काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकारमा उजुरी नलाग्ने बताएका छन्। आइतबार बालुवाटारमा आयोजित एमाले निकटका पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा उनले संविधानको धारा ७६ (५) मा राष्ट्रपतिलाई स्वविवेकीय अधिकार दिइएको बताए।
उनले संविधानको धारा ७६ (५) अनुसार सरकार बनाउन राष्ट्रपतिले समय दिएको तर दाबी सदर हुन नसक्ने अवस्था नदेखेको बताए। ‘राष्ट्रपति आफूले राष्ट्रपतिको अधिकारको प्रयोग संविधानमा अन्यत्र व्यवस्था छैन। तर, यस ठाउँमा राष्ट्रपतिले ठहर गर्ने कुरा हो। राष्ट्रपतिले ठहर गर्नुभयो। र राष्ट्रपतिले ठहर गर्दा नपुगेको देख्नुभयो’, प्रधानमन्त्री ओलीले भने, ‘म कानुनविद् र संविधानविद् मित्रहरुलाई र बहसमा उत्रिएका बौद्धिक समुदायलाई आग्रह गर्न चाहन्छु। राष्ट्रपतिको स्वविवेकीय अधिकारको प्रयोग गर्ने यो मात्रै ठाउँ हो। त्यसमाथि कहीँ उजुरी लाग्न वा त्यसमा कुनै हेरफेर गर्न सकिने स्थिति हुँदैन। कुनै उजुरी लाग्दैन त्यस प्रश्नमा।‘
उनले अहिले राष्ट्रपतिको अधिकार पनि नमान्ने, राष्ट्रपतिको पद र मर्यादा पनि नमान्ने गरिएको भन्दै आलोचना गरे। उनले आजै प्रकाशित एउटा कार्टुनको पनि आलोचना गरे। ‘आज एउटा प्रेत संस्थाको भिमकाय फोटो बनाएर, प्रेत संस्थाको फोटो बनाएर त्यसको खल्तीमा राष्ट्रपतिलाई यसो खल्तीमा राखेको। कति आनन्द आएको होला। लोकतन्त्रका नाउँमा यस प्रकारका घृणित क्रियाकलाप’, उनले भने।
उनले प्रेत संस्थाको विकराल र विशाल फोटो बनाउने र जनताबाट निर्वाचित जनप्रतिनिधित्वको, गणतन्त्रको एउटा प्रतीकको रुपमा रहेको संस्थालाई एउटा प्रेत संस्थाको लगेर सामन्ती संस्थाको लगेर खल्तीमा राख्ने काम भएको भन्दै त्ययसलाई लोकतन्त्रले दिएका स्वतन्त्रताका हकको दुरुपयोग गरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।