काठमाडौं- निर्वाचन आयोगले राष्ट्रिय सभा उपनिर्वाचनका उम्मेद्वारलाई चुनाव चिन्ह प्रदान गरेको छ। लुम्बिनी प्रदेशमा यही जेठ १७ गते हुने उपनिर्वाचनका लागि आयोगले आइतबार उम्मेद्वारलाई चुनाव चिन्ह प्रदान गरेको हो।
नेकपा (एमाले)का तर्फबाट उम्मेद्वारी दिएका चन्द्रबहादुर खड्कालाई सूर्य र नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वारी दिएका दृगनारायण पाण्डेलाई रुख चिन्ह प्रदान गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताएका छन्।
लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रिय सभा सदस्यमा रिक्त एक पदका लागि उपनिर्वाचन हुँदैछ। माओवादीका तर्फबाट निर्वाचित चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि उनलाई माओवादीले कारबाही गरेको थियो। माओवादीकाे कारबाहीसँगै उनको सांसद पद समेत गुमेको थियो।
साेही स्थानमा हुने उपनिर्वाचनमा एमालेले खड्कालाई नै उम्मेद्वार नै बनाएको छ। हालै एमाले त्यागेका अर्का उम्मेद्वार पाण्डे भने कांग्रेस प्रवेश गरेर उम्मेद्वार भएका छन्।
उनलाई नेकपा (माओवादी) केन्द्र र जसपाको समेत सहयोग रहेकाे छ। गत ७ गते बागमती प्रदेशमा भएको उपनिर्वाचनमा विपक्षी गठबन्धनका उम्मेद्वार खिमलाल देवकोटा निर्वाचित भएका थिए। उनले एमालेका उम्मेद्वार रामबहादुर थापा 'बादल'लाई पराजित गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।