काठमाडौं– चिनियाँ भाषामा नेपाली बेवसाइट सञ्चालनमा आएको छ। नेपाल आउने चिनियाँ पर्यटकलाई लक्षित गरी चिनियाँ भाषामा बेवसाइट सुरु गरिएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी र नेपालका लागि चीनका राजदुत यू होङले सोमबार चिनियाँ भाषामा तयार पारिएको वेबसाइट 'सिएन डट वेलकमनेपाल डटकम' को उद्घाटन गरेका हुन्।
कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले चिनियाँ पर्यटकको गुणात्मक वृद्धि गर्न चिनियाँ भाषामै वेबसाइट सञ्चालन गरिएको बताए। उनले आगामी १० वर्षभित्र मुलुकको आर्थिक वृद्धिदरमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत पुर्याउने सरकारको लक्ष्य पूरा गर्न पनि चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउने कुरालाई सरकारले उच्च प्राथमिकता दिएको जनाए।
कार्यक्रममा मन्त्री अधिकारीले नेपालको आर्थिक विकासमा चीन सरकारले पुर्याउँदै आएको योगदानको पनि प्रशंशा गरेका थिए।
नेपालका लागि चीनका राजदूत यू होङले ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने नेपाल सरकारको लक्ष्य पूरा गर्न चीन सरकार नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन प्रतिवद्ध रहेको बताइन्।
चिनियाँ भाषाको नेपाली बेवसाइटले नेपाल र चीनबीचको सम्बन्ध अझै घनिष्ट बनाउन सहयोग पुग्ने राजदूत होङले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।