काठमाडौं– जेठ १७ गते लुम्बिनी प्रदेशमा हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा सत्तारुढ दल, नेकपा एमालेका उम्मेदवारले हार ब्यहोर्ने लगभग निश्चित देखिएको छ।
एमालेले अर्घाखाँचीका चन्द्रबहादुर खड्कालाई राष्ट्रिय सभा उपनिर्वाचनको उम्मेदवार बनाएको छ। राष्ट्रिय सभा सदस्य रहेका उनी एमालेतिर लागेपछि माओवादी केन्द्रले कारबाही गरेसँगै पदमुक्त भएका थिए। एमालेले पुनः राष्ट्रिय सभा सदस्य बनाउन खड्कालाई उम्मेदवार बनाएको छ।
खड्काका प्रतिस्पर्धी छन् दृग नारायण पाण्डे। उनी पनि दल त्याग गरेर राष्ट्रिय सभाका उम्मेदवार बनेका हुन्। कपिलवस्तुका पाण्डेले वैशाख १९ मा लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएका थिए। एमाले परित्याग गरी उनी कांग्रेसमा प्रवेश गरेका छन्। दल अदलबदल गरी राष्ट्रिय सभा सदस्यको प्रत्यासी बनेका यी दुई उम्मेदवारमा पाण्डे हाबी हुने देखिएको छ।
एमालेका खड्कालाई सत्तारुढ दल र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुखले मत दिनेछन्। अर्कोतर्फ, विपक्षी गठबन्धनका पाण्डेलाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र जनमोर्चाको मत प्राप्त हुनेछ।
स्थानीय तह नै निर्णायक
लुम्बिनीका १२ जिल्लामा १०९ स्थानीय तह छन्। स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष उपनिर्वाचनमा मतदाता हुनेछन्। त्यसअनुसार स्थानीय तहबाट २१८ जनाले मत दिनेछन्। ८७ सदस्यीय प्रदेश सभाबाट ८३ जनाले मत दिनेछन्। स्थानीय तहका र प्रदेश गरी कुल मतदाता संख्या ३०१ पुग्दछ। प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उप्रमुखको मतभार १८ हुुन्छ। स्थानीय तहमा कुल मतभार तीन हजार ९२४ छ। प्रदेश सभामा कायम सांसदका आधारमा तीन हजार ९८४ मतभार छ।
स्थानीय तहमा विपक्षी गठबन्धनका उम्मेदवार पाण्डेलाई बढी मत आउने देखिएको छ। स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष विपक्षी गठवन्धनका बढी छन्। लुम्बिनीका स्थानीय तहमा कांग्रेसले ११ नगरपालिकामा मेयर जितेको छ भने उपमेयर १० स्थानमा जितेको छ। गाँउपालिकामा अध्यक्ष २७ स्थानमा जितेको छ भने उपाध्यक्षमा ३० स्थानमा जितेको छ। त्यस अनुसार कांग्रेसका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष गरी ६४ मतदाता छन्।
तत्कालीन मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)ले स्थानीय तहका दुई स्थानमा अध्यक्ष पदमा जित निकालेको थियो। उक्त दल कांग्रेसमा विलय भएकाले ती दुई अध्यक्षको मत पनि विपक्षी गठबन्धनमा जोडिएको छ।
लुम्बिनीमा माओवादी केन्द्रले स्थानीय तहमध्ये नगरपालिकामा ६ स्थानमा प्रमुख र ८ स्थानमा उपप्रमुख तथा गाउँपालिकामा १३ स्थानमा अध्यक्ष र १४ स्थानमा उपाध्यक्ष जितेको थियो। माओवादी केन्द्रसँग स्थानीय तहमा कुल ४१ मतदाता छन्।
तत्कालीन संघीय समाजवादी पार्टीको तर्फबाट लुम्बिनीमा उपप्रमुख १, अध्यक्ष ६, उपाध्यक्ष ४ गरी ११ जना विजयी भएका थिए। तत्कालीन संघीय समाजवादी पार्टी हालको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा भएकाले ११ जनाको मत पनि पाण्डेको पक्षमा खस्ने सम्भावना निश्चित जस्तै छ। तत्कालीन नयाँ शक्तिले एक स्थानमा उपाध्यक्ष पदमा जितेको थियो। उक्त दल समाजवादी हुँदै जसपासँग एकिकरण गरेकाले उसको मत पनि विपक्षी गठबन्धनमै पर्नेछ।
राष्ट्रिय जनमोर्चाले स्थानीय तहमा अध्यक्ष २ र उपाध्यक्ष २ स्थानमा जितेको छ। जनमोर्चाले विपक्षी दलहरुसँगै गठबन्धन बनाएकाले उक्त दलका स्थानीय तहका ४ जनाको मत पनि पाण्डेलाई जानेछ।
यसरी कांग्रेसका ६६, माओवादी केन्द्रका ४१, जसपाका १२ र जनमोर्चाका ४ गरी स्थानीय तहमा विपक्षी गठबन्धनको १२३ मत छ। विपक्षी गठबन्धनले साझा उम्मेदवार बनाएका पाण्डेलाई १२३ जना सबैको मत खस्ने सम्भावना छ। स्थानीय तहको मतको आधारमा पाण्डेले दुई हजार २१४ मत प्राप्त गर्नेछन्।
स्थानीय तहमा लुम्बिनीमा एमालेका ९० जना प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष छन्। प्रमुख १६, उपप्रमुख १७, अध्यक्ष २७ र उपाध्यक्ष ३० जना एमालेबाट विजयी भएका थिए। राप्रपाले प्रमुख १ र उपाध्यक्ष १ स्थानमा जितेको छ। त्यसअनुसार एमालेका उम्मेदवार खड्काको पक्षमा स्थानीय तहका मतदाता ९२ जना हुनेछन्। स्थानीय तहबाट खड्कालाई एक हजार ६५६ प्राप्त हुनसक्छ।
लुम्बिनीको स्थानीय तहमा स्वतन्त्र २ जनाले प्रमुख र एक जनाले अध्यक्षमा जित निकालेका थिए। स्वतन्त्र रुपमा विजयी भएकाहरुको मत कता खस्छ, एकिन छैन।
यसरी हेर्दा चार दलको साझा उम्मेदवार पाण्डेका पक्षमा स्थानीय तहबाट प्राप्त हुने मत दुई हजार २१४ छ। उनका प्रतिस्पर्धी एमाले उम्मेदवार खड्काको पक्षमा एक हजार ६५६ मत छ। यो गणितअनुसार पाण्डे ५५८ मतले स्थानीय तहमा अघि हुने देखिन्छ। राष्ट्रिय सभा उपनिर्वाचनमा पाण्डे विजयी हुन स्थानीय तहका मतदाता नै निर्णायक हुने देखिन्छ।
प्रदेश सभाको गणित
प्रदेश सभामा एमालेको पक्षमा ४२ सांसद देखिएका छन्। विपक्षी गठबन्धनतर्फ सभामुखसहित ४१ जना छन्। त्यसअनुसार ८३ जनाको मत राष्ट्रिय सभाका उम्मेदवारलाई खस्छ। मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा देखिएका सबै सांसदले खड्कालाई मत दिए भने उनलाई दुई हजार १६ मत प्राप्त हुन्छ। अर्कोतर्फ पाण्डेलाई ४१ जनाको मत खस्दा उनले एक हजार ९६८ मत प्राप्त गर्छन्। प्रदेश सभामा पाण्डेले प्रतिस्पर्धी खड्काभन्दा ४८ मत कम पाउने देखिन्छ।
स्थानीय तहमा ५५८ मतले अघि रहेका पाण्डेलाई प्रदेश सभामा ४८ मत कम भएपनि उनले जित निकाल्छन्। हालको अवस्था हेर्दा पाण्डेले ५१० मतसहित जित हात पार्ने देखिन्छ। स्वतन्त्र मतदाता तीन जनाको मत एमालेका खड्कालाई प्राप्त भए पनि उनले जित निकाल्न सक्ने छैनन्।
खड्कालाई माओवादी केन्द्रले हटाएपछि रिक्त रहेको राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनीमा जेठ १७ गते उपनिर्वाचन हुन लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।