फाइल तस्वीर
काठमाडौं- सरकारले जन्मसिद्ध आधारमा नेपाली नागरिकता प्राप्त गरेकाहरुको सन्तानले वंशजको आधारमा नागरिकता पाउने प्रावधान सहितको अध्यादेश ल्याउने निर्णय गरेको छ। नागरिकतासम्बन्धी व्यवस्थामा संशोधन गरी अध्यादेश जारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले पुष्टि गरेका छन्।
बिहीबार बसेको मन्त्रिपरिषदले गरेको निर्णयपछि सामाजिक सञ्जालमा मन्त्री त्रिपाठीले लेखेका छन्, ‘जन्मसिद्ध नागरिकता प्राप्त नागरिकको सन्तानलाई संविधान अनुकूल नागरिकता दिने अध्यादेश जारी भएकोमा स्वागत गरौं।’
बिहीबारको मन्त्रिपरिषद्ले निर्णय गरे पनि सोसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयबाट जारी भएको छैन। सपथ र कोभिड संकट व्यवस्थापनसम्बन्धी अन्य दुई अध्यादेश जारी भएको सूचना मात्रै प्रकाशित भएको थियो। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर निकट नेता सुरेन्द्र झाले अध्यादेश जारी भएको दाबी गर्दै भने, ‘कानुन मन्त्रालयले तयारी गरेर बिस्तारै बाहिर ल्यउँछ।’
जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्ने अन्तरिम संविधानमा व्यवस्था थियो। वर्तमान संविधानमा निर्माण गर्दा उक्त व्यवस्था हटाइएको थियो। मधेस केन्द्रित दलले नागरिकताको व्यवस्था सम्बन्धी अहिलेको प्रावधानको विरोध गर्दै आएका थिए। नागरिकताको सन्दर्भमा अन्तरिम संविधान, २०६३ सालकै प्रावधान कायम राख्नुपर्ने उनीहरुको जोड थियो।
जसपाको माग सम्बोधन गर्ने गरी प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश ल्याउन तयार भएका हुन्। ‘आमाको नागरिकताको नामबाट पनि वंशजको नागरिकता पाउने व्यवस्था अब भयो। संविधानकै कारण साढे पाँच लाख युवा युवती नागरिकताविहीन थिए। तिनीहरुले नागरिकता प्राप्त गर्ने आधार तयार भएको छ,’ झाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।