काठमाडाैं- जनमोर्चाका सांसदले हस्ताक्षर गर्न नमानेपछि गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बन्न कठिन हुने देखिएको छ।
दलको आज बसेको बैठकमा जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले विपक्षी गठबन्धनको पक्षमा हस्ताक्षर नगर्ने बताएका हुन्।
'उहाँले हस्ताक्षर नगर्ने अडान लिनुभयो। पार्टीको निर्णय नमानेकोमा के गर्ने पार्टीले पछि निर्णय लिन्छ,' जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले भने, 'एक जना सांसद हस्ताक्षरको पक्षमा नरहेको कांग्रेस माओवादीलाई जानकारी दिइसक्यौं।'
यससँगै ठूलो दलको हैसियतमा एमालेकै सरकार बन्ने सम्भावना बढेको छ। एमालेको सरकार बने पृथ्वी सुब्बा गुरुङ पुन: मुख्यमन्त्री बन्न सक्छन्।
तर, हस्ताक्षर गर्न नमानेका सांसद थापालाई जनमोर्चाले कारबाही गरेर गठबन्धनकै सरकार बनाउन सक्छ। विपक्षी गठबन्धनका लागि यो अन्तिम विकल्प हुने देखिन्छ।
थापालाई कारबाही गर्दा बहुमतका लागि आवश्यक संख्या ३० हुन्छ। त्यो बेला विपक्षीको बहुमत पुग्छ। यसका लागि विपक्षी गठबन्धनसँग भोलि ४ बजेसम्मको समय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।