काठमाडौं- डुङ्गालाई हरेकको दिमागले फरक देख्छ। कसैले यसलाई नदी वारपार गराउने साधनका रूपमा मात्रै देख्छन् त कसैले पूरै जीवन।
कलाकार रविन्द्र श्रेष्ठले भने नागपोखरीमा आधा डुबेर उत्रने कोशिस गरिरहेको डुङ्गामा मानवता देखे।
कस्तो अचम्म ! नागपोखरी पूरा ब्रम्हाण्ड हो, जहाँ एउटा पुरानो डुङ्गा तैरिइरहेको छ। अर्थात् मानवता एक्लो छ।
आधा डुबेको मानवता जसोतसो उत्रने ध्याउन्नमा छ। मानवताको शरीरभरि लेउ नै लेउ लागेको छ। मानवता जीर्ण बनेको छ, बेवारिसे बनेको छ।
त्यही बेवारिसे अवस्थामा बसेको डुङ्गालाई रविन्द्रले ‘इन्स्टलेसन आर्ट’को रूपमा प्रयोग गरे। मानवता जगाउने भाँडोको रूपमा जीर्ण डुङ्गा गतिलो उपाय बन्यो उनका लागि।
‘म्यानमारमा यतिखेर युद्ध चलिरहेको छ,’ उनले डुङ्गा सजाउँदै भने, ‘हामी कुरा गरिरहँदा पनि धेरैको ज्यान गइरहेको होला।’ उनीहरूको आत्माको शान्तिको कामना गर्न इन्स्टलेसन आर्टको सोच आएको उनले बताए। रविन्द्रले भावुक हुँदै भने, ‘मानवता हराउँदै गएको बेलामा डुङ्गा नै सबैभन्दा गज्जबको संकेत लाग्यो।’
उनले इन्स्टलेसन आर्ट बनाएको यो पहिलोपटक भने हैन। उनी कलाकार भएको नाताले कहिले ‘कन्सेप्चुअल’ त कहिले ‘इन्स्टलेसन’ आर्टको माध्यमबाट मनका उकुसमुकुस बाहिर ल्याइरहन्छन्।
रविन्द्रले नेपालमा घटेका धेरै दुःखद् घटनामा यस्ता इन्स्टलेसन या कन्सेप्चुअल आर्ट बनाइसकेका छन्। रुकुममा नवराज विकको हत्याका बेला होस् या डा. गोविन्द केसीको आमरण अनसनको बेलामा, निर्मला पन्तको बलात्कारपछि हत्याका समयमा होस् या संविधानसभा विघटन हुँदा नै, रविन्द्र कलाको माध्यमबाट दुःख पोख्छन्। कलामार्फत् आफू यस्ता गतिविधिले खुसी हुन नसकेको बताउँछन्।
कलामा डुबेर डुङ्गा जमिनमा उतारेका रविन्द्रले आफ्नो दायित्व पूरा गरेको ठान्छन्।
रविन्द्र भावुक स्वभावका छन्। सारा विश्व खुसीयाली मनाइरहँदा उनी म्यानमारमा भएको युद्धले दुःखी छन्। भावुक हुँदै उनले भने, ‘समाचारमा बताएअनुसार अहिलेसम्म ७०० भन्दा धेरैको ज्यान गइसक्यो, यसले मलाई निकै पोल्छ।’
नक्सामामात्रै देखेको म्यानमारमा घटेको घटनाले पोलिरहेको मनलाई केही सान्त्वना दिन, मृतकलाई श्रद्धाञ्जलि दिन र भइरहेको नरसंहार छिट्टै रोकियोस् भन्नका लागि रविन्द्रले यो कला प्रस्तुत गरेका छन्। मुख्यतः रविन्द्रको उद्देश्य, यो कलाले मानवतालाई घचघच्याओस् भन्ने नै हो।
त्यसका लागि डुङ्गा जरूरी थियो। यहाँबाट म्यानमार कहाँ छ रविन्द्रलाई थाहा छैन। तर, डुङ्गाले उनको भावना म्यानमारसम्म पुर्याउनेछ। डुङ्गासँगै म्यानमार पुगेको उनको भावनाले पक्कै मानवता जगाउनेछ र नरसंहार रोकिनेछ।
दिमागमा उपाय फुरे पनि तुरून्तै डुङ्गा भेटिएन। डुङ्गा खोज्न निकै ठाउँ भौतारिए उनी। काठको डुङ्गाको खोजीमा निस्किएका रविन्द्रलाई नागपोखरीको बेवारिस डुङ्गाले पर्खिरहेको रहेछ। उनले भने, ‘हेर्नुस् न, आजभन्दा १७ वर्षअघि बनेको यो डुङ्गा काम नलाग्ने भएर बसेको रहेछ। यसलाई देख्नेबित्तिकै मैले यसमा जीवन देखें।’
कलामा डुबेर डुङ्गा जमिनमा उतारेका रविन्द्र आफ्नो दायित्व पूरा गरेको ठान्छन्।
नागपोखरीमा पहिले धेरै डुङ्गा थिए। अहिले यही एउटामात्रै बाँकी छ। डुङ्गा कति जलिसके त कति कता पुगे पत्तो छैन। रविन्द्रलाई नै पर्खिरहेको डुङ्गाले भने अब उनले देखेजस्तै जीवन पाएको छ। डुङ्गाका साहुले अब पोखरीमा अलपत्र नपार्ने, बरू त्यसलाई भावी पुस्ताका लागि जोगाउने योजना बनाएको सुनाउँदा रविन्द्र खुसी सुनिए।
रविन्द्रले डुङ्गासँग घनिष्टता जोड्न फिंगर प्रिन्टको पनि प्रयोग गरेका छन्। यसबारे प्रस्ट्याउँदै उनले भने, ‘हामी सबैको बूढी औंठाको छाप फरक हुन्छ। तर, हामीलाई मानवताले एक बनाएको छ।’
यस्ता आर्टहरूमा खर्च पनि धेरै नै लाग्छ। तर, रविन्द्र खर्च सुनाउन चाहँदैनन्। उनले भने, ‘मेरो समय, मेरो दिमाग र मेरो कलालाई कसरी पैसामा मापन गर्न सकिन्छ र!’
तस्बिर/भिडियो: मनिष पाैडेल /अनुराग लम्साल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।