काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त सरकार बनाएर चुनावमा जान प्रस्ताव गरेका छन्। आइतबार बालुवाटारमा आयोजित एमाले निकटका पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा उनले दलहरुको हैसियत र प्रतिनिधि सभामा रहेको सदस्य संख्याका आधारमा मन्त्रीहरुको संख्या निर्धारण गर्न सकिने बताए।
‘संविधानले प्रधानमन्त्रीदेखि सहायक मन्त्रीसम्म गरेर २५ भन्दा बढी बनाउन नपाउने भनेको छ। दलहरुको हैसियत अनुसार, प्रतिनिधि सभामा सदस्य संख्या अनुसार बाँडेर राष्ट्रिय र चुनावी सरकार बनाउन सकिन्छ’, उनले भने, ‘संविधानसम्मत ढंगले संयुक्त राष्ट्रिय सरकार बनाऔं र चुनाव सम्पन्न गरौं।’
उनले अहिले आफैंले जिम्मेवारी सम्हालेको सात मन्त्रालय लामो समय नजाने बताए। ‘मन्त्रिपरिषद्मा अहिले सात सिट मैले नै थपेर लिएको अवस्था छ। त्यो अवस्था निरन्तर कायम रहन सक्दैन। त्यसमा हेरफेर हुन्छ’, उनले भने।
उनले म प्रधानमन्त्री भए मात्रै चुनावमा भाग लिन्छु भन्नेहरुलाई प्रधानमन्त्री कसरी बन्छ भनेर संविधान हेर्न आग्रह गरे। उनले आफू असंवैधानिक बाटो हिँड्न नसक्ने बताए।
‘असंवैधानिक बाटो हामी हिँड्न सक्दैनौं कमसे कम। लोकतान्त्रिक शक्ति भएको हुनाले। संविधानको बाटोबाट चल्नुपर्छ। संविधान सर्वोपरी छ भन्ने मान्यता राख्ने भएको कारणले। असंवैधानिक बाटो हिँड्ने कुरामा कुनै सम्झौता गर्न सकिँदैन। अथवा त्यस्ता प्रवृत्तिसँग झुक्न पनि सकिँदैन’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।