काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक क्षेत्रमा विकृति विसंगति चुलिदै गएको भन्दै त्यसविरुद्ध खबरदारी गर्न आह्वान गरेका छन्। काठमाडौंमा मंगलबार कवि एवं नाटककार स्वर्गीय गोपालप्रसाद रिमालका बारेमा लेखिएको पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दे उनले पछिल्लो समय देखा परेका राजनीतिक विसंगतिविरुद्ध खबरदारी गर्नुपर्ने आवश्यकता रहेको औल्याएका हुन्।
स्वर्गीय रिमालले आफ्ना रचनाहरुमा सधैँ राजनीतिक विकृति, विसंगतिलाई तिखो कटाक्ष गर्दे जबरजस्त धाबा बोल्ने गरेको प्रसंग उल्लेख गर्दै उनले अहिले पनि मुलुकमा त्यस्ता विसंगतिहरु चुलिदै गएकाले त्यसविरुद्ध उभिनुपर्ने बताएका हुन्।
उनले विकास निर्माण र सम्मृद्ध नेपालको सपना देखेका प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नलिईकन ‘सपना देख्नेहरुलाई सराप्नेहरु पनि रहेको’ भन्दै व्यंग्य गरे।
‘जसरी गोपालप्रसाद रिमाल सपना देख्नुहुन्थ्यो, आज आफ्ना सपनाहरुको मृत्यु नहोस् भनेर हामी सजग हुनु जरुरत छ। उहाँले राजनीतिक क्षेत्रको विसंगति विकृतिको बारेमा कटाक्ष गर्नुभयो। धावा बोल्नुभयो। राजनीतिक क्षेत्रमा विकृति विसंगतिहरु प्रसस्त देखिन्छ। अहिले पनि राजनीतिक क्षेत्रमा विकृतिहरु, विसंगतिहरु चुलिएका छन्। तर निरास हुनुहुदैन। त्यसको विरुद्धमा उभिनुपर्छ,’ उनले भने।
उनले राजनीतिक दलका अगुवाहरुमा विकसित हुँदै गएको व्यक्ति केन्द्रीत स्वार्थ देखेर आफूलाई लज्जाबोध हुने गरेको बताए। राजनीतिक वृतमा अगुवाहरुमा पद र कुर्सी मोहको कोलाहाल देखिएको टिप्पणीसमेत उनले गरे।
‘राजनीतिक अगुवाहरुले सार्नुभएको मुद्दा, विचारले लज्जाबोध हुन्छ। हामीले पाएनौं, मैले पाइनँ, पाउनुपर्ने। नेतृत्व पक्तिमा रहेका मान्छेहरुको यही कोलाहाल देखिन्छ। यसले एकखाले मान्छेलाई राजनीतिसंग वितृष्णा जगाउँछ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।