करिब दुई वर्षअघि खड्गजीत बरालसँग तीन हप्ताको बीचमा तीनपल्ट टेलिफोनमा कुराकानी भएको थियो। झण्डै सात दशकको इतिहास बोकेको नेपाल प्रहरीमा आजसम्मका महानिरीक्षक (आईजीपी)हरूमध्ये अग्रपंक्तिमा आउँछ बरालको नाम।
एक हिसाबले भन्दा उनी प्रहरीको ज्युँदो इतिहास थिए। उनका बारेमा बनेका ‘किस्सा’ नै यति धेरै थिए कि तिनले त्यो बेलाको पुलिसिङ कस्तो थियो र कसरी चल्थ्यो भन्ने सांगोपांगो तस्बिर देखाउँथे। वृद्धावस्थाका पूर्वप्रहरी अधिकृतदेखि भर्खरै सेवा प्रवेश गरेका युवा पुलिस अफिसर त्यस्ता किस्साबारे भलिभाँती जानकार थिए। तीमध्ये कतिपय त भन्थे पनि- कहाँ बरालसाबको पालाको त्यो पुलिसिङ, कहाँ अहिलेका जागिरे प्रहरी!
त्यो बेलाको पुलिसिङ र ‘बरालसाबका किस्सा’बारे उनकै मुखबाट सुन्ने उत्कट चाहनाले मलाई पटक-पटक टेलिफोन गर्न बाध्य पारेको थियो। तर, तीनपटक नै उनको जवाफ रह्यो, ‘ए भाइ, मलाई अलि सञ्चो छैन, मज्जाले गफ गर्नसक्ने तन्दुरूस्त भएँ भने फोन गरेर खबर गर्छु नि है!’
त्यसपछि केही महिना बरालसँग फोनमा कुरा भएन। बीच-बीचमा बरालका नाति, पुजनसँग टेलिफोनमा कुरा भइरह्यो। तर, स्वास्थ्यमा केही समस्या भएकाले भेट्ने अवसर मिलेन।
त्यहीबीचमा नेपालमा कोरोना भाइरसको महामारी सुरू भयो। त्यो अवस्थामा भेट्न मिल्ने अवस्था थिएन। झन् त्यहीबेला उनी गम्भीर बिरामी परे। दुईवटा जटिल शल्यक्रिया नै गर्नुपर्यो। लगातार पाँच महिना उनको अस्पताल बसाइ भयो। अस्पतालबाट घर फर्केको केही समयपछि मैले फेरि पुजनसँग नियमित सम्पर्क गर्न थालें। उनले भनिरहे, ‘हजुरबुबाको स्वास्थ्य त्यति राम्रो छैन, उहाँ कुरा गर्न सक्ने हुनुभयो भने म तपाईंलाई अवश्य नै खबर गरेर बोलाउँछु।’
यसबीचमा मेरा आफ्नै पारिवारिक र पेसागत खुसीका प्रसंगमा बराल सरको शुभकामना प्राप्त हुनथाल्यो, फेसबुकमा। फेसबुक पुजनले नै ‘ह्याण्डल’ गर्ने भए पनि उनी बरालले भनेअनुसार मात्र त्यसलाई प्रयोग गर्थे। त्यो देखेपछि मलाई लाग्यो- स्वास्थ्य सुधार हुँदै रहेछ, अब भेटेर किस्सा सुन्न पाइने भो।
त्यहीबीचमा कोरोना महामारीको दोस्रो लहर सुरू भयो। भेट्ने अवसर अझै लम्बिँदै गयो। र, बुधबार बिहान अप्रत्यासित खबर आयो- पूर्वआईजीपी खड्गजीत बरालको निधन।
यसकारण ज्युँदा पुलिस
उमेरले ९३ वर्ष पुगिसकेका बराल बुढ्यौलीमा थिए। तर, उनको जोश र जाँगरमा कुनै कमी थिएन। बहालवाला र अवकाशप्राप्त प्रहरी अधिकृतहरू सार्वजनिक धारणा बनाउँदा उनलाई नै कुरेर बस्थे। प्रहरी संगठनमाथि हस्तक्षेप हुँदा पनि ९० कटेका यिनै वयोवृद्ध पूर्वआईजीपीले पहिले मुख खोलिदिनुपर्थ्यो।
जस्तो कि, २०७५ साल कात्तिक २६ गते बरालले आफ्नो फेसबुकमा लेखेः
‘नेपाल प्रहरी तालिम केन्द्र महाराजगञ्जबाट अन्तै सार्ने पत्रिकाको समाचार सत्य र आधिकारिक हो भने म स्तब्ध र दुःखी छु। विगत सात दशकदेखि नेपाल प्रहरीको व्यावसायिक प्रमुख ज्ञान मन्दिर भई हजारौँ हजार प्रहरीलाई जय नेपालको उद्घोषणका साथै मातृभूमि नेपाल तथा समाजसेवाको संकल्प दिलाउने केन्द्रीय संस्था रहिआएकोलाई ‘हलो काटी मुङ्ग्रो’ बनाउने कुसोचले नेपाल प्रहरीको ऐतिहासिक धरोहर र विरासतलाई उखेली फाल्ने निर्णयले म जस्तै पूर्व र बहालवाला हजारौँ हजार प्रहरीको मर्मलाई आघात र आन्दोलित गर्ने समाचार अवश्य पनि संवेदनशील र दुःखदायी छ। सुशासन र समृद्धिको घोषणाको ढोल बजाउँदै आएको वर्तमान सत्ताले यस्तो अदूरदर्शी र हचुवा निर्णय गरेर सुशासनको विपरीत विकराल झल्कोलाई अविलम्ब सच्याउनका लागि पनि सादर सल्लाहका साथ विनम्र अनुरोध गर्दछु।’
प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जमा रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई त्यहाँबाट हटाउने निर्णय गरेपछिको प्रतिक्रिया थियो, यो। राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिप्याड बनाउन प्रहरी प्रशिक्षण प्रतिष्ठानकै उठिबास लगाउने निर्णय भएपछि पूर्वआईजीपी बराल मुखर भएर त्यसको विरोधमा उत्रिएका थिए। त्यसपछि धेरैजसो पूर्वप्रहरी अधिकृतहरूले पनि यसको विरोध गर्न सुरू गरे।
प्रहरी संगठनलाई असर पार्ने कुनै पनि नीति वा निर्णय सार्वजनिक हुँदा होस् वा सुरक्षासम्बन्धी कुनै पनि नयाँ विषय, सबभन्दा पहिले मुखर हुने बराल नै थिए। उनले सामाजिक सञ्जालमा आफ्नो धारणा राखेपछि मात्र अवकाशप्राप्त अरू प्रहरी अधिकृतहरूले त्यसबारे मुख खोल्थे। शारीरिक रूपमा सक्रियता घटे पनि बौद्धिक विमर्शमा उनी उत्तिकै सक्रिय थिए। प्रायः प्रहरी प्रमुखहरू पदबहाली गर्नसाथै उनको आशीर्वाद लिन पुगिहाल्थे।
नेपाल प्रहरीको आधुनिक स्वरूपका आर्किटेक्टरका रूपमा हेरिन्छ उनलाई। प्रहरीमा निष्ठा, कर्तव्यपराणता र व्यावसायिकताको मानक बसाउने काम उनकै कार्यकालमा भएको बहालवाला र पूर्वप्रहरी अधिकृतहरू अहिले पनि सुनाइरहन्छन्। तर, प्रहरीमा व्यावसायिकताको उदाहरण बनेका बराल स्वयं भने राजनीतिक पृष्ठभूमिबाट आएका थिए।
नेपाली कांग्रेसको नेतृत्वमा २००७ सालमा राणा शासनविरुद्ध भएको सशस्त्र क्रान्तिमा लागेका युवा हुन्, बराल। ७ अप्रिल १९२८ मा रूपन्देहीमा जन्मेका बरालले बुबा बहादुरसिंह भारतीय फौजमा भएका कारण भारतको देहरादूनबाट विद्यालय शिक्षा र पटना विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका थिए। नेपाली कांग्रेसले सशस्त्र संघर्षका लागि हातहतियार, गोलाबारुद र अनुभवी जनशक्ति ल्याउने जिम्मा उनलाई नै दिइएको थियो। त्यसबेला भैरहवा मोर्चामा खटिएका उनी भारतमा जहाँ-जहाँ गोर्खाली फौजका क्याम्प र गोर्खाली बस्तीहरू थिए, त्यहीँ-त्यहीँ पुग्थे। बराल कांग्रेसको मुक्ति सेनामा आबद्ध थिए।
भैरहवा जेलबाट छुट्दा उनलाई लिन बुबा आइपुगेका थिए। छुट्दा-छुट्दै बुबाले उनको गालामा चड्कन लगाएको बराल स्वयंले बताएका थिए।
आफ्नो सामर्थ्यअनुसार भैरहवा केन्द्रित पार्टीको मोर्चामा ती सामग्रीहरू पुर्याउँथे। आन्दोलन चर्किंदै गएका बेला भारतमा कांग्रेस, राजा र राणाबीच त्रिपक्षीय सम्झौता भयो। त्यो सम्झौता अनुसार राणाशासन अन्त्य भएको र प्रजातन्त्र स्थापना भएको घोषणा गरियो। तर, मन्त्रिमण्डलमा राणा प्रधानमन्त्री बन्ने र कांग्रेस तथा राणाको आधा-आधा हिस्सेदारी हुने सहमति भएपछि आन्दोलनमा सहभागी कांग्रेसभित्रको एउटा समूहले विद्रोह गर्यो। ‘क्रान्तिमा धोका भएको’ त्यो समूहको दाबी थियो। त्यसबेला पश्चिमतिरको कमाण्ड डा. केआई सिंहले गरेका थिए। बराल त्यही विद्रोह गर्ने समूहमा जोडिए।
भैरहवा मोर्चामा रहेकाहरू २००७ साल फागुन ७ गते राति ११ बजे निर्णय गरेर त्यसविरुद्ध औपचारिक रूपमै विद्रोहमा उत्रिएका थिए। फागुन ९ गते भारतीय फौजले उनीहरूमाथि गोलाबारुद र मोर्टार हमला गर्यो। एक-डेढ घण्टासम्म आक्रमण गरिरह्यो। विद्रोह गर्ने समूहका नौ-दश जना मारिए। अरूलाई आत्मसमर्पण गर्न बाध्य पारियो। आत्मसमर्पण गरेपछि पनि उनीहरूलाई हातगोडा बाँधेर दुई रातसम्म खेतमा सुताइएको थियो। पछि राणाको फौज पुगेपछि त्यसकै जिम्मा लगाएर उनीहरूलाई भैरहवा जेलमा ल्याई राखिएको थियो। तीन-साढे तीन महिना त्यसरी राखेपछि विद्यार्थीलाई छाड्ने आदेश गयो। उनी विद्यार्थी नै थिए। त्यही भएर ४०-४५ जना विद्यार्थीलाई छाड्दा उनी पनि छुटे। पछि अरू सबै रिहा भए।
भैरहवा जेलबाट छुट्दा उनलाई लिन बुबा आइपुगेका थिए। छुट्दा-छुट्दै बुबाले उनको गालामा चड्कन लगाएको बराल स्वयंले बताएका थिए।
कांग्रेसको सशस्त्र क्रान्तिमा लाग्नुअघि बराल हिन्दुस्तानमा अंग्रेजविरुद्धको ‘भारत छोडो’ आन्दोलनका क्रममा पनि पक्राउ परेका थिए। त्यसबेला भारतको गोरखपुरमा पढ्ने उनीसँग चारजना नेपाली विद्यार्थी थिए। ‘आजाद हिन्द फौज’का दुईजना गोर्खाली कमान्डर दुर्गा मल्ल र दलबहादुर थापा मगरलाई पक्राउ गरेपछि भारतीयहरूले जुलुस निकाल्थे। ‘उनीहरू देशभक्त हुन्, जेलमा नहाल’ भनेर निस्कने जुलुसमा बराल पनि सहभागी हुन्थे। त्यसक्रममा पक्राउ परेका उनी करिब डेढ महिना थुनिएपछि साथीहरूसँगै छुटेका थिए। तर, मल्ल र थापामगरलाई मृत्युदण्ड दिइएको थियो।
२००७ सालको आन्दोलन सफल भएर प्रजातन्त्र स्थापना भएपछि भने बराल राजनीतिमा निष्क्रिय भए।
प्रहरी जीवनमा इन्ट्री, १४ वर्षमै आईजीपी
२००७ सालको क्रान्तिपछि सशस्त्र संघर्षमा लागेका मुक्ति सेनाका सदस्यहरूलाई समेटेर रक्षा दल हुँदै नेपाल पुलिस फोर्स गठन गरिएको थियो। तर, बराल जेलबाट छुटेपछि के गर्ने भन्ने अन्योलमा थिए। भारतीय फौजमा कप्तान रहेका बुबाले भने उनलाई नेपालमा बस्न दिएनन्। पढाइ अघि बढाउने भन्दै फेरि भारतमै लिएर गए। ‘तँ आफ्नो देशमा जति हुनुपर्ने भइहालिस्, मेरो पनि जागिर धेरै लामो छैन। तेरो भविष्य छ, शिक्षा पूरा गर्नुपर्छ’ भनेर बुबाले उनलाई लिएर गएका थिए।
बराल घरको कान्छो छोरा थिए। शिक्षा पूरा गर्नुपर्छ भन्ने बुबा, जेठो र माइलो दाजुको जोडले गर्दा पनि उनले नाइँनास्ति गरेनन्। २०१२ सालमा स्नातकोत्तर गरेपछि उनी जागिर गर्ने सुरले डुल्दै काठमाडौं आइपुगे। त्यसबेला प्रहरी (इन्स्पेक्टर) मा भर्ती खुलेको थियो। उनी लोकसेवाको जाँच दिएर प्रहरीमा छनोट भए।
‘फ्रि कम्पिटिसन’मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा नाम निकालेर प्रहरी सेवामा प्रवेश गर्ने पहिलो व्याचका सदस्य थिए, बराल।
प्रहरीमा नाम निस्किएको खबर उनले बुबालाई सुनाए।
तर, बुबालाई उनको त्यो निर्णय चित्त बुझेन। बुबाले त्यसबेला भनेका थिए- ‘तैँले राम्ररी सोच्नुपर्छ। किनकि तेरो जुन अतीत रह्यो, तेरो जुन बानी र भावना छ, त्यसले गर्दा प्रहरी सेवाभन्दा अरू नै सेवा खोज्नुपर्छ।’
तर, उनी त्यही सेवामा सबभन्दा छोटो अवधिमै र सबभन्दा कम उमेरमै संगठन प्रमुख बन्न पाए। संयोग कस्तो भने उनी प्रहरी सेवामा प्रवेश गरेको १५ वर्षमै संगठनको नेतृत्वमा पुगे। आईजीपी बन्दा उनको उमेर ४४ वर्ष थियो।
१५ वर्षमै आईजीपी बनेका ‘भाग्यमानी प्रहरी’ बरालको यो कथा पनि रोचक छ। त्यसबेला प्रहरी महानिरीक्षकको कार्यकाल चार वर्षको हुन्थ्यो। सेवा प्रवेश गरेको १८ वर्षमा अवकाश पाउँदा उनले पेन्सन पाउँदैनथे। त्यही भएर सुरूका दुई वर्ष उनलाई कायममुकायम प्रहरी महानिरीक्षक बनाइयो। त्यसपछि मात्र ‘कन्फर्म आईजीपी’ नियुक्त गरियो। यसरी अवकाश हुँदा पनि उनको सेवाअवधि २० वर्ष पूरा हुन केही महिना बाँकी नै थियो। त्यही कारण विशेष निर्णय गरेर उनले पेन्सन पाउने निर्णय गरिएको थियो।
२०१४ सालमा नेपाल प्रहरीको पहिलो कमिसन अफिसरका रूपमा इन्स्पेक्टरबाट प्रहरी सेवा प्रवेश गरेका बराल २०२८ सालमा कायममुकायम आईजीपी भएका थिए। दुई वर्षपछि कन्फर्म आईजीपी भएका उनी २०३५ साल जेठमा सेवानिवृत्त भए।
पूर्वप्रहरी अधिकृतहरू नेपाल प्रहरी बरालकै पालादेखि इन्स्टिच्युसन बनेको बताउँछन्। रासन, पोसाक लगायतका धेरै कुरामा त्यही बेलादेखि प्रहरीमा सिस्टम बस्यो।
त्यसबेला सेनामा सहायक सेनानी (सेकेन्ड लेफ्टिनेन्ट) र प्रहरीमा सहायक निरीक्षक (असई) हुन एसएलसी उत्तीर्ण हुनुपर्ने योग्यता थियो। कायममुकायम आईजीपी हुनसाथै उनले असई हुन प्रमाणपत्र तह उत्तीर्ण हुनुपर्ने नियम बनाए। एसपीबाट रिटायर्ड भएका शेरबहादुर कार्की प्रमाणपत्र तहको योग्यता लागू भएपछि भर्ना भएका पहिलो व्याचका असई थिए। ‘त्यसबेला आवेदन दिएका ७८ जनामध्ये १० जनामात्र उत्तीर्ण भएका थियौं, हामी प्रायः आईएस्सी र बीएस्सी उत्तीर्ण गरेका मात्र थियौं,’ पूर्वएसपी कार्की सम्झन्छन्, ‘आईजीसाबलाई हक्की खुबै खेल्नुपर्थ्यो, महाराजगञ्जस्थित तालिम केन्द्रमा हामी सबैले उहाँसँग हक्की खेल्नुपर्थ्यो।’
हक्कीमा रूचि भएजस्तै बरालको स्वभाव पनि हक्की नै थियो। उनी त्यसबेला राजासँग पनि सीधा-सीधा कुरा गर्थे। उनको यस्तो स्वभावकै कारण प्रहरीमा सिस्टम बसाउन सफल भए। त्यसबेला प्रहरीभित्र सशस्त्र एकाइ र व्यारेक सिस्टममा रहने तालिम केन्द्रहरू (गण, गुल्म र तालिम केन्द्र) मा कार्यरत प्रहरीलाई मात्र रासन दिइन्थ्यो। बरालले दरबारलाई समेत ‘कन्भिन्स’ गराएर नियम संशोधन गराए र सबै प्रहरीले रासन पाउने नियम लागू गराए।
बरालले आफू आईजीपी रहेकै बेला नेपाल प्रहरीमा ‘नेपाल पुलिस माउन्टेनरिङ एन्ड एड्भेन्चर फाउन्डेसन’ स्थापना गरे। यो फाउन्डेसन स्थापना गर्नुको कारण, त्यसबेला खम्पा विद्रोह भएको थियो। खम्पा विद्रोहको सूचना प्रहरीले समयमै पाउन र समयमै त्यहाँ पुग्न सकेको थिएन। प्रहरीलाई हिमाली वातावरणमा भिज्नसक्ने बनाउनु अपरिहार्य भएको निक्र्योलसहित उनले यो निर्णय गरेका थिए।
२०३१ सालमा राजाको जन्मोत्सवको अवसर पारेर उनले सबै प्रहरीले लुगालत्ता नियमित पाउने नियम पनि लागू गरे। प्रहरीहरू पहिले पाटी, पौवा, सार्वजनिक भवन वा भाडाका घरमा बस्थे। बरालले त्यही सालदेखि पा्रहरीको आफ्नो भवन बनाउने काम सुरू गरे।
उनी आफ्नै कार्यकालमा प्रहरी अस्पताल पनि बनाउन चाहन्थे। त्यसका लागि दुई लाख रूपैयाँ बजेट छुट्याएका पनि थिए। तर, समयले साथ दिएन। उनले आफूपछिका आईजीपी दुर्लभकुमार थापालाई बुझबुझारथ गर्नेबेलामा यो जिम्मेवारी छाडेर गएका थिए। पछि थापाले नै प्रहरी अस्पताल बनाए। पूर्वएसपी कार्की सम्झन्छन्, ‘त्यसबेला प्रहरी पनि आर्मी अस्पतालमै जानुपर्थ्यो, आर्मीले हामीलाई निकै हेप्थे।’
अवकाशप्राप्त जीवनमा पुराना कुरा स्मरण गर्ने क्रममा बराल आफूसँग जस्तो बुद्धि, जाँगर र इमान थियो, त्यो लगाएर काम गरेको बताउने गर्थे। त्यसमा पनि सबैभन्दा ठूलो कुरा इमान हो भनिरहन्थे। आफूभन्दा पछिको पुस्तालाई उनी सधैँ भन्ने गर्थे- ‘इमान ठीक भयो र व्यावसायिक दक्षता भयो भने सफलता पाइने रहेछ।’
त्यसबेलाको पुलिसिङ बुझाउने ‘बरालसाबका किस्सा’
नेपाल प्रहरीमा अहिले पनि एउटा भनाइ खुबै चर्चित छ- ‘बरालसाबले जसलाई गाली गरे वा थप्पड हाने, उसको फलिफाप भयो।’
हुन पनि प्रहरीभित्र उनको परिचय अहिले पनि आफूमातहतका प्रहरीलाई गाली गर्ने, हपार्ने, उस्तै परे पिट्ने प्रहरी अधिकृतका रूपमा स्थापित छ। तर, उनी जसलाई गाली गर्थे, थप्पड हान्थे, लगत्तै राम्रो तालिम वा अवसरमा पठाइदिन्थे। गाली तिनैलाई गर्थे, जसमा उनी केही सम्भावना देख्थे। पूर्वएसपी कार्कीसँग त्यसका रोचक सम्झना छन्।
नराम्रो गर्दा तथानाम गाली पनि गर्ने, राम्रो गर्दा निर्धक्क ताली पनि बजाउने बेजोडको स्वभाव बरालसाबमा थियो।
‘असईको तालिमबाट पासआउट भएपछि म त्रिपुरेश्वर गुल्ममा थिएँ, डल्लु थानाको भवन ढलान हुँदै गरेकाले त्यहाँ काम गर्न गएको थिएँ, भर्खर असई बनेको केटो, अलिकता शान पनि भइहाल्छ। म पाइन्ट लगाएरै काम गर्दै थिएँ, एक्कासि बरालसाब आउनुभो र भन्नुभो- त्यो पाइन्ट लगाउने को हो?,’ कार्की सम्झन्छन्, ‘उहाँले पाइन्ट खोल भन्नुभो, भित्र लामो कट्टु लगाएकै थिएँ, मैले पाइन्ट खोलिदिएँ र खुरूखुरू काम गरिरहें। त्यसपछि उहाँले पीएलाई मेरो नामथर वतन टिप्न लगाउनुभो। भर्खरभर्खर प्रहरीमा भर्ना भएको, आईजीसाबले जागिर नै खाइदिनुहुनेभो भन्ने लाग्यो। तर, पाँच-छ दिनपछि मैले कामु सईमा बढुवा भएको खबर पाएँ।’
त्यसको केही समयमै बरालले उनलाई सेनामा इन्फेन्ट्रीले मात्र गर्न पाउने ‘फिल्ड इन्जिनियर्स’को तालिमका लागि भारत पठाए। पछि उनलाई फोटोग्राफी तालिमका लागि पनि भारत पठाए। त्यही तालिम लिएकै कारण कार्की प्रहरीमा नामी फोटोग्राफरका रूपमा स्थापित भए।
एकपल्ट प्रहरी प्रधान कार्यालयमा बेलुकी साढे पाँच बजिसकेको थियो। कार्यालयमा काम गर्ने प्रहरी प्रायः ५ बजेपछि घरतिर लागिहाल्छन्। एक्कासि रोलकलको सिठी बज्यो। त्यहाँ रहेका प्रहरी जवानहरू महानिरीक्षकको सचिवालय बाहिर भेला भए। जे जति प्रहरी जवान त्यहाँ थिए, बरालले सबैलाई हवल्दारमा बढुवा गर्न आदेश दिए। जो घर गइसकेका थिए, उनीहरू प्रहरी जवान नै रहे। अर्थात् ओभरटाइम काम गर्नेलाई यसरी पुरस्कृत गर्ने उनको स्वभाव थियो।
पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी भन्छन्, ‘नराम्रो गर्दा तथानाम गाली पनि गर्ने, राम्रो गर्दा निर्धक्क ताली पनि बजाउने बेजोडको स्वभाव बरालसाबमा थियो।’
एकपल्ट उनले भारतीय प्रहरीका जवानलाई समेत हवल्दार बनाइदिएका थिए। दार्चुलाको भ्रमणमा गएका बराल दार्चुलाको झुलाघाट पुगेका थिए। त्यसबेला भारततर्फबाट मात्र दार्चुला पुग्न सकिन्थ्यो। भारततर्फको भूभागमा चारजना भारतीय प्रहरीका जवान तैनाथ थिए। नेपालका आईजीपी त्यसरी आइपुगेपछि उनीहरूले राम्रो खातिरदारी गरे, पूरै सम्मानका साथ। त्यो देखेर बरालले उनीहरूमध्येका एकजनालाई भनिदिए- ‘अबदेखि तँ हवल्दार भइस्!’
नेपाल प्रहरीमा बरालले बोलेपछि त्यो स्वतः लागू हुने निर्णयसरह हुन्थ्यो। तर, यो त भारतको कुरा थियो। भारतमा बोलेकै भरमा कसैको बढुवा हुँदैनथ्यो, त्यस्तो सिस्टम पनि थिएन। दार्चुलाबाट फर्कंदा भारतको पिथौरागढ भएर आउनुपर्थ्यो। पिथौरागढमा बस्ने प्रहरीका कमाण्डरले उनलाई अनुरोध गरे, ‘हाम्रोमा त यसरी हवल्दार बनाउन मिल्दैन हजुर।’ बरालले त्यसबेला उनलाई भनेको उल्लेख गर्दै एक पूर्वआईजीपीले भने, ‘मैले बढुवा दिइहालें, आईजीपीले आदेश नै दिइसकेपछि अब मिलाउने काम तिम्रो।’ अन्ततः बरालको मान राख्नलाई पनि ती जवानलाई हवल्दार बनाइएको थियो।
त्यसबेला बरालसँग काम गरेका पूर्वप्रहरी अधिकृतहरू उनले जहाँ गयो, त्यहीँ बढुवाको निर्णय गरिदिने गरेको सम्झन्छन्। ‘उहाँले आदेश दिएपछि पुग्यो, उहाँलाई लागेपछि निर्णय सुनाइहाल्नुहुन्थ्यो,’ एक पूर्वप्रहरी अधिकृत भन्छन्, ‘उहाँले त हुकुम दिएझैं निर्णय सुनाइदिए पुगिहाल्थ्यो। त्यसलाई प्रशासनिक रूपमा मिलाउन निकै गाह्रो पर्थ्यो।’
कतिसम्म भने, शेरबहादुर कार्की असई हुँदा रामप्रसाद ढुंगाना प्रहरी जवान थिए। कार्की सई हुँदासम्म पनि उनी जवान नै थिए। तर, ढुंगाना हाकिम रिझाउन खप्पिस थिए। एकपल्ट उनले त्यसैगरी बराललाई पनि रिझाएछन्। उनी बराललाई भेटिरहन्थे र भन्थे- ‘पशुपति दर्शन गर्न किन जानु, हाम्रो लागि पशुपति पनि हजुर, देवीदेउता पनि हजुर नै!’
भइदियो के भने बरालकै आदेशमा उनी छिट्टै सई बने। पछि एसपीमा त उनी कार्कीभन्दा पनि सिनियर बन्न पुगे।
यस्ता अनेकन् किस्सा छन्। त्यसलाई संकलन गर्ने हो भने किताब नै तयार हुने पूर्वप्रहरी अधिकृतहरू सुनाउँछन्।
उनको यस्तो दबदबा प्रहरीमा मात्र थिएन, बाहिर पनि थियो।
त्यसबेला मन्त्रिपरिषद् र राष्ट्रिय पञ्चायतका बीचमा नियमितजसो च्यारिटी फुटबल आयोजना हुन्थ्यो। सर्वोच्च अदालतका प्रधानन्यायाधीश रेफ्रीको भूमिकामा हुन्थे, प्रधानसेनापति र प्रहरी महानिरीक्षकलाई लाइन्सम्यान बनाइन्थ्यो। तर, बरालले रेफ्री (प्रधानन्यायाधीश) र अर्का लाइन्सम्यान (प्रधानसेनापति) लाई पनि ‘यसो गर्नुस्,’ ‘उसो गर्नुस्’ भनेर सीधै अह्राउँथे। एक पूर्वएआईजी भन्छन्, ‘उहाँले भनेपछि प्रधानन्यायाधीश र प्रधानसेनापतिले पनि नाइँ भन्न नसक्ने अवस्था हुन्थ्यो।’
राष्ट्रसंघमा जागिरदेखि वर्माको राजदूतसम्म
‘१९७८ जुलाइमा म प्रहरी महानिरीक्षक (आईजीपी)को कार्यकाल सकेर फुर्सदिलो भएको थिएँ। त्यही मौका पारेर दक्षिण भारतको पुन्डुचेरीमा पढिरहेको जेठो छोरो रञ्जितलाई भेट्न पनि हुन्छ, तीर्थाटन पनि हुन्छ भनेर हामी बूढाबूढी त्यसतर्फ गएका थियौँ। घुम्दै थियौँ, दरबारबाट फोन आएको छ भनेर घरबाट कान्छो छोराले खबर गर्यो। मलाई राजदूतमा नियुक्ति गरिएको हुनाले तुरून्त सम्पर्क गर्नू भनिएको रहेछ।’
बरालले एकपल्ट आफ्नो लेखमा यस्तो लेखेका थिए। प्रहरी सेवाबाट निवृत्त भएको केही समयपछि उनी वर्माको राजदूत बने। सन् १९८० देखि १९८५ सम्म वर्मा (हाल म्यानमार)का लागि आवासीय राजदूत हुँदा उनले इन्डोनेसिया, लाओस, कम्बोडिया र भियतनामका लागि गैरआवासीय नेपाली राजदूतका रूपमासमेत काम गरेका थिए।
संयुक्त राष्ट्रसंघको सम्पर्क अधिकृतका रूपमा उनले कम्बोडियामा पनि काम गरे। राजदूत कसरी बनेको भन्ने प्रसंगमा उनी सुनाउने गर्थे, ‘त्यो पनि चमत्कार, प्रकृति र भाग्यको कुराजस्तो लाग्छ।’
राजदूत र राष्ट्रसंघको जागिरपछि उनी ‘भिजिटिङ लेक्चरर’का रूपमा जापानमा पढाउन पनि गए। पूर्वडीआईजी ठकुरी हक्की प्रहरी अधिकृत भए पनि बरालमा बेजोड बौद्धिकतासमेत रहेको बताउँछन्। ‘अंग्रेजी, हिन्दी, उर्दू भाषामा उहाँको कमाण्ड थियो, दुनियाको इतिहासबारे राम्रो ज्ञान थियो,’ ठकुरी भन्छन्, ‘तर, इन्टेलेक्चुअल भएर मात्र प्रहरी चल्दैनथ्यो, त्यसबेला प्रहरी चल्ने डन्डाले नै थियो। त्यही भएर उहाँले त्यस्तै शैली अबलम्बन गर्नुभो।’
हुन पनि समग्रमा प्रहरी चल्ने अनुशासनमै हो। त्यसबेला पूर्वप्रहरी अधिकृतहरूप्रति समेत बेग्लै सम्मान हुन्थ्यो। एकै दर्जामा पनि सिनियर र जुनियरबीच बेग्लै अदब र कदर हुन्थ्यो। ठकुरी भन्छन्, ‘अहिले त्यही नहुँदा प्रहरीमा विकृति र अनुशासनहीनता चुलिएको छ।’
ठकुरीको बुझाइमा बराललाई सिंगो प्रहरी संगठले अभिभावक मानेको थियो। हरेक प्रहरी उनलाई अभिभावक ठान्थे। ‘त्यही भएर त रिटायर्ड भइसकेको वर्षौंपछि कसैलाई गाली गर्ने हैसियत उहाँमा मात्र थियो, तैंले गलत गरिरहेको छस् भनेर गाली गर्ने, राम्रो गरेको छस् भनेर ताली पनि बजाउन सक्ने स्वभाव उहाँको मात्र थियो,’ उनी भन्छन्, ‘बरालसाब नेपाल प्रहरीको इतिहास हुनुहुन्थ्यो, पुरानादेखि नयाँ सबै कुरा उहाँसँग थिए। उहाँको त्यो अभाव सधैँ खट्किइरहनेछ।’
(तस्बिरहरु: पूर्वआईजीपी बरालको फेसबुक पेजबाट साभार।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।