काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा कसले नेतृत्व गर्ने भन्ने विषयमा नेकपा (माओवादी केन्द्र)भित्र विवाद उत्पन्न भएको छ। पार्टीका दुई शीर्ष नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठबीच नै विवाद उत्पन्न भएपछि उनीहरू एमाले वरिष्ठ नेता माधवकुमार नेपालको शरणमा पुगेका छन्।
मंगलबार बिहान प्रचण्ड र श्रेष्ठ नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए। कोटेश्वरस्थित एमालेनिकट एक व्यवसायीको घरमा अन्य राजनीतिक विषयमा छलफल भएको भनिएपनि दुई नेताबीचको खटपट मिलाउने प्रयत्न नेपालले गरेको संवादबारे जानकार एक नेताले बताए।
श्रेष्ठलाई सरकारमा जान नदिन ‘जनयुद्ध’कालीन नेताहरु एकढिक्का भएर अध्यक्ष प्रचण्डमाथि दबाब बढाएका छन्। उता श्रेष्ठले भने पार्टीको तर्फबाट आफैं नेतृत्व गरेर सरकारमा जाने प्रयास गरिरहेका छन्। जानकार माओवादी नेताहरुका अनुसार, श्रेष्ठले उपप्रधानमन्त्रीसहित परराष्ट्र वा शिक्षा मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा जाने प्रयत्न गरिरहेका छन्।
अहिले माओवादी केन्द्रका जनार्दन शर्माले अर्थ र पम्फा भुसालले ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। असार २९ मै उनीहरुले शपथ लिएका थिए। यतिबेला माओवादी केन्द्रबाट थप को र कति जना मन्त्री बनाउने र नेतृत्व कसले गर्ने भन्ने विषयले प्रचण्डलाई तनाव सिर्जना गरेको छ। सरकारमा माओवादीको नेतृत्व गर्ने प्रयासमा श्रेष्ठका अतिरिक्त हरिबोल गजुरेल तथा कृष्णबहादुर महराबीच समेत प्रतिस्पर्धा चलिरहेको छ।
प्रचण्डले नै मन्त्री बन्ने विषयमा आफ्नो पार्टीभित्र तनाव ब्यहोरेको बताइसकेका छन्। उनले ४९ जना सांसद (प्रतिनिधि सभा सदस्य)ले नै मन्त्री बन्न दबाब बढाएको केही दिनअघि सार्वजनिक कार्यक्रममै उल्लेख गरेका थिए। तर, राष्ट्रिय सभा सदस्य श्रेष्ठको विषय भने पार्टीभित्र बहसको विषय बनेको छ।
नेकपा कायम हुँदा नै श्रेष्ठ र नेता नेपालबीच निकट सम्बन्ध स्थापित भएको छ। सो सम्बन्धबारे जानकार प्रचण्डले नेता नेपालको सहयोग लिएका हुन्। तर, उनीहरुबीच भएको विस्तृत संवाद भने प्राप्त हुन सकेको छैन।
श्रेष्ठले भने सरकारमा जाने विषयमा प्रचण्डलाई कुनै दबाब नदिएको प्रतिक्रिया दिए। ‘सरकारमा जाने विषयमा अध्यक्ष प्रचण्ड कमरेडलाई कुनै दबाब बढाएको छैन। दबाब बढाएको भन्ने कुरा सतप्रतिशत झुटो हो। त्यसमा सत्यता छैन’, नेपाल लाइभसँग कुरा गर्दै श्रेष्ठले भने, ‘सरकारमा जाने भएमा पार्टीमा सल्लाह गरेर मात्रै निर्णय हुन्छ। मैले भनेर मात्रै हुँदैन। जे हुन्छ सल्लाहमा हुन्छ।’
सरकारमा जाने विषयमा मिडियामा धेरै नेताहरुको नाम आए पनि कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषयमा पार्टीमा छलफल नभएको स्थायी समिति सदस्य लिलामणि पोखरेलले बताए।
२०७४ साल मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा श्रेष्ठ गोरखा–२ बाट पराजित भएका थिए। लगत्तै श्रेष्ठले संसद्को यो कार्यकालमा संसद्मा नछिर्ने प्रतिक्रिया दिएका थिए। उनको सो वाचालाई धेरैले नैतिकता देखाएको भन्दै उच्च प्रशंसा समेत गरेका थिए। तर, उनी २०७६ माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशबाट उम्मेदवार बन्दै निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।