फाइल तस्बिर
काठमाडाैं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन समयको गतिसँगै परिवर्तन हुन नसकेको टिप्पणी गरेका छन्। बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरुबीच निजामती सेवाका विविध पक्षसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त धारणा राखेका छन्।
उनले निजामती प्रशासनमा 'झिङ्गे टसाई' सोच प्रमुख समस्याको रुपमा रहेको बताए। निजामती प्रशसनले परिणामलाई भन्दा पनि प्रक्रियालाई जोड दिने गरेको उनको भनाइ थियो। ‘अहिले निजामती प्रशासनभित्र रहेको प्रमुख समस्या हो सोचमा सकारात्मक परिवर्तनको अभाव, निजामती प्रशासन अझैसम्म (माफ गर्नुहोला एउटा शब्द प्रयोग गर्न चाहन्छु) 'झिङ्गे टसाई' सोचबाट मुक्त हुन सकेको छैन। यसलाई विरासतमा पाएको भन्ने गरिएता पनि समयको गतिसँग प्रशासन परिवर्तन हुन नसकेको रुपमा यसलाई बुझ्नुपर्दछ भन्ने म यहाँहरुसमक्ष राख्न चाहन्छु,' उनले भने, 'त्यसैले होला निजामती प्रशासनले परिणामलाई भन्दा पनि प्रक्रियालाई जोड दिने गरेको छ।’




कर्मचारीतन्त्र आफैंमा सक्षम हुँदा-हुँदै पनि जनताको विश्वास जित्न नसकेको पनि उपप्रधानमन्त्री पोखरेलले बताए। ढिलासुस्ती, भ्रष्ट्राचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सने लगायतका प्रवृत्तिका कारण पनि कर्मचारीतन्त्रमाथि प्रश्न उठने गरेको उनले बताए। उनले भने, 'कर्मचारीतन्त्र आफैंमा सक्षम हुँदा-हुँदै पनि जनताको विश्वास राम्ररी जित्न सकिरहेको छैन। यसका पछाडि केही यस्ता कारणहरु छन् जसले कर्मचारीतन्त्रको गरिमालाई कमजोर र जीर्ण बनाउँदै लगेका छन् भनेर भन्न सकिन्छ। ढिलासुस्ती, भ्रष्ट्राचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सने र राम्रो उद्देश्यका लागि पनि जोखिम बोक्न नचाहने प्रवृत्तिजन्य संस्कारका ऐजरुहरु कर्मचारीतन्त्रमा पलाउँदै गएका छन् भनेर आम टिप्पणी हुने गरेको छ। यसले नागरिक र कर्मचारीतन्त्रको बीचमा दूरी बढाउँदै लगेको छ।’
म्याक्स वेबरको वेबेरियन मोडलको कर्मचारी तन्त्रका सकारात्मक पक्षलाई ग्रहण गर्दा-गर्दै पनि कर्मचारीतन्त्रका नकारात्मक पक्षलाई हटाउन नसकिएको उपप्रधानमन्त्री पोखरेलले बताए। कर्मचारीतन्त्र निष्पृय, असंवेदनशील र जडसमूह नभएकोले कर्मचारीतन्त्रले आफूलाई संवेदनशील, गतिशील मानवहरुको विवेकशील समूहको रुपमा स्थापित गर्न सक्नुपर्नेमा उनले जोड दिए।
‘निजामती सेवाप्रति आम धारणा त्यति सकारात्मक छैन। यसलाई सकारात्मक बनाउने काम हाम्रो हो। निजामती सेवालाई राम्रो बनाउने दायित्व पनि हाम्रै हो। हामीले आफ्नो व्यवहार, कार्यशैली, आचरण र जीवनशैलीद्धारा निजामती सेवाप्रतिको धारणा सकारात्मक बनाउने हो। अनुशासित, मार्यादित रुपमा कर्तव्यनिष्ठ भई निष्पक्ष र पारदर्शी ढङ्गले विनाढिलासुस्ती काम सम्पादन गर्न सके यो उद्देश्य प्राप्त गर्न सकिन्छ भन्ने मेरो विश्वास छ,' उपप्रधानमन्त्री पोखरेलले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।