सङ्घीय संसद,प्रतिनिधिसभाका सांसद बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा कोभिड– १९ को पिसिआर परीक्षणका लागि स्वाब दिँदै
काठमाडौं– प्रतिनिधि सभाको विशेष अधिवेशन सोमबार शुरु हुँदै छ। संविधानको धारा १०० अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन बोलाएकी थिइन्। अधिवेशन शुरु हुनुअघि गरिएको पीसीआर परीक्षणमा हालसम्म प्राप्त विवरण अनुसार २६ जना सांसदमा कोरोना पोजिटिभ देखिएको छ।
विश्वासको मत दिन पाउने मन्त्रीहरु भानुभक्त ढकाल र जुली महत्तोसहितका सांसदहरु संक्रमित भएर आइसोलेनमा रहेका छन्। विश्वासको मत सफल वा असफल बनाउन थोरै सांसदको पनि महत्व भएको समयमा यो संख्यामा सांसदहरु संक्रमित भएकाले सवै दलहरुले अलग्गै व्यवस्था गरेर मतदानमा सहभागी हुन दिनुपर्ने तर्क गरेका छन्।
संसद् सचिवालयका अनुसार सबैभन्दा धेरै सत्तारुढ नेकपा एमालेका १६ जना सांसदलाई संक्रमण पुष्टि भएको छ भने जनता समाजवादी पार्टीका पाँच जना, नेपाली कांग्रेसका तीन जना र माओवादी केन्द्रका दुई जना सांसद संक्रमित छन्।
एमालेका सक्रमितमध्ये दुईजना मन्त्री र एकजना पूर्वप्रधानमन्त्रीसमेत रहेको सचिवालयले जनाएको छ। मतदान गर्न पाउने अधिकारवाट वञ्चित गराउन नहुने पक्षमा रहेको दलहरुले बताएका छन्।
प्रतिनिधि सभाको हिउँदे अधिवेशन समाप्त भएर वर्खे अधिवेशन बोलाउने समयमा विश्वासको मत लिने प्रक्रिया शुरु हुँदैछ। विघटित प्रतिनिधि सभा पुनःस्थापना भएपछि सरकारले विजनेश नै नदिँदा वेकामे भएर हिउँदे अधिवेशन समाप्त भएको थियो।
सर्वोच्चको फैसलापछि फागुन २३ गतेदेखि संसद्को हिउँदे अधिवेशन शुरु भएको थियो। उक्त अधिवेशनमा सरकारले कुनै पनि विजनेश नदिँदा शोक प्रस्ताव पारित गर्ने कार्यमा सीमित हुँदै समाप्त भएको थियो।
सभामुख अग्निप्रसाद सापकोटाले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधि सभाको वैठकमा कोरोना संक्रमित भएका सांसदहरुलाई भाग लिन दिने कि नदिने र कसरी सञ्चालन गर्ने बारे छलफल गर्न कार्य व्यवस्था परामर्श समितिको वैठक बोलाएका छन्। दिउँस १ वजे बस्ने बैठकले यस बारेमा निर्णय गर्ने छ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संक्रमित सांसदहरूलाई छुट्टै हलमा मतदानको व्यवस्था गरेर भए पनि विश्वासको मत लिने कार्यक्रम नरोकिनुपर्ने पक्षमा आफूहरु रहेको बताए। कार्य व्यवस्थाको वैठकमा पनि यही कुरा राख्ने उनले बताए।
भट्टराईका अनुसार २७ गते नै विश्वासको मतमा मतदान गरेर प्रतिनिधि सभा अधिवेशन अन्त्य गरिनेछ।
कुनै पनि संक्रमित सांसदहरू अस्पतालमा भर्ना नभएका कारण उनीहरुलाई मतदानमा सहभागी गराउने पक्षमा सभामुख सापकोटा पनि रहेका छन्। नेपाली काग्रेसका प्रमुख सचेतक वालकृष्ण खाँडले पनि संक्रमितहरुका लागि अलग्गै व्यवस्था गर्नुपर्ने पक्षमा आफूहरु रहेको बताए।
संसद् सचिवालयले कोरोना पोजिटिभ देखिएका सांसदलाई विश्वासको मत लिने प्रक्रियामा भाग लिन दिने कि नदिनेबारे अहिलेसम्म केही निर्णय गरेको छैन। सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार कार्यव्यस्थाले गर्ने निर्णय अनुसार अघि वढ्ने तर दिन सकिने गरी सचिवालयले तयारी गरेको छ।
‘अहिलेसम्म मत दिन पाउने या नपाउने भन्ने कुनै निर्णय भएको छैन,’ पाण्डेले भने, ‘दलहरुले जसरी गर्ने सहमति जुटाउँछन् त्यही अनुसार सचिवालयले व्यवस्था मिलाउँछ।’
गण्डकी प्रदेशमा यसअघि यस्तै भएको थियो। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथिको छलफल नै यही कारण भद्रगोल भएको थियो। यो प्रक्रियामा बीचमै एक सांसद हराएपछि प्रदेश सभा बैठक नै अनिश्चितकालका लागि स्थगित भएको थियो।
मुख्यमन्त्री आफैं कोरोना संक्रमित भएर बसेका छन्। गण्डकीमा पनि सोमबार नै प्रदेश सभाको वैठक बोलाइएको छ। मुख्यमन्त्रीविरुद्ध प्रदेश सभामा विचाराधीन रहेको अविश्वासको प्रस्तावमा मतदान हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।