काठमाडौं- नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री अवैधानिक भइसकेको अवस्थामा प्रतिनिधि सभा विघटन गरेकाले त्यो स्वतः असंवैधानिक भएको बताएका छन्। आइतबार सिंहदरबारमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफूहरुले त्यस कदमका विरुद्ध राजनीतिक र न्यायिक दुवै लडाइँ लड्ने बताए। त्यसका लागि आवश्यक तयारी भइरहेको उनको भनाइ छ।
‘अहिलेको प्रतिनिधि सभा विघटन भनेको अवैधानिक प्रधानमन्त्रीले गरेको विघटन हो। प्रधानमन्त्री आफैं अवैधानिक हो। अवैधानिक प्रधानमन्त्रीले गरेको विघटन पनि वैधानिक हुन्छ?,’ उनले भने।
प्रधानमन्त्री ओली धारा ७६ (३) अन्तर्गत प्रधानमन्त्री भएको र उनले अब आफूले बहुमत ल्याउन नसक्ने, प्रधानमन्त्री रहिरहन नसक्ने सरकारलाई निरन्तरता दिन नसक्ने, त्यसकारण वैकल्पिक सरकार बनाउनका लागि प्रक्रिया खोलिदिनुस् भनेर राष्ट्रपतिलाई अनुरोध गरेको लेखकले चर्चा गरे।
‘राष्ट्रपतिबाट प्रकाशित भएको विज्ञप्तिमा प्रयोग भएको शब्द हेरिदिनुहोला। त्यहाँ वैकल्पिक शब्द प्रयोग भएको छ। वैकल्पिक भनेको अर्को सरकार हो। ओलीले मैले सरकार चलाउन सक्दिनँ। बहुमत ल्याउन सक्दिनँ। त्यसकारण वैकल्पिक सरकार बनाउनका लागि प्रक्रिया अगाडि बढाइदिनुपर्यो भनेर राष्ट्रपतिलाई अनुरोध गरेपछि प्रक्रिया अघि बढेको हो। वैकल्पिक सरकार बनेको यो भन्दा अर्को सरकार भनेको हो। उहाँ आफैंले वैकल्पिक सरकार माग्ने, अनि म नै प्रधानमन्त्री हुन्छु भनेर जाने, बहुमत पनि नदिने अनि त्यस्तो प्रधानमन्त्रीले निरन्तरता पाएर विघटन गरेको संसद् कानुन र संविधानसम्मत हुन्छ? एक वाक्यमा भन्दा, अहिलेको विघटन भनेको अवैधानिक प्रधानमन्त्रीले गरेको विघटन स्वतः असंवैधानिक हो,’ लेखकले भने।
लेखकले ओलीले प्रधानमन्त्रीमा दाबी गर्दा जम्मा ती जनाको हस्ताक्षर बुझाएको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।