनि सामान्य नै होला। तर, प्रधानमन्त्री देउवाकै समूहभित्र असन्तुष्टिका चर्का स्वर सुनिनथालेका छन्।
पहिलो प्रसंग: गण्डकीको ‘रमिता’
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार गठन भएको एक महिनासम्म पनि आफ्नो मन्त्रिमण्डललाई पूर्णता दिन सकेनन्। निकै ढिलो गरेर उनले सरकारलाई त बल्लतल्ल पूर्णता दिए, तर त्यही निर्णयसँगै विवादमा तानिए। कारण थियो, पार्टी सभापति देउवाको निर्देशन हुबहु पछ्याएर उनले डोबाटे विश्वकर्मालाई मन्त्री बनाएनन्। उनको स्थानमा पोखराका व्यवसायी विन्दुकुमार थापालाई मन्त्री बनाए।
यो काठमाडौंमा देउवा प्रधानमन्त्री बनिसकेपछिको घटना थियो। देउवाले आफ्नो गुटलाई च्याप्ने निर्णय गर्दा कांग्रेसले आफ्नो लोकतान्त्रिक र समावेशी चरित्र नै बिर्सिएको आरोप लाग्यो। हुन पनि गण्डकीमा मन्त्रिपरिषद् विस्तारका लागि मुख्यमन्त्री पोखरेलले डोबाटे बिकलाई मन्त्रीको शपथमा आउन खबर गरिसकेका थिए। तर, देउवाले दबाब दिएपछि उनले विश्वकर्माको नाम हटाएर थापालाई मन्त्री बनाए। प्रदेशका सरकार प्रमुखको क्षेत्राधिकारभित्र पसेर देउवाले आफुनिकट व्यवसायी सांसदलाई मन्त्री बनाएका थिए।
यसको आलोचना सर्वत्र भयो। यतिसम्म कि देउवाका अति निकटस्थ मानिने कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले नै साउन ११ गते यसबारे पार्टीमा कतै छलफल नभएको बताए। त्यो निर्णय हुनुमा उनले आफ्नोतर्फबाट सामाजिक सञ्जालमा क्षमा मागेरै असन्तुष्टि प्रकट गरे।
प्रसंग दुई: स्वार्थ बाझिने व्यवसायीलाई स्वास्थ्य राज्यमन्त्री
देउवाले प्रधानमन्त्रीको सपथ लिँदै गर्दा सोही दिन स्वास्थ्यमन्त्री पनि नियुक्त हुने चर्चा थियो। मुलुक कोरोना महामारीको चपेटामा परेका बेला देउवाले स्वास्थ्यलाई विशेष प्राथमिकता दिने आकलन पनि धेरैले गरेका थिए। तर, प्रधानमन्त्री देउवाले त्यसदिन स्वास्थ्य मन्त्रालयमा मन्त्री ल्याएनन्। त्यसको १२ दिनपछि, साउन १० गते देउवाले शिक्षाक्षेत्रका व्यवसायी उमेश श्रेष्ठलाई अप्रत्यासित रुपमा स्वास्थ्य राज्यमन्त्री नियुक्त गरे। श्रेष्ठलाई मन्त्री बनाउनुअघि देउवाले गठबन्धनका अन्य दल र आफ्नै पार्टीभित्र समेत छलफल गरेका थिएनन्। श्रेष्ठको नियुक्तिलाई लिएर देउवाको साथै पार्टी आलोचित बन्यो।
यो प्रकरणमा देउवाले पार्टीभित्र उठेका प्रश्नको त कुनै जवाफ दिन आवश्यक ठानेनन्, गठबन्धनमै प्रश्न उठेपछि भने ‘आइन्दा त्यस्तो नगर्ने’ बाचा गरे।
गण्डकीदेखि संघीय मन्त्रिपरिषद् विस्तारलाई लिएर भएका टिकाटिप्पणी र आलोचनालाई कांग्रेस महामन्त्री खड्काले सकारात्मक भनेका छन्। यसबाट समयमै पाठ सिकेर ऐतिहासिक अवसरलाई सदुपयोग गर्नुपर्ने उनको धारणा छ। तत्काल सच्चिन र भविष्यमा जनतालाई मन नपर्ने कुनै काम नगर्ने विश्वासिलो संकल्प जरुरी रहेको खड्काले बताएका छन्।
प्रसंग तीन: आफ्नै प्रचारमा मुग्ध
‘तत्काल सच्चिने र जनतालाई मन नपर्ने काम नगर्ने’ नगर्ने सार्वजनिक प्रतिबद्धता जनाइरहेका कांग्रेस महामन्त्री खड्का धेरैजसो समय देउवासँगै हुन्छन्। सरकार सञ्चालनदेखि पार्टीका काममा उनले नै देउवालाई सघाइरहेका छन्। तर, उनकै कुरा देउवाले वास्ता नगरेको पछिल्लो दृष्टान्त हो– पछिल्लो समय देउवा सबैभन्दा आलोचित बनेको ‘मलाई शेरबहादुर देउवा मनपर्छ किनभने...’ भिडियो प्रकरण। पार्टी भित्रका आफ्नै समूहका नेताहरुलाई समेत जानकारी नदिएर अहिले देउवाको सचिवालयले उनलाई महान देखाउने भिडियो सामग्री प्रचारमा ल्याइरहेको छ। ती भिडियोको निर्माण नै प्रधानमन्त्रीको सचिवालयले गरेको खुलिसकेको छ।
आफ्ना गल्ती ढाकछोप गर्न प्रचारको अस्त्र प्रयोग गरेको भन्दै पूर्वप्रधानमन्त्री ओलीको विरोध गरेका कांग्रेस नेता र कार्यकर्ता अहिले भने आफ्नै पार्टी सभापति र प्रधानमन्त्री देउवाको प्रचारमोहबाट रुष्ट बनेका छन्। कामले भन्दा भिडियोको प्रचारले आफ्नो छवि सुधार्ने प्रयासमा देउवा देखिएका छन्, तर भिडियोले ल्याउने नकारात्मक प्रभावको हेक्का उनले राखेको देखिँदैन।
यो भिडियो प्रचारको मोहप्रति महामन्त्री खड्काले नै असन्तुष्टि व्यक्त गरेका छन्। भिडियो प्रचार शैलीलाई गाइजात्राको संज्ञा दिँदै उनले शुक्रबार बिहान त्यसलाई तत्काल बन्द गर्न प्रधानमन्त्रीको सचिवालयलाई आग्रहसमेत गरे।
प्रधानमन्त्रीको भिडियो प्रचारको शैली प्रवक्ता विश्वप्रकाश शर्मालाई पनि मन परेको छैन। पार्टीमा समन्वय नगरी भएको उक्त प्रचारप्रति ध्यानाकर्षण भएको भन्दै शर्माले भने, ‘प्रधानमन्त्रीले काम गर्ने बेला हो यो। उहाँलाई सही सल्लाह र साथ दिने बेला हो। काम राम्रो भए जनता आफैले बनाउने छन् भिडियो। नत्र पार्टीले बनाउँला।’ सरकारले परिणाम राम्रो दिन सके प्रचारको कमान्ड सम्हाल्न हजारौं स्वयंसेवी लामबद्द हुने शर्माले टिव्टरमा लेखेका छन्।
देउवानिकट अर्का नेता वीरबहादुर बलायर भने सरकार र पार्टीको समन्वयमा कमी नभएको दाबी गर्छन्।
देउवाको सचिवालयले अहिले भाइबर ग्रुप सञ्चालनमा ल्याएर उनको प्रशंसा गरिएका भिडियो पोष्ट गरिरहेको छ। सचिवालयले सञ्चालनमा ल्याएको उक्त समूहमा हालसम्म ७ हजार ५७० जना जोडिएका छन्। समूहमा सुपर एड्मिनका रुपमा स्वयं देउवा छन् भने एड्मिनमा गोविन्द परियार छन्। औपचारिक निर्णय नभएपनि परियारले देउवाको प्रेस संयोजकका रुपमा काम गरिरहेका छन्। भाइबर ग्रुपमा देउवा र परियारमार्फत् भिडियो पोष्ट गरिएका छन्। हालसम्म त्यहाँ तीन भिडियो पोष्ट गरिएको छ भने देउवाले विगतमा गरेका कार्यको टेम्पप्लेटमार्फत् पनि प्रचार गरिएको छ।
पार्टीभित्रैबाट आफ्नै विश्वासिला नेताहरुले भिडियो प्रचारबाजी रोक्न आग्रह गरेपनि प्रधानमन्त्री देउवाले आफ्नो सचिवालयलाई केही भनेका छैनन्। देउवाको सचिवालयका एक सदस्यले भने, ‘हामीलाई केही आधिकारिक जानकारी आएको छैन। भिडियो रोक्नेबारे केही थाहा छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।