काठमाडौं- नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षले दिने भनेको राजीनामा चर्चा मात्रै भएको सुवास नेम्वाङले बताएका छन्।
आइतबार सिंहदरबारमा केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षका नेताहरूको ‘निर्णायक वार्ता’पछि पत्रकारहरूसँग कुरा गर्दै नेम्वाङले छलफलमा आफूहरूले राजीनाको कुरा उठाएको बताए।
‘राजीनामाको कुरा उठाउँदा उहाँले (नेपालले) पनि थाहा नपाए जस्तो गर्नुभयो। त्यसैले यो चर्चाको कुरा मात्रै हो’, उनले भने।
छलफल एकदमै सकारात्मक भएको नेम्वाङले बताए। ‘एकता जोगाउनुपर्छ भन्ने छ। तर, त्यसको आधार के हुने भन्ने मात्रै हो’, उनले भने।
वार्तालाई ‘निर्णायक’ भनिएपनि कुनै सहमति भने जुट्न सकेन। छलफललाई निरन्तरता दिने र अब फेरि बसेर विवाद टुंगो लगाइने वार्तामा सहभागी एमाले संसदीय दलका नेता नेम्वाङले बताए।
उनले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन कुराकानीपछि वार्ता भएको बताए।
‘पार्टी अध्यक्षको चिन्ता र सरोकारको कुरा राखेका छौं। उहाँले (नेपालले) पनि आफ्नो कुरा खुलस्त रुपमा राख्नु भयो। हामी ती कुरा प्रधानमन्त्रीसँग पुर्याउँछौं’, नेम्वाङले भने, ‘पार्टी एकतालाई बलियो बनाएर लाने कुरामा सकारात्मक भएको छ। कसरी यसलाई टुङ्गोमा पुर्याउने सबैको चिन्ता हो। यसलाई भरसक छिटो टुङ्गोमा पुर्याउने भन्ने भएको छ। फेरि पनि भेटघाट गरेर टुंग्याउने कुराकानी भएको छ।’
वार्तामा नेपाल, नेम्वाङ र अर्थमन्त्री विष्णु पाैडेल सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।