काठमाडौं– शुक्रबार दिउँसो पद तथा गोपनीयताको सपथ लिन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नयाँ मन्त्रिमण्डलमा यसअघिकै मन्त्रीहरुलाई दोहोर्याउने तयारी गरेका छन्। प्रधानमन्त्री ओलीको सपथ दिउँसो साढे दुई बजे राष्ट्रपति भवनमा हुँदैछ।
आफूले सपथ लिएलगत्तै केही मन्त्रीलाई पनि सपथ गराउने प्रधानमन्त्रीको तयारी छ। त्यसमा धेरै अनुहार उनको यसअघिकै मन्त्रिमण्डलका सदस्य हुनेछन्।
नेकपा माओवादी केन्द्रबाट एमालेमा गएका सातजना नेता यसअघि ओली नेतृत्वको मन्त्रिपरिषद्मा सदस्य थिए। जसमा गृहमन्त्री रामबहादुर थापा‘, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानीमन्त्री मणि थापा र खेलकुदमन्त्री दावा तामाङ छन्।
प्रधानमन्त्री ओलीले तत्कालका लागि माओवादी पक्षबाट एमालेमा आएका यी नेताहरुलाई मन्त्रीमा यथावत राख्ने तयारी गरेको ओलीनिकट एक स्थायी कमिटी सदस्यले बताए। तत्काल आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बेला भएको र मन्त्रीको जिम्मेवारी हेरफेर गर्न थालेपछि धेरै समय गइहाल्ने उल्लेख गर्दै ती सदस्यले भने, ‘जेठ १५ गते बजेट पारित भएपछि पूर्वमाओवादीबाट मन्त्री भएकाको जिम्मेवारी हेरफेर हुन सक्छ।’
ओलीले तत्काल पूर्वमाओवादी पक्षका मन्त्रीहरुलाई नहटाएपनि बजेटपछि तीनजना मन्त्री हटाउन सकिने बताएका छन्। जसमा खानेपानीमन्त्री मणि थापा, खेलकुदमन्त्री दावा तामाङ र श्रममन्त्री गौरीशंकर चौधरीमध्येबाट सबै वा एकजना हट्न सक्ने ती नेतालेदाबी गरे।
त्यस्तै, प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपालपक्षका नेताहरु मन्त्री हुन इच्छुक भएमा २ देखि ३ जनासम्म मन्त्री बनाउने तयारी गरेका छन। तर, नेपालपक्षका नेताहरुले पार्टी विवाद साम्य भएपछि मात्रै सरकारमा सहभागी हुनेबारे कुरा हुने बताउँदै आएका छन्। यसबाहेक आफूनिकट रहेका यसअघिका धेरैजसो मन्त्रीलाई तत्काल निरन्तरता दिइने योजना प्रधानमन्त्रीको रहेको ती नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।