काठमाडौं- राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएकाहरूलाई सरकारले वितरण गरेको पदकमा नेपालको नयाँ नक्सा प्रयोग नगरिएको भन्दै माधवकुमार नेपालपक्षीय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ।
शनिबार काठमाडौंको माइतीघर मण्डलमा नेपाल समूहनिकट युवा संघ नेपालका नेताहरूले विरोध प्रदर्शन गरेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतलनिवासमा राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएकाहरूलाई विभिन्न मानपदवी, अलङ्कार र पदक वितरण गरेकी थिइन्। तर, ती पदकहरूमा नेपालले गत वर्ष अनुमोदन गरेको नयाँ नक्सा प्रयोग नभई पुरानै नक्सा प्रयोग भएको छ।
त्यसैको विरोधमा युवा संघ नेपालले शनिबार दिउँसो माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेको हो। प्रदर्शनकारीहरूले ‘लिपुलेक र कालापानीसहितको चुच्चे नक्सा खोई ?’, ‘नेपालको पूर्ण नक्सा (चुच्चे)को प्रयोग सुनिश्चित गर’ लगायत लेखिएका ब्यानर तथा प्लेकार्ड लिएर सडकमा सरकार विरुद्ध नाराबाजी गरेका थिए।
उनीहरूले ‘संविधान मिच्न पाइँदैन’, ‘चुच्चे नक्सा प्रयोगमा ल्याऊ’, ‘राष्ट्रघाती सरकार मुर्दावाद’, ‘चुच्चे नक्सा प्रयोग नभएका पदक खारेज गर’ लागयतका नारा लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।