फाइल तस्बिर
काठमाडाैं- नेपाली कांग्रेसका नेता गगन थापाले देशका संवैधानिक संस्था भत्काउने सरकारको दुष्प्रयासविरुद्ध कांग्रेस बलियो ढंगले उभिनुपर्ने बताएका छन्।
शुक्रबार नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशन कार्यक्रममा नेता थापाले विगतमा आशंका गरिएकै बाटोमा नेपालको राजनीति अगाडि बढेको भन्दै त्यसविरुद्ध कांग्रेस उभिनुपर्ने धारणा राखेका हुन्। उनले संस्था बलियो बनाउने भन्दा व्यक्ति बलियो बनाउने गलत दर्शनबाट प्रभावित भएर प्रधानमन्त्री केपी शर्मा ओली अघि बढिरहेको र देशका संवैधानिक संस्थाहरुलाई एकपछि अर्को भत्काउने र कमजोर बनाउने खेलमा लागेको आरोप लगाए।
'२०७४ साल फागुन २७ गते प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्रीको विश्वासको मत लिइसकेपछि पार्टीको तर्फबाट संसद्मा शुभकामना दिने क्रममा मैले भनेको एउटा कुरा म सम्झन्छु- तपाईंको पृष्ठभूमि हेर्दा, तपाईंको रुझान हेर्दा अहिले प्राप्त भएको स्थिरतालाई नेपालका संस्थाहरु बलियो बनाएर, पद्धति बलियो बनाएर परिणाम दिनका लागि प्रयोग गर्नभन्दा पनि व्यक्ति बलियो भयो भने परिणाम आउँछ भन्ने गलत दर्शनबाट प्रभावित भएर त्यो बाटोमा देशमा लैजान सक्नुहुन्छ भन्ने मलाई आशंका छ। यो भयो भने देशमा ठूलो दुर्घटना हुन्छ भनेर बोलेको म सम्झन्छु। त्यो भनिरहँदा यो नहोस् भन्ने थियो,' उनले भने।
संविधान निर्माणपछिको निर्वाचन र त्यसपछिको सरकारले नेपालको राजनीतिक प्रतिस्पर्धालाई नयाँ उचाइमा लैजान्छ भन्ने अपेक्षा भए पनि विगतमा आशंका गरिएजस्तै ढंगले नेपालको राजनीति अघि बढेको उनले उल्लेख गरे। संसद्, अदालत, संवैधानिक निकायहरु, आयोगहरु, प्रशासनलगायत सबैतर्फ अस्तव्यस्त रहेको भन्दै उनले स्थिर सरकारले दीर्घकालिन सोच राखेर नभई व्यक्ति केन्द्रित शक्ति एकीकृत गर्ने ढंगबाट अघि बढेको बताए।
विभिन्न ढंगले राजनीतिक विभाजन ल्याउने प्रयास गरेका प्रधानमन्त्री ओलीले त्यो सफल नभएपछि विकास निर्माणको काम अघि सारेर जबरजस्त विभाजन गर्ने प्रयास गरेको उनले दाबी गरे। उनले पछिल्लो समय ओली पक्षमा रहेका समूह विकासप्रेमी र ओलीको विपक्षमा उभिनेहरु विकास विरोधीको कित्तामा देखिएको तर्क गरे। 'पपुलिस्ट लिडरको क्यारेक्टर एउटै हुन्छ। पपुलिस्ट लिडर देशको समस्याहरु अत्यन्तै सामान्य ठान्छन्। म भन्दा अगाडिका शासकहरु खराब र अयोग्य भएकाले गर्न नसकेको हो। तर, मसँग क्षमता छ त्यसकारण मैले तत्काल यसको हल गर्छु भन्छ,' नेता थापाले भने।
उनले वर्तमान सरकारले नै आगामी आर्थिक वर्षका लागि बजेट ल्याउन पायो भने देशले भारी बोक्न नसक्ने गरी बजेट ल्याउने दाबी गरे। उनले भने, 'जेठ १५ गते यो सरकारले बजेट ल्याउन पायो भने, अहिले नै दाबाका साथ भन्न सकिन्छ, सिंगो देशले भारी बोक्न नसक्ने भारी नेपालको अर्थतन्त्रलाई बोकाउने गरी बजेट ल्याउँछ तर त्यसको उत्तर हामी दिनसक्ने अवस्थामा रहँदैनौ।'
नेपाली कांग्रेसले आफ्नो कर्तव्य र धर्म निर्वाह गरी अवसरको दुरुपयोग गरेका प्रधानमन्त्री ओलीलाई दण्डित गरेर पदच्युत गर्ने हिम्मत गर्न सक्नुपर्ने उनले बताए। हटाएपछि उत्पन्न अवस्थाको सामना गर्ने क्षमतामा कांग्रेसमा रहेको भन्दै उनले नेतृत्वलाई त्यसतर्फ अघि बढ्न आग्रह गरे। सरकारका क्रियाकलापहरु संवैधानिक संस्थाहरु भत्काउन उद्धत रहेको र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि संस्था भत्काउने प्रयासस्वरुप आएको भन्दै उनले सरकारका त्यस्ता क्रियाकलापविरुद्ध कांग्रेस उत्रनुपर्ने आवश्यकता औँल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।