काठमाडौं- पाँच वर्षकी सानी बालिका, जुनु। उनी आफै जुत्ता लगाउन सक्छिन्। जुत्ता त लगाउन आउँछ तर उल्टो या सुल्टो छुट्याउन सक्दिनन्। जहिल्यै जुत्ता लगाइसकेपछि अभिभावकको अनुहार हेर्नुपर्ने उनको बाध्यता हो। आज त पक्कै सुल्टो लगाइयो होला भनेर उत्साहित हुँदै अभिभावकको अनुहारमा हेर्यो तर सधैं निराश।
उल्टै उल्टो जुत्ता लगाएको भन्दै उनले गाली खाइरहनुपर्छ। जुनु कसरी जुत्ता सुल्टो लगाउने होला भनेर विभिन्न उपायको खोजी गर्छिन्। त्यसमा उनलाई सफलता मिल्ला या सधैं अभिभावकको गालीमात्रै खाइरहनुपर्ला, छोटो फिल्म ‘जुनुको जुत्ता’ले यही कथा भन्छ।
फिल्ममा सोलुखुम्बुकी पाँच वर्षीया बालिका हिस्सी लामाले जुनुको भूमिका निर्वाह गरेकी छन्।
कोभिड-१९ को दोस्रो लहरका कारण यतिबेला सम्पूर्ण मनोरञ्जन क्षेत्र धरापमा परेको छ। हरेक महामारीको समयमा अलपत्र पर्ने यो क्षेत्र मरणासन्न बनेको एक वर्ष बढी भयो।
यही क्षेत्रको ठूलो हिस्सा समेटेको फिल्म पनि यतिखेर धरापमा छ। हल बन्द भएको वर्ष बितिसक्दासमेत यसको गतिलो विकल्प नेपाली फिल्म क्षेत्रले पाएको छैन। अन्य देशले भने ‘डिजिटल प्ल्याटफर्म’लाई अगाडि सारेर फिल्म चलायमान बनाइरहेका छन्।
फिल्म हलमा नलागे पनि मिहिनेत गरेर निर्माण गरिएका केही फिल्मले भने फल प्राप्त गर्ने क्रम जारी छ। निर्देशक केदार श्रेष्ठले बनाएको छोटो फिल्म ‘जुनुको जुत्ता’ यसको गतिलो उदाहरण हो।
यो फिल्मले हालै रूसमा सम्पन्न ‘फेस्टप्रो फिल्म फेस्टिभल’ मा उत्कृष्ट छोटो फिल्मको अवार्ड हात पारेको छ।
त्यसबाहेक नेपालमै सम्पन्न अघिल्लो नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा पनि पुरस्कार जितेको थियो। त्यस्तै अमेरिकामा भएको ‘वामकिड्स फिल्म फेस्टिभल’ मा ‘बेस्ट लाइभ एक्सन सर्ट फिल्म अवार्ड’ हात पारेको थियो।
आखिर किन उल्टो जुत्ता लगाउँछन् बालबालिका
मनोचिकित्सक सिग्मण्ड फ्रायड श्रीमती र बच्चाका साथ घुम्न गए। दिनभर उनीहरू पार्कमा घुमे, खेले र रमाइलो गरे। तर, बाबुआमालाई बच्चा हराइसकेको त पत्तै भएनछ।
बच्चा हराएपछि फ्रायडकी श्रीमती निकै डराइन्। बच्चा हराएको भन्दै रून थालिन्। तर, फ्रायड भने ढुक्कसँग बसे। यसरी बच्चा हराउँदा पनि ढुक्कसँग बसेको देखेर श्रीमतीले रिसाउँदै सोधिन्- बच्चाको माया लाग्दैन? खोज्न नगएर किन ढुक्कसँग बसेको?
फ्रायडले नम्र स्वरमा श्रीमतीलाई सोधे- तिमीले हाम्रो बच्चालाई कतै नजान भनेकी थियौ?
केही क्षण सम्झिएर उनले भनिन्- अँ, पानीको किनारातिर नजाऊ भनेकी थिएँ।
फ्रायडले ढुक्कसँग भने- त्यसो भए हाम्रो बच्चा त्यतै छ।
नभन्दै बच्चा पानीको किनारामा खेलिरहेको रहेछ।
मानिसको स्वभाव हुन्छ, जे नगर भन्यो त्यही गर्ने। बालबालिका त झनै जिज्ञासु स्वभावका हुन्छन्। उनीहरू जे नगर भन्यो त्यो गरेर हेर्न चाहन्छन्। आगोमा हात नहाल भन्यो उनीहरू कारण पत्ता लगाउनकै लागि भए पनि हात हालेरै छाड्छन्। एक पटक पोलेपछि भने हात तानेर आगोमा लगिदिँदा पनि लुकाउँछन्।
बालबालिकाको मनोदशा जुत्तामा पनि त्यस्तै हुन्छ। ठूला मानिसले उसलाई उल्टो जुत्ता नलगाउन भन्छन् तर उसले जिज्ञासा पूरा गर्न उल्टो लगाउँछ नै।
अभिभावकले सुल्टो र उल्टो नसिकाउँदा समस्या
कतिपय बालबालिकाले भने उल्टो र सुल्टो नै बुझेका हुँदैनन्। अमेरिकी बाल मनोचिकित्सक डा. लरी हुप्पिनका अनुसार अभिभावकले राम्रोसँग उल्टो र सुल्टो नसिकाएरै सुल्टो लगाउन दबाब दिन्छन्।
उनका अनुसार बालबालिकाको दिमाग निकै सक्रिय हुन्छ। उनीहरू देखेको, हेरेको भरमा व्यवहार सिक्छन्। उनीहरू जुत्ता लगाउन पनि देखेकै भरमा सिक्छन् तर, कुन उल्टो र कुन सुल्टो छुट्याउन सक्दैनन्।
कतिपय बालबालिका भने अक्षर पनि उल्टो लेख्छन्। कतिलाई अंग्रेजी अल्फाबेट बी र डी चिन्न नसक्ने समस्या पनि हुन्छ।
कोभिडको समयमा बालबालिका अनलाइन कक्षा लिइरहेका छन्। यस्तो समयमा झनै उनीहरूमा लेख्ने समस्या बढी हुनसक्छ। यदि गतिलो सिकाइ पाएनन् भने उनीहरू पढ्न नरुचाउने स्वभावका बन्छन्। एक अन्तर्वार्तामा डा. हुप्पिनले बालबालिकाको मनोदशा बुझेरमात्रै अघि बढ्न अभिभावकलाई आग्रह गरेका छन्।
उनले भनेका छन्, ‘यदि बच्चाले अक्षर बुझ्न सकेका छैनन् भने उनीहरूमा ‘डिस्ग्राफ्रिया’को समस्या हुनसक्छ। डिस्ग्राफ्रिया भन्नाले अक्षर चिन्न र लेख्नमा हुने समस्या हो। यो समस्याले बालबालिकाको दिमागमा प्रत्यक्ष असर पार्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।