काठमाडौं- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफू प्रधानमन्त्री हुँदा राष्ट्रपतिले अध्यादेश ल्याउन समेत असहयोग गरेको स्मरण गरेका छन्। त्यतिबेला राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री भट्टराईबीच निकै चिसो सम्बन्ध थियो। जसको एउटा कोणको उनले चर्चा गरेका छन्।
शनिबार रवीन्द्र मिश्रको पुस्तक 'राजनीतिसँगै राजकाज'को विमोचन तथा 'राजकाज संवाद' मा बोल्दै उनले आफू २०६८/६९ मा ९ महिना औपचारिक र ९ महिना अन्तरिम प्रकारको प्रधानमन्त्री बनेको बताए।
'इतिहासमा मेरो प्रधानमन्त्रीको पाला मात्रै यस्तो हो, जसको पालामा दुई वर्षसम्म बजेट पेश गर्न दिइएन। अहिले 'ड्रप अफ अ ह्याट' (तत्कालै) भनेजस्तो गरी राष्ट्रपतिले तुरुन्तै अध्यादेश जारी गरिदिनुहुन्छ। तर, मेरो पालामा यस्तो भयो, बजेट पेश गर्दाखेरी, अध्यादेशमार्फत\ बजेट ल्याउँदाखेरी पनि राष्ट्रपतिले दिनुभएन। त्यसैले गर्दा दुई वर्षसम्म बजेट पेश भएको छैन', उनले भने।
उनले 'बाबुरामले अर्थमन्त्रीको रूपमा त राम्रै काम गर्यो तर, प्रधानमन्त्रीको रूपमा त गरेन' भन्ने गरेको भएपनि आफ्नो पालामा मात्रै इतिहासमा दुई वर्षसम्म बजेट आएन भन्ने पनि सम्झिन आग्रह गरे।
डा भट्टराईले आफू प्रधानमन्त्री हुँदा संविधान निर्माण, शान्ति प्रक्रिया र सेना समायोजनकै कुरा नै प्रमुख रूपमा भएको र विकास निर्माण र राज्य सञ्चालनका कुराहरू सहायक भएको बताए।
उनले आफू अर्थमन्त्री हुँदा राम्रै सुरुवात गरेको बताए। 'जतिबेला म अर्थमन्त्री बनें, २०६५/५६ मा। त्यतिबेला भर्खरै गणतन्त्र नेपालको पहिलो सरकार बनेको थियो। त्यतिबेलाको मुख्य काम भनेको संविधान निर्माण, शान्ति प्रक्रिया र सेना समायोजन लगायतको व्यवस्थापन प्रमुख कुरा थियो। राज्य सञ्चालन गर्नु र आर्थिक विकास र समृद्धिको दिशामा अघि बढ्न सहायक कुरा मात्रै थिए। त्यो पनि एउटा मात्रै कार्यकाल र एउटा मात्रै बजेट पेश गरेको हुनाले धेरै गर्न त सकिएन। तैपनि, सुरुवात राम्रै भएको थियो भन्ने मलाई लाग्छ', उनले भने।
भट्टराईले अहिले आफू प्रधानमन्त्री बन्ने अवसर पाए पनि नलिनुपर्ने अवस्थामा पुगिसकेको तर, प्रधानमन्त्री बन्ने परिस्थिति बनेमा पहिलेभन्दा राम्रो-राम्रो गर्न सकिन्छ भन्ने विश्वास आफूमा रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।