काठमाडौं- विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले अहिलेपनि लोकतन्त्र धरमराउने स्थितिमा पुगेको बताए। विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा सञ्चारकर्मीसँगको अन्तर्क्रिया कार्यक्रममा मिश्रले विगत ७० वर्षदेखि मुलुक एउटै धरातलमा घुमिराखेको टिप्पणी गरे।
आमजनतामा धेरै अपेक्षा भएपनि आफूहरू मौन नबसकेको बताउँदै मिश्रले सक्रियताका साथ आफ्नो तर्फबाट कामगरी रहेको बताए। ‘हामी मौन बसेका छैनौं। हामीसँग आमजनताको धेरै अपेक्षा छ। विगत ७० वर्षको राजनीतिलाई हेर्नुभयो भने त्यहाँ भ्रष्टाचार, असक्षमता, दूरदर्शीताको अभाव देखिन्छ’ मिश्रले भने, ‘यी सबै अभावकाबीच समाजमा विद्यमान विभेद सीमान्तकृतहरूले जस्तो प्रकारको अधिकार उपभोग गर्न पाउनुपर्ने थियो, त्यो पाएनन्।’
विगत ७० वर्षमा लोकतन्त्रलाई संस्थागत गर्न प्रयास गरेपनि सफल नभएको मिश्रले बताए। आफ्नो पार्टीको मुख्य मुद्दा सार्वजनिक शिक्षा गुणनस्तरीय र नि:शुल्क बनाउने रहेको जिकीर गरे।
‘सार्वजनिक शिक्षा नि:शुल्क र गुणस्तरीय हुनुपर्छ। त्यो गुणस्तर नहुँदासम्म काठमाडौं, जाजारकोट र महतोत्तरीका विद्यार्थीले समान अधिकार पाएको भन्न मिल्दैन’ मिश्रले भने।
उनले आफ्नो दलले देशभरका नागरिको सामाजिक जीवनको अधिकार, मर्यादाको अधिकार, शिक्षा, स्वास्थ्यको अधिकार सुनिश्चित गर्न चाहेको उनको दाबी छ।
यी विषयहरू सुनिश्चित नहुँदासम्म नेपालको राजनीति अस्थिर रहने उनको भनाइ छ। यस्तै देशभित्रै रोजगारी सिर्जना गर्नु चुनौतिपूर्ण विषय बनेको बताए।
वैदेशिक रोजगारीका लागि सम्झौता हुँदा हात मिलाएर खुशी मनाउने मन्त्री र राजनीतिक दलहरूबाट देशभित्रै रोजगारी सिर्जना गर्ने कुराको कल्पना समेत गर्न नसकिने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।