काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसँग सहकार्य हुने सम्भावना कायम रहेको बताएका छन्। राजनीतिक संघर्षको कुनै ठाउँमा फेरि भेट हुने उनले अपेक्षा गरेका छन्।
नेपाल समूहले वैकल्पिक सरकार निर्माण गर्ने पूर्वसहमतिमा धोका दिएको हो? भन्ने नेपाल लाइभको प्रश्नमा अध्यक्ष प्रचण्डले यस्तो जवाफ दिएका हुन्। उनले भने, ‘धोका भन्ने शब्द नै त प्रयोग गर्न चाहन्नँ। उहाँहरुभित्र केही समस्या भए होलान्।’
नेपाल समूह पनि संविधान र लोकतन्त्रको संघर्षमै रहेको उनले बताए। भने, ‘अहिले नै धोका दिनुभयो भन्ने शब्द बढी हुन्छ। म आशा गर्छु, सत्यको पक्षमा, लोकतन्त्रको पक्षमा, संविधानको पक्षमा संघर्ष अगाडि बढाउनुहुनेछ। हाम्रो एक ठाउँमा फेरि पनि भेट हुन्छ।’
संविधानको धारा ७६ को उपधारा ५ अनुसारको सरकार बनाउने क्रममा भेट हुन्छ भन्ने अपेक्षा हो? भन्ने प्रतिप्रश्नमा प्रचण्डले सम्भावना रहेको बताए।
वैकल्पिक सरकार निर्माणमा सफलता हात नलागेपनि संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँगको लडाइँ कायमै रहेको उनले बताए।
प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचनको बाटोमा अघि बढेका छन्। माओवादी केन्द्र संविधानसम्मत ढंगले हुने निर्वाचनका लागि तयार रहेको प्रचण्डले बताए।
उनले भने, ‘संंवैधानिक ढंगले हुने निर्वाचनका लागि पार्टी सधैं तयार छाैं। संविधान विरोधी ढंगले भयो भने विरोध हुने हो।’
आफू अब प्रतिपक्षको हैसियतले सरकारका कमजोरीमाथि प्रश्न गर्न र जनतलाई राहत दिने काममा क्रियाशील हुने प्रचण्डको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।