काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले परिस्थितिको आकलन गरेर सोमबार सामूहिक राजीनामा दिने तयारी गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् विशेष अधिवेशन स्थगित गर्ने वा अन्य केही राजनीतिक ‘मुभ’ गर्न सक्ने भएकाले सोमबार मात्रै राजीनामा दिने तयारी उनीहरुले गरेका हुन्।
शनिवार नेपाल–खनाल पक्षका सांसदहरुले आइतबार नै सामूहिक राजीनामा दिने तयारी गरेका थिए। शनिबार नै २३ भन्दा धेरै सांसदले राजीनामा पत्रमा हस्ताक्षर गरेका छन्। राजीनामा पत्रमा अरु समानुपातिक सांसदले हस्ताक्षर गरेका छैनन्।
‘शनिबारको सांसदसँगको बैठकमा सुरुमा प्रत्यक्ष निर्वाचित सांसदले मात्रै राजीनामा दिने कुरा उठ्यो। प्रत्यक्ष निर्वाचित सांसद्ले सहमति जनाउनुभयो। त्यसपछि समानुपातिक सांसदहरुले हामीले राजीनामा नदिए कारबाही गर्छन्, किन हामीले नदिने भन्ने कुरा राख्नुभयो। हामी मात्रै किन कारबाहीमा पर्ने भन्ने भएपछि सामूहिक राजीनामा दिने सहमति भयो,’ बैठकमा सहभागी एक सांसदले भने।
नेपाल पक्षका प्रत्यक्ष र समानुपातिक गरी करिब ३० सांसद्ले सामूहिक राजीनामा दिने तयारी गरेका छन्। सामूहिक राजीनामा दिने भन्ने भएपछि कतिपय सांसद हच्चकिएकाले संख्या कम हुन सक्ने नेताहरुले बताएका छन्।
शनिबार सांसद्हरुबीच भएको छलफलका विषयमा आइतबार बस्ने स्थायी कमिटी बैठकमा छलफल हुने भएको छ। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेकाले त्यसमा नेपाल–खनाल पक्षले कस्तो रणनीति अपनाउने भन्ने विषयमा स्थायी कमिटी बैठकमा छलफल हुने बुझिएको छ। उक्त बैठकले सबै परिस्थितिको आकलन गर्नुपर्ने भएकाले सामूहिक राजीनामालाई सोमबार बिहान सार्ने नेपाल पक्षका एक सांसद्ले बताए।
नेपाल–खनाल पक्षका सांसद्ले आजै राजीनामा दिए ओलीलाई ठूलो दलको हैसियतमा राष्ट्रपतिले प्रधानमन्त्रीमा पुनः नियुक्त गर्न सक्ने भएकाले त्यसलाई रोक्न तत्काल राजीनामा नदिने योजना माधव पक्षले बनाएको हो।
‘आज(आइतबार) सामूहिक राजीनामा हुँदैन होला। कतिपय सांसद् उपत्यका बाहिर हुनुहुन्छ कतिलाई कोरोना लागेको छ। आज स्थायी कमिटी बैठकमा धेरै भए अन्तिम तयारी गरेर बस्ने भन्ने निर्णय हुनसक्छ’, ति सांसद्ले भने, ‘अरु राजनीतिक दलको अवस्थाको आकलन गर्नुप¥यो। हामीले राजीनामा दिने केपी ओली रहिरहने भयो भने ठिक भएन। त्यसो हुँदा हाम्रो उद्देश्य पुरा हुदैन। त्यसैले सबै परिस्थितिको आकलन गर्दा सोमबार विहान सामूहिक राजीनामा दिने भन्ने हुन सक्छ।’
नेपाल-खनाल पक्षले सबै सांसद्को राजीनामा पत्र, प्रेस स्टेटमेन्ट लगायत सबै जम्मा गरेर राख्ने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।