काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले अहिलेसम्म कसैलाई पनि समर्थन नगरेको दाबी गरेका छन्।
प्रतिनिधि सभाको बैठकबाट बाहिरिँदै गर्दा पत्रकारसँग कुरा गर्दै महतोले सरकार र अन्य पार्टीसँग कुरा भइरहेको बताए। ‘पार्टीले जे निर्णय गर्छ त्यसैमा अघि बढ्ने हो, ’ उनले भने, ‘पहिलो कुरा हाम्रो मुद्दालाई कसले सम्बोधन गर्छ त्यसैलाई समर्थन गरिन्छ।’
कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने भनी गरेको निर्णय एकलौटी भएको टिप्पणी उनले गरे। जसपासँग कुनै सल्लाह नभएको भन्दै उनले कसैको एकल निर्णयमा टिप्पणी गर्न उपयुक्त नभएको बताए।
‘हामीसँग सल्लाह भएको भए राय सुझाव दिने होला,’ महतोले भने, ‘कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाए बनाओस् न त। यो उसको आन्तरिक कुरा होला नि। सल्लाह गरेर उम्मेदवार बनाए भनेमात्र समर्थन गर्ने हो।' आफूहरुसँग यसबारेमा सल्लाह नभएको भन्दै उनले यसमा आगामी दिनपछि छलफल हुने बाटो बाँकी रहेको बताए।
‘निकासको विषयमा सामूहिक रुपमा हाम्रो पार्टीसँग छलफल भएपछि एउटा दृष्टिकोण बनाउँछौ,’ उनले भने, ‘हामी आफ्ना माग र मुद्दाको विषयमा कुरा गर्छौं।’ कुनै पक्षबाट प्रस्ताव आएपछि कोसँग जाने वा आफ्नै नेतृत्व बनाउने कुरा गर्ने उनले बताए।
आफ्नो क्षमता एकलौटी सरकार बनाउने नभएकाले सबैसँग छलफल गरेर गर्नुपर्ने भन्दै उनले सरकार बनाउन कसैलाई स्पष्ट समर्थन गर्ने अवस्था आइननसकेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।