काठमाडौं- क्यान र एलबिइएफ क्याम्पसले देशका सातै प्रदेशबाट प्राविधिक शिक्षामा छात्रवृत्तिका लागि आवेदन खुल्ला गरेका छन्।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) र प्राविधिक शिक्षा तर्फका विद्यार्थीलाई नेपालको पहिलो आइटी कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको सहकार्यमा छात्रवृत्ति प्रदान गरिने भएको हो। ‘नेसनल आइसिटी स्कलरसिप २०७५’ नाम दिइएको छात्रवृत्ति अन्तर्गत सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउनेछन्।
जसअनुसार प्रत्येक प्रदेशबाट १ जना छात्रालाई पूर्ण छात्रवृति र बाँकी ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने क्यानले आज आज राजधानीमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ।
यस अन्तर्गत फिमेल मेरिट आइसिटी स्कलरसिप प्रत्येक प्रदेशबाट ४ जनाका दरले २८ जना छात्रालाई प्रदान गरिनेछ भने आइसिटी मेरिट स्कलरसीप प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१ जनालाई प्रदान गरिनेछ।
सम्झौताअनुसार ४९ जना विद्यार्थीले एक करोड ८३ लाख ३६ हजार ५ सय रुपैयाँ बराबरको छात्रवृत्ति पाउने क्यान अध्यक्ष हेमन्त चौरसियाले बताए।
मान्यताप्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित प्लस टु अर्थात् सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याई सिटिइभिटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।