काठमाडौं- मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओली साम्राज्यवाद तथा विस्तारवादीको निर्देशनमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लगायत परिवर्तन मुद्दा मास्न लागेको आरोप लगाएकाे छ।
अखिल क्रन्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले आइतबार विज्ञप्ति जारी गर्दै परिवर्तनका मुद्दा समाप्त पार्न प्रतिनिधि सभा विघटन गरेर चुनाव घोषणा गरेको उल्लेख गरेका छन्।
‘मध्यराति केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरी मध्यावधि चुनावको घोषणा गर्ने निर्णय साम्राज्यवाद तथा विस्तारवादको निर्देशनमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालगायत आन्दोलनका आंशिक उपलब्धिहरुलाई समेत समाप्त गरी निरङ्कुशता र फासीवादतर्फ लैजाने कदमु भएको हुँदा हाम्रो संगठन उक्त निर्णयको घोर विरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रियावादी राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्पमा वैज्ञनिक समाजवाद निर्माणमा लाग्न पनि उनले आह्वान गरेका छन्।
यस्तै, कोरोना महामारीमा आईसीयू, भेन्टिलेटर र अक्सिन अभावमा विरामीको ज्यान गइरहेको अवस्थामा झण्डै २ तिहाइ बहुमत प्राप्त प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटनले संविधान र संसदीय व्यवस्था असफल भएको पुष्टी गरेको गजुरेलले बताएका छन्।
‘अहिले कोभिड-१९ को दोस्रो लहरले सिङ्गो मुलुक आक्रान्त बनेको छ। कतिपय बिरामीहरु अस्पताल भर्ना हुनै नपाई छट्पटाइरहेका छन् त कतिपयले आफ्नो ज्यानसमेत गुमाउन विवश छन्। खान नपाएर कतिपय मानिसहरु भोकभोकै मर्नु परिरहेको अवस्था छ। झण्डै दुई तिहाईको मतसहित बनेको सरकार अल्पमतको सरकारमा रुपान्तरण भई अहिलेको अवस्थासम्म आइपुग्दा सरकारको असफलतामात्र नभई वर्तमान संविधान र व्यवस्थासमेतको असफलता हो भन्ने कुरा यी परिघटनाहरुले पुष्टि गरेका छन्,’विज्ञप्तिमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।