काठमाडौं- सरकारी सञ्चार संस्था नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकृत गरी सार्वजनिक प्रसारण संस्थाको रुपमा सञ्चालन गरिने भएको छ।
मंगलबार संघीय संसद्मा आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सबै प्रकारका सूचनाको माध्यममा नेपालीको पहुँच पुर्याउन आमसञ्चार माध्यमलाई निष्पक्ष मर्यादित व्यावसायिक र प्रतिस्पर्धी बनाउन दुवै संस्थालाई एकीकृत गरिने जानकारी गराए।
यसैगरी त्रिवि पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभागमा अनुसन्धान र प्रयोगात्मक कक्षासहितको आधुनिक भवन निर्माणमा लागि सरकारले बजेट विनियोजन गरेको छ। पत्रकार दुर्घटना बिमा र वृत्तिकोषलाई पत्रकारको हित र कल्याणमा परिचालन गर्न पनि अनुदानको व्यवस्था गरिएको छ।
सरकारी, निजी र विदेशी साझेदारीमा फिल्म निर्माण गर्ने कार्यलाई सरकारले प्रोत्साहित गर्ने भएको छ भने सन्देशमूलक फिल्म प्रदर्शनीमा लाग्ने करमा सहुलियत दिइनेछ।
यस्तै फिल्म व्यवसायमा लाग्ने मूल्य अभिवृद्धि कर, चलचित्र विकास शुल्क लगायत राजस्व संकलनलाई व्यवस्थित गर्न इ-टिकेटिङसहित बक्सअफिस प्रणाली लागू गर्न नीति पनि सरकारले लिएको छ।
मुद्रण विभाग र सुरक्षण मुद्रण विकास समितिलाई सुरक्षण मुद्रण कम्पनीमा रुपान्तरण गरी सरकारले गुणस्तरीय छपाइ व्यवस्था लगायतका लागि ६५ करोड विनियोजन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।