काठमाडाैं- राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा सरकार गठनका लागि विपक्षी गठबन्धनमा हस्ताक्षर नगर्ने प्रदेशसभा सांसदमाथि कारबाही प्रक्रिया सुरु गरेको छ। पार्टीले हस्ताक्षर गर्न नमान्ने सांसदलाई आज स्पष्टीकरण सोधेको छ।
जनमोर्चाको गण्डकी प्रदेशको संसदीय दलका नेतासमेत रहेका कृष्ण थापाले विपक्षी गठबन्धनको पक्षमा हस्ताक्षर गर्न नमानेपछि उनलाई स्पष्टीकरण सोधिएको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताए।
'स्पष्टीकरण सोधिएको छ। कारबाही प्रक्रिया सुरु भयो,' अध्यक्ष केसीले नेपाल लाइभसँग भने। स्पष्टीकरण दिन तोकिएको अवधि भने उनले खुलाएनन्।
सांसद थापाले मंगलबार बसेको जनमोर्चाको संसदीय दलको बैठकमा विपक्षी गठबन्धनको पक्षमा हस्ताक्षर नगर्ने बताएका थिए।
थापाले हस्ताक्षर गर्न नमानेपछि गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बन्न कठिन हुने देखिएको छ। कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमोर्चा लगायत दलको गठबन्धनले प्रयास गरिरहेको छ।
हस्ताक्षर गर्न नमानेका सांसद थापालाई जनमोर्चाले कारबाही गरेको खण्डमा गठबन्धनकै सरकार बन्न सक्छ। विपक्षी गठबन्धनका लागि यो नै अन्तिम विकल्प रहेको देखिन्छ।
थापालाई कारबाही गर्दा बहुमतका लागि आवश्यक संख्या ३० हुन्छ। त्यो बेला विपक्षीको बहुमत पुग्छ। सरकार गठनका लागि विपक्षी गठबन्धनसँग आज ४ बजेसम्मको समय छ।
थापामाथि जनमोर्चाले कारबाही गर्न नसकेको खण्डमा ठूलो दलको हैसियतमा एमालेकै सरकार बन्नेछ। एमालेको सरकार बने पृथ्वी सुब्बा गुरुङ पुन: मुख्यमन्त्री बन्न सक्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।