काठमाडौं- एउटा सानो गाउँमा जन्मिएको बालक, जो गितार, ड्रम र पियानो भनेपछि हुरूक्कै हुन्थ्यो। पढाइमा वास्ता नगर्ने ऊ जतिखेर पनि बाजामा मात्रै ध्यान दिएको देखेर उनकी आमा रिसले भुतुक्कै हुन्थिन्। कहिलेकाहीँ त बालकले आमाको पिटाइ पनि पाउँथ्यो तर ऊ बाजा बजाउन छाड्दैनथ्यो।
एक दिन ती आमाले आफ्नो छोराले गीत गाइरहेको सुनिन्। छोराको स्वर निकै मिठो थियो। घरमा कोही आउँदा त हामीलाई छोराछोरीको प्रतिभा ती पाहुनालाई देखाउन मन लाग्छ। ती आमालाई पनि त्यस्तै भयो। त्यही समय स्थानीय गायन रियालिटी शोको आयोजना हुने भयो। ती आमाले छोरालाई रियालिटी शोमा सहभागी गराइन्। त्यहाँ बालकले दोस्रो स्थान प्राप्त गर्न सफल भयो।
उनले छोराले गीत गाइरहेका भिडियोहरू रेकर्ड गर्दै युट्युबमा अपलोड गर्न थालिन्।
बालकको चर्चा दिन प्रतिदिन बढ्दै गयो। उनले विभिन्न कन्सर्टहरूमा प्रस्तुति दिन थाले। हेर्दाहेर्दै, ती बालकको भिडियो राखिएको च्यानल त्यो देशकै सबैभन्दा धेरै दर्शक बटुल्ने माध्यम बन्न थाल्यो।
एक जना संगीतका व्यापारीले पनि ती बालकको स्वर सुने। बालकको स्वरमा मदहोस् भए, र आफ्ना एल्बम तिनैको आवाजमा रेकर्ड गराउने सोच बनाए।
यो कुराले बालककी आमा निकै खुसी भइन्। बालकको आवाजमा गीत निस्कियो र उनी संसारकै सबैभन्दा चर्चित गायक बन्न पुगे।
०००
माथिको घटना कुनै काल्पनिक कथा हैन। न त यो घटनामा देखिएजस्तै ती सफल बालकको कथा सुखद् नै छ।
उनी हुन्- संसारभर चर्चा कमाएका सफल गायक जस्टिन ड्रियो बिबर। उनी बाहिरबाट जति सफल छन्, भित्र उत्तिकै दुःखी पनि। उनका लागि संगीत उपहार हो, साथै श्राप पनि।
उनले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको बायोपिक भिडियो ‘डार्क सिजन’मा कसरी करोडौंको भीडमा एक्लिए भन्ने कुरा बाँडेका छन्।
उक्त भिडियो एक वर्ष पुरानो हो। भिडियोमा उनले आफू १३ वर्षदेखि गाँजा खान सुरू गरेको बताएका छन्। उनले भनेका छन्, ‘मलाई गाँजा यति धेरै मनपर्यो कि, सबै कुरा छाडेर गाँजामात्रै खान पाए हुन्थ्यो भन्ने हुन थाल्यो।’
उनले विस्तारै लागुऔषध लिन थाले। एक समय त यस्तो आयो, उनी उठ्नेबित्तिकै लागुऔषध लिन्थे अनिमात्रै दिनको सुरूआत हुन्थ्यो। कहिलेकाहीँ ‘ओभर डोज’ भएर उनी ढल्थे। उनका बडिगार्डहरू आउँदै पल्स छाम्थे, र जिउँदै छ भन्ने सुनिश्चित गरेर फर्कन्थे।
लागुऔषधकै तालमा उनले लाखौं मानिसका अगाडि कार्यक्रम गरे। जसका कारण विभिन्न विवादमासमेत मुछिए। फ्यानले चिच्याएको सुनेर उनी चिडिन्थे, दर्शकले पानी फ्याँकेको भन्दै उनी स्टेज नै छाडेर हिँडिदिन्थे। फ्यानलाई स्टेजबाटै लात्ताले हान्थे, नजिक कोही आए पिट्न खोज्थे।
स्टेजबाटै दर्शकलाई अपशब्द प्रयोग गर्दै गाली गर्थे। क्यामरादेखि यति धेरै चिडिन्थे कि, उनले एकपटक पापाराजीलाई कारले हानेर समेत हिँडे। उनमा धनको घमण्ड चढेको थियो। चर्चाले यतिसम्म उन्मत्त भएका थिए, उनलाई अरू मानिस मानिस नै लाग्न छाडेको थियो।
कयौंपटक उनले हद पार गरेका छन्। पानी सफा गर्ने मोप बकेटमा पिसाब फेर्ने, छतबाट फ्यानलाई थुक्ने, छिमेकीको घरमा काँचो अन्डाले हान्नेलगायतका हर्कतले उनी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका लागि सधैं चासोको विषय बनिरहे। विभिन्न सञ्चारमाध्यमले यसबारे खोज गरे, अन्त्यमा कुरा टुंगियो उनको अभिभावकत्वमा।
जस्टिन अविवाहित आमाबाट जन्मिएका सन्तान हुन्। बिहे गर्ने उमेर नै नपुगेकी १९ वर्षीय प्याट्रिइले जन्माएको सन्तान जस्टिनका बाबु पनि अर्कै घरजम गरेर बसे। उनलाई उमेर नपुगेकी आमाले हुर्काइन्, बच्चा उमेरमा बाबुको माया पनि पाएनन्।
गतिलो अभिभावकत्व नपाएकै कारण जस्टिनले समूहको महत्त्व बुझ्न सकेनन्। उनी सामाजिक हुनै सकेनन्। हरेक खेलमा पोख्त उनी फुटबलसमेत एक्लै खेल्थे। जस्टिन साथीलाई बल पास गर्दै गोल गर्न मन पराउँदैनथे।
अहिले उनी विवाहित पुरुष बनेका छन्। आफूले कुलतको लत छाड्ने कोसिस गरिरहेको बताउँछन्। उनका दिमागी हालतलाई ठीक ठाउँमा राख्न ब्रेन डाक्टर छन्, जो कुन मनोदशाबाट गुज्रिरहेका छन् भन्ने पत्ता लगाउन हरदम जस्टिनकै पछि दगुरिरहेका हुन्छन्।
चिकित्सकको नियमित परामर्शमा रहे पनि उनी अहिलेसम्म आफ्नो हर्कतबाट बाहिर आउन सकेका छैनन्। उनी ‘डबल पर्सनालिटी डिसअर्डर’बाट गुज्रिइरहेका छन्। क्यामराको अगाडि मिठो कुरा गर्छन्, पछाडि आफ्नो पारा देखाइहाल्छन्।
भाइरल बनाउने गलत 'ट्रेन्ड'
नेपालमा पनि बालबालिकालाई भाइरल बनाउने ट्रेन्ड चलेको छ। हुन त, आफ्ना बालबालिका चर्चित बनेको कुन अभिभावकलाई मन नपर्ला र! बालबालिकाको प्रतिभा सबैसामु पुर्याउन पाउनु अभिभावकका लागि गर्वको कुरा पनि होला। तर, के अभिभावकले आफ्ना सन्तान पनि सुपरस्टार जस्टिन बिबरकै मार्गमा हिँडेको मन पराउलान्? ऊ जस्तै अराजक बनेको सहन सक्लान्?
पछिल्लो घटना हेर्ने हो भने सचिन परियार र उनका अभिभावकलाई उदाहरणका रूपमा लिन सकिन्छ। विभिन्न युट्युब च्यानलले बच्चालाई अगाडि राखेर बाबुआमाको झगडा गराइरहेका फुटेज छपक्कै छन्।
त्यस्तै, अशोक दर्जी, शैलेन श्रेष्ठ, समिरा थापालगायतका पनि सचिनजस्तै समय काटेर बसेका बालबालिका हुन्। उनीहरूको चर्चा पहिले जति नभए पनि कम भने भएको छैन। यी बालबालिकाको गतिलो अभिभावकत्वले कुनै दुर्घटना निम्त्याउन नदेला भन्ने आश गर्न सकिन्छ।
तर, सचिन यी बालबालिकाजस्ता भाग्यमानी छैनन्। उनलाई अशोक दर्जीलाई जस्तो टंक बुढाथोकीको अभिभावकत्व मिलेको छैन, न शैलेन र समिराका बाबुआमा जस्ता शिक्षित अभिभावक नै। उनी बाबुआमाका झगडा, पत्रकार भन्नेहरूका ‘अन्टसन्ट’ प्रश्न अनि पढ्ने र केही सिक्ने उमेरमा सुटिङमा व्यस्त छन्। कोरोना महामारीले गर्दा उनी युट्युबमा पनि छाउन छाडिसके।
केही स्कूलहरू पनि छन्, भाइरल बनेका बच्चालाई पढाउँछु भन्ने अनि चर्चा सकिएपछि स्कूलबाटै निकालिदिने। त्यस्तो व्यवहारले त्यो बच्चा कसरी हुर्केला?
सचेत अभिभावक नहुनुको परिणाम
यी सबैको एउटै कारण अभिभावक गम्भीर नहुनु रहेको बताउँछिन् बाल मनोविश्लेषक गंगा पाठक। उनका अनुसार बालबालिकाको उमेर भनेको ‘फाउन्डेसन टाइम’ अर्थात् जीवन निर्वाह गर्न आवश्यक कुरा सिक्ने उमेर हो। पाठक भन्छिन्, ‘उनीहरूको मस्तिष्क १६ वर्ष नपुगेसम्म पूर्णरूपमा विकास भइसकेको हुँदैन। त्यो समयमा अभिभावकले जे कुरा उनीहरूलाई सिकाउँछन्, जस्तो कुरा शिक्षकले पढाउँछन्, बालबालिकाको आगामी जीवन त्यसैमा निर्भर रहन्छ।’
अहिले अभिभावकको दिमागमा बालबालिका भाइरल गराउने चस्का बसेको भन्दै उनले भनिन्, ‘यदि समयमै ध्यान नदिने हो भने यसले भविष्यमा बालबालिकाको जीवन बर्बाद पार्न सक्छ।’
‘टिकटकजस्ता सामाजिक सञ्जालका कारण बालबालिकाले चर्चा कमाइरहेका छन्,’ उनले भनिन्, ‘यदि यो चर्चालाई निरन्तरता दिन सकिएन भने उनीहरू निराश बन्छन् र नराम्रो बाटो रोज्न पछि पर्दैनन्।’
उमेर पुगेका परिपक्व मानिसले समेत क्षणिक चर्चालाई सम्हाल्न गाह्रो पर्ने गरेको घटना स्मरण गराउँदै उनले भनिन्, ‘यस्ता दुर्घटनाबाट आफ्ना बालबालिकालाई जोगाउने भनेकै अभिभावकले हो।’
पाठकका अनुसार कोभिड महामारीको समय अभिभावकका लागि वरदान हो। आफ्ना बच्चा कस्तो मनोदशाबाट गुज्रिरहेका छन् भन्ने कुरा थाहा पाउन उनीहरूलाई समय मिलेको छ। उनले भनिन्, ‘बच्चालाई प्रविधिभन्दा टाढा लगेर प्राकृतिक तरिकाले हुर्काउने कोसिस गर्नुहोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।