काठमाडाैं- पूर्वराजा ज्ञानेन्द्र शाहले फुटेर हैन, जुटेर शक्ति संरक्षण गर्न सबै नेपालीलाई आग्रह गरेका छन्। एकता नै सफलता भएकाे भन्दै यसले देशको कल्याण हुने उनकाे बुझाइ छ।
नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले एउटा बिग्रेको अर्कोले हेर्ने बेला नभएकाे भन्दै जुटेर शक्ति संरक्षण गर्न आग्रह गरेका हुन्।
‘नेपाली हामी फुटेर हैन, शक्ति संरक्षण गरौं जुटेर। एकतामा हाम्रो सफलता छ, यसैमा देशको कल्याण छ। हाम्रा समस्या साझा छन्, एउटा बिग्रेको अर्कोले हेर्ने बेला हैन। निषेध र प्रतिशोधको चक्रब्यूहबाट बाहिर आउनैपर्छ। सबैको एउटै उद्देश्य हुनुपर्दछ, एउटै कामना हुनुपर्दछ’, विज्ञप्तिमा भनिएको छ।
उनले राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी सबैमा हुनुपर्ने समेत बताएका छन्।
‘आपसी भाँडभैलो, अनमेल र द्वन्द्वको अन्त्य हुनुपर्छ अनि समन्वय, सामञ्जस्य पनि रहनुपर्दछ। हाम्रा पिता पुर्खा तथा त्यागी विरांगानाहरुले जोगाएको हाम्रो साझा बारी नेपाललाई सबै मिलेर स्याहार सुसार गर्नु र सजाउनु छ,’ उनले भनेक छन्।
देशको उन्नति र अधोगति आफ्नै हात भएकाे भन्दै अनावश्यक प्रकृतिको दोहन, आर्थिक अपचलन एवं वैदेशिक प्रभाव र परनिर्भरता त्याग्दै जानुपर्ने उनकाे तर्क छ।
‘देशको उन्नति र अधोगति हाम्रै हातमा छ। पहिला देश अनि आफू भन्ने भावना हामी सबैमा हुनु अत्यावश्यक छ। हामीले कर्तव्य पूरा गर्यौं भने हामी उठ्छौं। मेची महाकाली-देश बचाउने हाम्रो पालि। नेपाल हाम्रो पहिचान हो- सनातन हाम्रो संस्कार हो,’ उनले जारी गरिएकाे विज्ञप्तिमा भनिएकाे छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।